साहित्यपोस्ट डट कम

सदाबहार गायनको शीर्ष–स्वर ‘दीपक खरेल’

सदाबहार गायनको शीर्ष–स्वर ‘दीपक खरेल’

दीपक खरेल, जसको नामसँगै सुमधुर स्वर र गीतारको झङ्कार सुनेर हुर्किएको म ! कानै छेउमा रेडियो राखेर रेडियो नेपालको गीति लय सुन्नुदेखि प्रत्यक्ष आफ्नै आँखाले उहाँको गायन कला देख्न पाउने अवसर मैले बाल्यकालमै पाएँ । नेपाली सुगम सङ्गीतको आकाशमा केही यस्ता नक्षत्रहरू छन्, जसको प्रकाश समयको गतिसँगै धमिलो होइन, झन् चम्किलो र प्रखर बन्दै जान्छ । तिनै नक्षत्रहरू मध्येका एक अजम्मरी र जादूमयी आवाजका धनी हुनुहुन्छ– दीपक खरेल ।

सङ्गीत भन्नु वस्तुतः शब्द, सङ्गीत र स्वरको संयोजन मात्र होइन, यो कुशल गायकको गलाबाट निस्किएको आलाप पनि हो । भावनाको संवेग र हृदयको गहिराइबाट प्रस्फुटित अविरल झरनाको मिठास हो । साधनाले खारिएको हृदयको स्पन्दन हो । यस्तो आवाजमा साधना, समर्पण र आस्था–आराधनाको पवित्र स्वर अनुगुञ्जित भएको हुन्छ ।

खरेलको स्वर गुञ्जायमान हुँदा लाग्छ, नेपाली सङ्गीतको एउटा स्वर्णिम युग जीवन्त भएर श्रोता–संसारको मनलाई आनन्दित पार्न अग्रसर हुन्छ । यही कारण रेडियो नेपालमा ‘फर्माइस’ हुने गीतहरूमा उहाँका गीतहरू अधिक हुने गर्थे । यसले उहाँको लोकप्रियताको मापन गर्न सकिन्छ ।

वास्तवमा उहाँका गीतहरूमा एउटा गज्जबको कलात्मक श्रुति–माधुर्य भेटिन्छ । उहाँको स्वरमा रुवाइ पनि शालीन सुनिन्छ र प्रेम पनि उत्तिकै मर्यादित लाग्छ । बिछोडको पीडामा होस् वा मिलनको खुशीमा उहाँको आवाजमा उत्तिकै सन्तुलित र स्वाभाविक लयको लहर गीति शब्दभन्दा बढी स्वर–सौन्दर्यमा मिश्रित भएर गुञ्जिन्छन् ।

‘पूर्णिमाको रात पनि औंसीको झैँ लाग्न थाल्यो’, ‘बादल बनाइ देऊ’, ‘तिमीलाई के भनूँ’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘कति गल्ती हुन्छन् यहाँ’ जस्ता कालजयी गीतका स्वर–सिर्जनाहरू सुन्दा श्रोताको मानसपटलमा एउटा सुन्दर, शान्त र भावुक चित्रकारिता कोरिन पुग्छ । उहाँको गायकीमा शब्दको भावलाई समात्न सक्ने मौलिक शिल्पकला छ । सङ्गीतकारका सिर्जना र गीतकारका भावनालाई आफ्नो गलाको जादुले न्याय गर्दै अझ जीवन्तता भर्नु उहाँको कलात्मक वैशिष्ट्य हो ।

गीत र सङ्गीतको त्रिवेणीमा दीपक खरेल यस्तो ‘शीर्ष–स्वर’ हुनुहुन्छ, जहाँ सुवासिलो सदाबहार छ । दशकौँअघि रेकर्ड भएका उहाँका गीतहरू आजका पुस्ताले सुन्दा पनि उत्तिकै ताजा, उत्तिकै आत्मीय र उत्तिकै आफ्नै लाग्छन् । त्यसैले ती गीत सदाबहार छन्, कालजयी बनेका छन् र सबैका निम्ति सधैँलाई प्रिय भएर रहेका छन् ।

