साहित्यपोस्ट डट कम

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार घोषणा

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार घोषणा

ललितपुर । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि प्रदान गरिने राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ। प्रतिष्ठानका अध्यक्ष, कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा शुक्रबार ललितपुरमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

अमूल्य राष्ट्रिय कलाश्री सम्मान नाटककार तथा गीतकार मनबहादुर मुखियालाई प्रदान गर्ने निर्णय गरिएको छ। त्यसैगरी राष्ट्रिय कलाश्री पुरस्कार कवि, निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’ लाई प्रदान गरिने भएको छ। यसैगरी स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक निमेष निखिललाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक राजेश खनाललाई, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मिथिला कलाका साधक चित्रकार एस. सी. सुमनलाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार लोकगायिका तथा अन्वेषक झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार राष्ट्रिय कलाश्री सम्मान अमूल्य रहेको छ भने राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपैयाँ, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कारमा ६० हजार रुपैयाँ तथा अन्य पुरस्कारहरूमा ताम्रपत्रसहित ५०–५० हजार रुपैयाँ नगद राशि प्रदान गरिनेछ।

उक्त सम्मान तथा पुरस्कारहरू आगामी फाल्गुन ४ गते काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको प्रेक्षालयमा आयोजना हुने विशेष समारोहका बीच अर्पण गरिने प्रतिष्ठानले जानकारी दिएको छ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत १७ वर्षदेखि निरन्तर रूपमा कलाश्री सम्मान तथा पुरस्कार समर्पण गर्दै आएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.