साहित्यपोस्ट डट कम

साहित्य परिषद्, भूटानको अध्यक्षमा खेम रिजाल चयन

साहित्य परिषद्, भूटानको अध्यक्षमा खेम रिजाल चयन

भूटानी नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनमा सक्रिय संस्था साहित्य परिषद्, भूटान को अध्यक्षमा साहित्यसेवी खेम रिजाल निर्विरोध चयन हुनुभएको छ । परिषद्को मे ९ मा सम्पन्न भर्चुअल बैठकले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।

निर्वाचन समितिका संयोजक रूपनारायण पोख्रेलका अनुसार उपाध्यक्षमा तिलारूपा आचार्य (अधिकारी), महासचिवमा निल अधिकारी, कोषाध्यक्षमा खग्रेन्द्र भण्डारी (जन्तरे) र सदस्यमा भीम अधिकारी चयन हुनुभएको छ । समितिमा रूपनारायण पोख्रेल, मनोज राई र प्रतिमान सिवा सम्मिलित तीन सदस्यीय निर्वाचन समिति रहेको थियो ।

परिषद्का ६३ सदस्यहरूमध्ये सीमित उम्मेदवारी परेपछि सबै उम्मेदवारहरूलाई निर्विरोध जिम्मेवारी सुम्पिएको जनाइएको छ । यो घोषणा भुट्नीलिट्रेचर डटकमको १७औँ स्थापना दिवसको अवसरमा गरिएको हो ।

पुनर्वासपछिको यो परिषद्को चौथो कार्यसमिति हो । यसअघि भक्त घिमिरे, शिवालाल दहाल र गंगाराम लामिटारे नेतृत्वका कार्यसमितिहरूले संस्था सञ्चालन गर्नुभएकाे थियाे ।

नवनिर्वाचित अध्यक्ष रिजालले नयाँ नेतृत्वले अग्रजहरूको सम्मान गर्दै नयाँ पुस्तालाई समेटेर नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै परिषद्ले अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, युरोप र दक्षिण एसियामा निर्देशनालय स्थापना गर्ने योजना अघि सारेको छ ।

सन् १९९३ मा झापाको बेलडाँगी शरणार्थी शिविरमा ‘भाषा परिषद्, भूटान’का रूपमा स्थापना भएको यस संस्थाले विस्थापनको कठिन परिस्थितिमा समेत नेपाली भाषा र साहित्य जोगाउने उल्लेखनीय भूमिका खेलेको थियो । पछि सन् २००३ मा यसको नाम साहित्य परिषद्, भूटान राखिएको हो ।

नयाँ कार्यसमितिले प्रवासमा फैलिएको भूटानी नेपाली साहित्यिक यात्रालाई थप सशक्त बनाउँदै भाषा, संस्कृति र पहिचानको संरक्षणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

ट्याग: खेम रिजाल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.