साहित्यपोस्ट डट कम

‘रेखा–पवन स्रष्टा सम्मान’द्वारा शर्मा र घिमिरे सम्मानित

‘रेखा–पवन स्रष्टा सम्मान’द्वारा शर्मा र घिमिरे सम्मानित

काठमाडौं । नेपाल स्रष्टा समाजद्वारा प्रदान गरिने ‘रेखा–पवन स्रष्टा सम्मान–२०८२’ अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रूपमा प्रदान गरिएको छ।

राजधानीमा आयोजित समारोहमा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, अग्रज नियात्राकार पवन आलोक र रेखा कंडेललगायतले दोसल्ला, सम्मानपत्र, माला तथा नगदसहित सम्मान अर्पण गर्नुभएकाे थियाे । सम्मानको नगद राशि एक लाख एक सय ११ रुपैयाँ रहेको छ।

उक्त सम्मान अग्रज नियात्राकार तथा साहित्यकार पवन आलोक र उहाँकी धर्मपत्नी रेखा कंडेलको नाममा स्थापना गरिएको हो। छोरीहरू बिमला कंडेल थापा, रीता कंडेल बस्नेत, अनिता कंडेल तथा छोरा सुनिल कंडेल र बुहारी माला कटुवाल कंडेलले माता–पिताको वैवाहिक वर्षगाँठको अवसरमा कोष स्थापना गर्नुभएकाे हाे ।

समारोहमा अग्रज समालोचक प्रमोद प्रधानले सम्मानित स्रष्टाहरूको योगदानबारे चर्चा गर्दै नगेन्द्रराज शर्मा र रोचक घिमिरेले नेपाली भाषा–साहित्यमा धेरै लेखक र साहित्यकार जन्माउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयाे । उहाँका अनुसार वि.सं. २०२७ सालदेखि प्रकाशित ‘अभिव्यक्ति’ पत्रिकासँग जोडिएर शर्माले नेपाली साहित्यिक पत्रकारितामा उल्लेखनीय योगदान दिनुभएकाे छ ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रा. डा. गोविन्दराज भट्टराई, अशेष मल्ल र प्रा. डा. लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तित्वहरूलाई “आफैंमा इतिहास” भएको उल्लेख गर्दै सात दशकभन्दा लामो साहित्यिक साधना अतुलनीय भएको बताउनुभयाे ।

सम्मानित स्रष्टा रोचक घिमिरेले आफूलाई साहित्यिक पत्रकारितामा लाग्न प्रेरित गर्ने भैरव अर्याल र रमेश विकललाई स्मरण गर्नुभयाे । उहाँले तारिणीप्रसाद कोइरालाले लेखन यात्रामा प्रेरणा दिएको उल्लेख गर्दै सम्मानप्रति खुसी व्यक्त गर्नुभयाे ।

अर्का सम्मानित स्रष्टा नगेन्द्रराज शर्माले सम्मान पाउँदा खुशी लागेको बताउँदै “मेरो पूजा अभिव्यक्तिको काम हो, मेरा भगवान मेरा साथीभाइ हुन्” भन्ने प्रतिक्रिया दिनुभएकाे थियाे ।

कार्यक्रममा पुरस्कार संस्थापक पक्षका तर्फबाट रीता के.सी. कंडेलले सम्मान स्थापना गरिएको पृष्ठभूमिबारे जानकारी दिनुभएकाे थियाे । पवन आलोकले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा स्वागत प्रकाश घायलले र सञ्चालन मधु पाठकले गर्नुभएकाे थियाे ।

वि.सं. २०८० मा स्थापना गरिएको उक्त सम्मान ६० वर्ष उमेर पार गरेका र निरन्तर उत्कृष्ट लेखनमा सक्रिय स्रष्टालाई प्रदान गरिने गरिएको समाजले जनाएको छ। यसअघि २०८१ सालमा अग्रज कवि तथा गीतकार कालीप्रसाद रिजाल यस सम्मानबाट सम्मानित भइसक्नुभएकाे छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.