साहित्यपोस्ट डट कम

रश्मिका गजलमा सन्तोषको स्वरले गुञ्जियो कोसी

रश्मिका गजलमा सन्तोषको स्वरले गुञ्जियो कोसी

“हेर्दै हिमाल अग्लो, कोसी घुमेर जाऊ

आऊ रमाइलो यो, कोसी घुमेर जाऊ”

यी पंक्तिसँगै कोसी प्रदेशको झापास्थित बिर्तामोडमा आइतबार साँझ ‘रश्मि गजल गुञ्जन’ कार्यक्रम साहित्य र सङ्गीतले गुञ्जिएको छ। गजलकार रश्मि असफलका गजलहरू विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले एकल सङ्गीत र स्वरमा प्रस्तुत गर्दै कार्यक्रमलाई स्मरणीय बनाउनुभएकाे हाे ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको आयोजनामा तथा अनाममण्डली र सप्तक सङ्गीत विद्यालय, बिर्तामोडको सहआयोजनामा २७ पुस आइतबार सम्पन्न कार्यक्रममा श्रेष्ठले असफलका विविध भाव बोकेका पाँच वटा गजल गायन प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा कोसी प्रदेशका प्रबुद्ध व्यक्तित्व, साहित्यकार तथा सङ्गीतकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। भारतको दार्जिलिङबाट आउनुभएकाे सङ्गीत साधक जीवनप्रकाश प्रधानको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

शुभकामना मन्तव्य राख्दै स्रष्टा विवश बलिभद्र कोइरालाले रश्मि असफल कुशल शब्दशिल्पी भएको उल्लेख गर्दै उहाँका गजलमा सन्तोष श्रेष्ठले भरेको धून र स्वर स्वाभाविक रूपमा सुमधुर बनेको बताउनुभयाे । उहाँले नेपाली गजल गायनले पछिल्लो समय लिएको गतिप्रति खुसी व्यक्त गर्नुभयाे ।

सङ्गीतकार जीवनप्रकाश प्रधानले नेपाली गजल गायन विस्तार भइरहेको सन्दर्भमा आफूले पनि ‘मतला’ एल्बम तयार पारेको र सोही एल्बमका लागि नेपाल आएको जानकारी दिनुभयाे । ‘नेपाली गजल गायनको स्वर्ण दशक (वि.सं. २०८०–२०९०)’ अभियानका अभियन्ता तथा अनेगमका अध्यक्ष घनेन्द्र ओझाले गजल गायन अभियान १० वर्षभित्र सातै प्रदेशमा सञ्चालन गर्ने योजना रहेको बताउँदै दुई वर्षमै तीन प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको र अब मधेस तथा लुम्बिनी प्रदेशमा पनि चाँडै आयोजना गरिने जानकारी दिनुभयाे । अभियानअन्तर्गत सन्तोष श्रेष्ठकै सङ्गीत र स्वरमा ‘नसोधी’ एल्बम सार्वजनिक भइसकेको र आगामी ३ माघमा ‘मतला’ एल्बम सार्वजनिक हुने पनि उहाँले बताउनुभयाे ।

ओझाले नारी गजलकारको एकल गजलको प्रत्यक्ष गायन कोसी प्रदेशमै पहिलो भएको उल्लेख गर्दै रश्मि असफललाई सशक्त सर्जकको रूपमा प्रशंसा गरे र चाँडै गजलकृति प्रकाशनको शुभकामना व्यक्त गर्नुभयाे । साथै लोकदेखि आधुनिक हुँदै गजल सङ्गीतमा सक्रिय सन्तोष श्रेष्ठ गायक मात्र नभई कुशल स्रष्टा पनि भएको उल्लेख गर्दै उहाँले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाइसकेको र गजल, कथा तथा उपन्यास कृतिसमेत प्रकाशित गरिसकेको जानकारी दिनुभयाे ।

कार्यक्रमको अभिभावकत्व ग्रहण गरेका साहित्यकार, पूर्व मुख्य सचिव तथा क्यानाडाका लागि पहिलो नेपाली राजदूत डा. भोजराज घिमिरेले नेपाली गजल गायन अभियानप्रति आफू पनि संलग्न रहेको बताउँदै झापामा सम्पन्न कार्यक्रम सुन्दर र भव्य भएको प्रतिक्रिया दिनुभयाे ।

स्रष्टा, सञ्चारकर्मी तथा समाजसेवी खगिन्द्रा खुसीको कुशल संयोजन र सञ्चालनमा सम्पन्न कार्यक्रमले कोसी प्रदेशमा गजल र सङ्गीतको नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ थियो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.