साहित्यकार र समालोचकहरूका नजरमा खरेल यस्ता विरलै गायक हुनुहुन्छ, जसमा उच्च काव्यात्मक चेत छ । उहाँले शब्दको आन्तरिक लय र मर्मलाई नछामी कहिल्यै गाउनुहुन्न । उहाँका समकालीन सारथिहरू–सङ्गीतकार द्वय शम्भुजित बास्कोटा र दीपक जङ्गम तथा गायक दीप श्रेष्ठ सबैले उहाँको अनुकरण गर्न नसकिने विशिष्ट ‘सिग्नेचर टोन’ र ‘अविचलित सङ्गीत साधना’ को मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

पाँच दशकअघि रेडियो नेपालको स्टुडियोमा जस्तो तीक्ष्ण र सुरिलो स्वर थियो, २०८२ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न भव्य साङ्गीतिक साँझ ‘इकोज अफ इटरनिटी’ मा प्रत्यक्ष गाउँदा पनि उहाँको स्वरमा त्यही मौलिक चमक र ऊर्जा कायम देखियो । समयलाई जितेको यस्तो स्वर इतिहासमा विरलै मात्र सुन्न पाइन्छ ।

आधुनिक नेपाली सङ्गीतको इतिहासमा उहाँले स्थापित गरेको गायन शैली र शब्द तथा प्रविधिप्रतिको सचेतता अनुकरणीय छ । उहाँको गलामा रहेको गाम्भीर्यले श्रोतालाई क्षणभरमै संसारको तनाव, दुःख र कोलाहलबाट टाढा पु¥याएर आत्मिक शान्तिको छहारीमा विश्राम गराउँछ ।

मलाई लाग्छ– एउटा गीत सुनिसकेपछि श्रोताको मनमा साङ्गीतिक सुसेलीले पार्ने प्रभाव र दिने सुखद सन्तुष्टि भन्नु यही हो । त्यहाँ गायकको वर्षौँको साधना–स्वरमा मिसिएर आवाजको आनन्दमय संसारमा श्रोतालाई डुलाउन सक्षम हुन्छ । एउटा गायकको लोकप्रियता र सफलता वास्तवमा यही हो । यस्तै गीति गायनहरू नै सदाबहार हुन्छन् र श्रोता–संसारको मनमनमा त्यो अविस्मरणीय बनेर अङ्कित भइरहन्छ ।

मैले सानैमा चिनेका खरेल पनि यस्तै गायक हुनुहुन्छ भन्ने कुरा मैले निकै पछि थाहा पाएँ । त्यो बालापनमा गीतारको झङ्कारमा आनन्द लिनु र मीठो स्वर–संसारमा खुशीको बेग्लैपन पाउनु आफैँमा एउटा सुखद पक्ष हुन्थ्यो । यिनै र यस्तै कुरा मैले मेरो बाल्यकालीन समयमा महसूस गर्ने सौभाग्य पाएको थिएँ ।

रेडियोमा उहाँको गीत सुन्नुको एउटा छुट्टै मात थियो, तर मेरो बाल्यकालको एउटा सुखद र अविस्मरणीय सन्दर्भ उहाँलाई प्रत्यक्ष मञ्चमा गाएको सुन्नु र देख्नु पनि रह्यो । रेडियोको त्यो अदृश्य जादुमयी आवाज जब मञ्चमा प्रत्यक्ष प्रकट भएर सुरको वर्षा गर्थ्यो, तब बाल्यकालीन कौतूहल आँखामा विस्मय बनेर तैरिने गथ्र्यो । त्यो बेला मेरो बालमस्तिष्कमा परेको अमिट छाप आज धेरै वर्षपछि पनि हिजोजस्तै ताजा र जीवन्त छ ।

