काठमाडौंमा राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मानबाट पाँच जना पत्रकार सम्मानित भएका छन् ।
पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मा सम्मानित हुनुभएकाे छ भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रूपा गहतराज पुरस्कृत हुनुभएकाे हाे ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई सम्मान प्रदान गर्नुभएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले पत्रकारहरूले दशकौँदेखि कलमका माध्यमबाट समाजलाई देखाएको मार्गदर्शन र पुर्याएको योगदानको कदरस्वरूप राज्यले यस्तो सम्मान प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले पुरस्कृत पत्रकारहरूको साधना नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकारिताको पेशागत निष्ठा, सत्य र उत्तरदायित्वप्रति समर्पित व्यक्तित्वहरूलाई गरिएको यो सम्मानले समग्र सञ्चार क्षेत्रलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

