साहित्यपोस्ट डट कम

सगरमाथामा फुटबल महाकवि

सगरमाथामा फुटबल महाकवि

खेल इतिहासले

एउटामात्र फोटो अट्ने एकपाने एल्बम दिएर

त्यसमा फोटो भर्न लगायो भने मलाई

माफी मागेर धेरै प्रिय खेलाडीहरूसँग

प्रेमले सजाउने छु

फुटबलको सगरमाथामाथि उभिएको तिम्रो तस्बिर !

काँचको पर्दामा जब हेर्छु तिम्रो खेलकला

मलाई सधैँ लागिरहन्छ-

फुटबल मैदानका हरिया पानामा

तिम्रा जादुई खुट्टाले लेखेका सार्वकालिक महान् शुक्तिहरू

खट्खट् खिपिरहेछ मैदानको हावाले,

जसलाई हावाका सन्तानहरूले गर्वसाथ सुनाइरहने छन्

पृथ्वीको अन्तिम पुस्तासम्म ।

जब जब तिमीलाई देख्छु

हरियो घाँसे मैदानमा नाचिरहेको कुनै नर्तकजस्तो देख्छु

जसको खुट्टामा बल यसरी नाच्छ

मानौँ मैदानले आफ्नै लय भेट्टाउँछ

मानौँ विजयले आफ्नो दिशा भेट्टाउँछ ।

ओ जादुगर !

कुन जैविक चुम्बक छ तिम्रो खुट्टामा ?

जब नाच्न थाल्छन् तिम्रा खुट्टाहरू हरियो मैदानमा

खरायोको जस्तो चपलता

र मृगको जस्तो सन्तुलन पक्रेर

मानौँ, तिम्रो खुट्टाको चुम्बनमा

स्वयम् बलले पनि आफूलाई प्रेमी सम्झिन्छ !

जीवनको कठिन यात्रा हिँड्दा हिँड्दा

आफ्नै सपनाका कैयन उडानसँग समेत

भैसकेछ मोहभंग मेरो,

छुटेछन् कैयन् रहरहरूसँग फेरि भेट हुने रहर,

ओ आङ्कारा मेसी

कस्तो नशा हौ तिमी ?

जसलाई पटक पटक पिइरहने रहर लाग्छ

यस्तो लाग्छ,

कि तिमी मैदानमा उत्रिँदा

स्वयम् फुटबललाई पनि तिम्रो भर लाग्छ !

तिमी एक मौन साधक, जो कर्मलाई नै जीवन ठान्छौ

जीवनलाई नै कर्म मान्छौ

फुटबलमा सङ्गीत भर्ने झरना, नदी र समुद्र हौ तिमी

फुटबलमा चित्रकला गर्ने मौसम, सूर्य र भूगोल हौ तिमी !

मुटु हौ तिमी

जहाँ फुटबलको युग धड्किन्छ !

ओ मसिहा मेसी

रोजारियोको प्रिय शिल्पकार !

तिमी विरुद्ध घातक ट्याकलहरू हुँदा

म दुख्छु

तिमी चितुवाझैँ उफ्रेर विपक्षीलाई परास्त गरिदिन्छौ

तिमी विरुद्ध घृणाको आगो सल्किँदा

म जल्छु

तिमी फिनिक्स चरा भएर फेरि जन्मिदिन्छौ ।

बुद्धको जन्मदेशमा बसेर सोचिरहन्छु म

फुटबलको असाधारण बाटो खनेर/पछ्याएर

निर्वाण प्राप्त कुनै नयाँ बुद्ध हौ तिमी सायद,

आफूले आफैलाई ईश्वर ठान्ने

न कुनै अहङ्कारको लेस मात्र छ तिमीसँग

न छ कुनै तुच्छ गाली प्रतिद्वन्दिप्रति,

सफलताको यति उच्च उडानपछि पनि

तिम्रो खुट्टा कसरी सधैँ जमिनमा जोडिएको छ ?

ओ फुटबल महाकवि !

पिचबाहिर शान्त र विनम्र तिमी

जब उत्रिन्छौ पिचमा

त्यहाँ कलाले कसरी यति अनमोल खल्बली मच्चाउँछ ?

तिमी बनेकाछौ मनोचिकित्सक मेरा लागि

किनकि

जब जब उदासी आएर कोट्याउन थाल्छ जीवनको खोकिलामा

म आँखाले छाम्न थाल्छु पर्दामा तिमीलाई

तिम्रो जादु हेरेपछि म बिल्कुल निको हुन्छु !

‘कहिल्यै रेकर्ड नपछ्याऊ

अहङ्काररहित कर्म गर्यौ भने

स्वयम् रेकर्डले तिमीलाई पछ्याउनेछ‘

तिमीले भनिरहेझैँ लाग्छ ।

सोच्छु-

सपना पछ्याउँदै पछ्याउँदै टेकेँ भने कुनै दिन

जीवनको सर्वोच्च चूली सगरमाथा, जहाँ टेकिसकेका छौ तिमीले

प्रेमले पुकार्नेछु तिम्रो नाम बुद्धसँगै

जसका लागि तिमी बिल्कुल लायक छौ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.