विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरको आयोजनामा ‘खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३ तथा स्रष्टा सम्मान कार्यक्रम’ सम्पन्न भएको छ ।
चेतना संरक्षण प्रतिष्ठान, नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य, कला र समाज रूपान्तरणका विषयमा विशेष चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले साहित्यले समाजका विकृति–विसङ्गति, माया–प्रेम, मिलन–विछोड, नीति निर्माण, सुशासन तथा समसामयिक विषयवस्तुलाई समेट्ने उल्लेख गर्दै साहित्य समाजसँगै राष्ट्र रूपान्तरणको महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै आयोजक संस्थाका अध्यक्ष जीवन काफ्लेले सहकारी संस्थाको भूमिका बचत तथा ऋण प्रवाहमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व बहन गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सहकारीले कला, साहित्य र संस्कृतिलाई सँगसँगै अघि बढाउँदै सामाजिक रूपान्तरणमा योगदान पुर्याउँदै आएको उहाँको भनाइ थियो ।
कविता प्रतियोगितामा जाजरकोटका सदाशय गौतमको ‘नयाँ युग रच्ने हामी नेपाली’ शीर्षकको कविता प्रथम भएको छ । त्यसैगरी विराटनगरकी नानुमैया दाहालको ‘म विर्खे कामी हुँ’ द्वितीय, काठमाडौंका सुशील पौडेलको ‘मातृभूमिको आह्वान’ तृतीय तथा झापाका निकेश डाँगीको ‘भान्सा युद्ध’ सान्त्वना स्थानमा चयन भएका छन् ।
देशका विभिन्न क्षेत्रबाट साहित्यकार तथा स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त प्रतियोगिताको निर्णायक मण्डलमा प्राज्ञ विवश पोखरेल, हरि कट्टेल र तीला लेकाली रहनुभएको थियो ।
कार्यक्रममा नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप कोशी प्रदेशका साहित्यकारहरू प्रा.डा. टंक न्यौपाने, बद्री विशाल पोखरेल र वसुन्धरा झालाई सम्मान गरिएको थियो ।