साहित्यिक दृष्टिकोणबाट हेर्दा, गायक खरेलले रोजेका शब्दहरू आफैँमा जीवनका मार्गदर्शक पाना हुन् । ती शब्दहरूलाई सङ्गीतको गहिरो सागरमा डुबाएर उहाँ आफ्नो माझिएको स्वरमार्फत् बाहिर निकाल्नुहुन्छ, ती गीतहरू श्रोताका लागि जनजिब्रोको मन्त्र बन्न पुग्छन् । उहाँ गीत–गायनसँगै गीतभित्रका प्रत्येक शब्द–शब्दका सिङ्गो कथा, समग्र दर्शन र मानवीय संवेदनाको गहिरो पाटोलाई प्रस्तुत गर्नुहुन्छ । त्यसैले त उहाँको कर्णप्रिय स्वर नेपाली सङ्गीताकाशमा एउटा अमूल्य दस्तावेज बनेको छ ।

उनी नेपाली सङ्गीतका सदाबहार र अपरिहार्य धरोहर हुनुहुन्छ । प्रविधिको विकास र सङ्गीतको धार जतिसुकै बदलिए पनि, ‘शास्त्रीय जग’ मा उभिएर ‘आधुनिकपन’ लाई अङ्गालेको उहाँको ‘शीर्ष–स्वर’ सधैँ उच्च र निष्कलङ्क रहने छ । जबसम्म नेपाली मनहरूमा माया, प्रेम, विरह, देश र भावनाको अस्तित्व रहिरहनेछ, तबसम्म दीपक खरेलको यो सदाबहार गायन र उहाँको कालजयी स्वर नेपाली सङ्गीतको मन्दिरमा दीप बनेर बलिरहने छ ।

अपितु खरेलको यो अजम्मरी र सुसंस्कृत स्वरको मुहान खोज्दै जाँदा म उहाँकी पुजनीय माता, आदरणीय साहित्यकार भारती खरेलको ‘मातृत्व’ र ‘साङ्गीतिक छहारी’ सम्म पुग्छु । उहाँको गायन यात्रालाई मलजल गर्न र उहाँभित्र सङ्गीतप्रतिको अगाध श्रद्धा जगाउन माता भारती खरेलको योगदान अद्वितीय र मार्गदर्शक रहेको छ । बुबा चन्द्रिकानन्द खरेललाई सङ्गीतले भविष्य सुन्दर होला भन्ने लागेको थिएन । तर उहाँले आफूभित्रको आत्मविश्वास र साधनालाई सबै सामु सार्वकालिक स्वर–सुसेलीका साथ स्थापित गर्नुभयो । शीला रिजालसँग वैवाहिक सम्बन्धमा गाँसिएपछि उहाँको सङ्गीत–यात्राले झन् फड्को मा¥यो । हुन त गायन–कौशल उहाँको स्वतःस्फूर्त हो । तथापि परिवारबाट केही न केही प्रभाव अवश्य पर्‍यो होला ।

घरभित्रै गुञ्जिने आमाको आध्यात्मिक भजनका स्वरहरू, शब्दप्रतिको आदर र साहित्यिक चेतको त्यो पारिवारिक वातावरण नै खरेलका लागि सङ्गीतको पहिलो पाठशाला बनेको हो भन्दा अत्युक्ति हुँदैन । परिवारले दिएको संस्कार, साधना र निष्ठाको जगमा उभिएर नै उहाँले नेपाली सङ्गीत–संसारमा आफ्नो मौलिक र शीर्ष स्थान सुरक्षित गर्नुभयो ।

अन्ततः सदाबहार गीत–गायनका यस्ता आदरणीय ‘शीर्ष–स्वर’ साधकको आवाज जति सुने पनि मन तृप्त हुँदैन । सुन्ने र सुनिरहने तृष्णा लागिरहन्छ । मेरा प्रिय आदरणीय सुप्रसिद्ध गायक दीपक खरेलप्रति मेरो हार्दिक श्रद्धा अर्पण गर्छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.