साहित्यपोस्ट डट कम

रिमा केसीको कवित सङ्ग्रह ‘बगावतनामा’ सार्वजनिक

रिमा केसीको कवित सङ्ग्रह ‘बगावतनामा’ सार्वजनिक

काठमाडौँ । कवि रिमा केसीको कविता–किताब ‘बगावतनामा’ शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, राजनीतिक विश्लेषक तथा लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो।

चार खण्डमा विभाजित यस कविता–संग्रहमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक न्याय, विद्रोह र आत्मसम्मानजस्ता विषयमा आधारित ४० वटा कविता समेटिएका छन्।

कार्यक्रममा बोल्दै कुलपति भूपाल राईले कवि केसीका कविता कानैछेउ भएर बग्ने हावाजस्तै मिठासपूर्ण रहेको टिप्पणी गर्नुभयो। कवितालाई व्याख्याभन्दा बोधका रूपमा बुझ्नुपर्ने धारणा राख्दै उहाँले कवि केसीका कविता पाठकीय दृष्टिकोणबाट सक्षम रहेको उल्लेख गर्नुभयो। सिद्धान्त, शास्त्र र व्याकरणभन्दा माथि उठेर ‘बगावतनामा’ ले पददलित मानिसको चित्कारलाई कवितामा रूपान्तरण गरेको राईको भनाइ थियो।

राजनीतिक विश्लेषक आहुतिले संग्रहबारे आलोचनात्मक टिप्पणी गर्दै साहित्य समाजका लागि हुनुपर्ने र त्यसमा राजनीतिक, सामाजिक तथा वैचारिक दृष्टिकोण अनिवार्य रहेको बताउनुभयो। उहाँले मध्यमवर्गले अबको वैचारिकी धान्न नसक्ने भन्दै श्रमिक वर्गको दृष्टिकोणबाट साहित्य सिर्जना हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

निबन्धकार तथा पत्रकार दीपक सापकोटाले कवि केसीलाई समकालीन कविताको गम्भीर स्वरका रूपमा चित्रण गर्नुभयो। उहाँले प्रेम र प्रतिरोधको द्वन्द्वात्मक धरातलमा उभिएको कृतिका रूपमा ‘बगावतनामा’ लाई व्याख्या गर्दै यसमा सरल तर गहिरो बोधयुक्त कविताहरू रहेको बताउनुभयाे ।

कवि लक्ष्मी मालीले ‘बगावतनामा’ समकालीन कवितामा बहस सिर्जना गर्न सक्षम र सशक्त कृति भएको बताउँदै कविले समकालीन स्वरमार्फत् समाजलाई सही दिशा देखाउने प्रयास गरेको उल्लेख गर्नुभयो।

कार्यक्रममा कविहरू स्वप्निल स्मृति, प्रज्वल अधिकारी, सुरज राना, अस्मिता केसी र मीरा जिएमले संग्रहभित्रका कविताहरू वाचन गर्नुभएको थियो। प्रकाशन संस्था इन्डिगो इन्कले प्रकाशन गरेको ‘बगावतनामा’ को मूल्य पाँच सय ४९ रुपैयाँ रहेको छ।

ट्याग: रिमा केसी
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.