साहित्यपोस्ट डट कम

सगरमाथा साहित्य प्रतिष्ठानद्वारा वर्ष पुरस्कार, कृति लोकार्पण तथा परिचर्चा सम्पन्न

सगरमाथा साहित्य प्रतिष्ठानद्वारा वर्ष पुरस्कार, कृति लोकार्पण तथा परिचर्चा सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाले आफ्नो १३औँ स्थापना दिवसको अवसरमा ‘सगरमाथा वर्ष पुरस्कार’, कृति लोकार्पण तथा कृति परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण कक्षमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानकाे अध्यक्ष भैरवी भूगोलको सभापतित्व तथा साहित्यकार, पत्रकार तथा उपन्यासकार पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा साहित्यकार कलानिधि दाहाल तथा कवि एवं अध्यात्म चिन्तक हरिभक्त सिग्देल उपस्थित हुनुहुन्थ्याे ।

कार्यक्रममा २०८२ सालको ‘सगरमाथा वर्ष पुरस्कार’ विराटनगर, मोरङ निवासी कवि तथा नाटककार भरत गुरागाईं ‘बर्बरिक’लाई प्रदान गरिएको थियो । यसअघि २०८१ सालमा सो पुरस्कार साहित्यकार यमुना न्यौपाने र रमेश पन्त ‘मितबन्धु’लाई प्रदान गरिएको थियो भने प्रतिष्ठानका संस्थापक अध्यक्ष विवेक दुलाल क्षेत्रीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा गजलकार दलबिर सिंह बराइली ‘घायल’को गजलसंग्रह ‘अचम्म नमान्नु’ र कवि तथा गजलकार सुमित्रा सुमीको कवितासंग्रह ‘कलेजी बर्को’ लोकार्पण गरिएको थियो । ‘अचम्म नमान्नु’माथि कवि बलराम दाहालले समीक्षा गर्नुभएकाे थियाे भने ‘कलेजी बर्को’माथि साहित्यकार इन्दिरा चापागाईंले परिचर्चा तथा कलानिधि दाहालले समीक्षा प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा अक्षयकोष दाताहरू धनकबहादुर थापा, किरण टी. लिम्बू, कृष्ण बाउसे र सन्देश तुम्बापो लिम्बूलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा हरिभक्त सिग्देलले दाताहरूका तर्फबाट शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

प्रतिष्ठानका नेपाल शाखा इन्चार्ज अमन एकलले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले प्रतिष्ठानका गतिविधिबारे जानकारी दिनुभएकाे थियाे । कार्यक्रमको सञ्चालन महासचिव सुशीला शर्मा धमलाले गर्नुभएकाे थियाे ।

सात दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्त्यमा सभापति भैरवी भूगोलले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयाे ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.