साहित्यपोस्ट डट कम

राष्ट्रिय पर्याकविता उत्सवमा ‘दोहन’ लिएर किशन पौडेल प्रथम

राष्ट्रिय पर्याकविता उत्सवमा ‘दोहन’ लिएर किशन पौडेल प्रथम

हेटौँडा । साहित्य सङ्गम मकवानपुरको ३९औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्याकविता उत्सवमा मकवानपुरका कवि किशन पौडेल प्रथम हुनुभएकाे छ । पौडेलले ‘दोहन’ शीर्षकको कवितामार्फत् प्रथम स्थान हासिल गर्दै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएकाे हाे ।

उक्त प्रतियोगितामा कैलालीका कवि मोहित जोशीले ‘समयको अन्त्यको किनारामा उभिएर’ शीर्षकको कविताबाट द्वितीय स्थान प्राप्त गरी २० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नुभयाे । त्यसैगरी सुनसरीका कवि किरण सिवाको ‘मौन प्रकृति’ शीर्षकको कविता तृतीय स्थानमा चयन भएको छ। प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने कविहरूलाई जनही ५–५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

देशभरबाट प्राप्त १६४ वटा कवितामध्ये उत्कृष्ट १० कवि अन्तिम चरणमा छनोट भई कविता वाचन गरिएको थियो। कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे ।

उत्सवको अवसरमा ‘नेपाली साहित्यमा पर्यावरण चेतनाको भूमिका’ विषयक बहस कार्यक्रम पनि आयोजना गरिएको थियो। सुवास खनालले सहजीकरण गरेको उक्त बहस कार्यक्रममा पर्यावरण साहित्य अभियन्ता तथा वातावरणविद् विजय हितान, अङ्ग्रेजी तथा नेपाली साहित्य लेखन प्रशिक्षक एवं भाषाविद् ईश्वर कँडेल, तथा प्रखर समालोचक डा. घनश्याम घिमिरेले आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रमले साहित्यमार्फत् पर्यावरण संरक्षणको चेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गर्नुभएकाे छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.