साहित्यपोस्ट डट कम

‘रश्मि बहिनी हुन्, शलभ ज्वाइँ होइनन्’– विधान; ‘विधान हाम्रो संविधान र हेडसर’- शलभ

‘रश्मि बहिनी हुन्, शलभ ज्वाइँ होइनन्’– विधान; ‘विधान हाम्रो संविधान र हेडसर’- शलभ

नेपाली साहित्यमा क्रियाशील दुई व्यक्तित्वले आफ्ना अन्तरङ्गलाई कसरी चिन्नु हुन्छ भन्ने पाठकका जिज्ञाशा मेट्न साहित्यपोस्टले ‘ऊ र म’ स्तम्भ प्रकाशन गर्ने सिलसिलामा पहिलो पटक नेपाली कविता विधाका सशक्त दुई अन्तरङ्ग विधान आचार्य र राजेन्द्र शलभलाई प्रस्तुत गरेका छौँ । यो स्तम्भमा आफ्ना साथीका बारेमा राखिने खुलस्त विचारले पाठकलाई न्याय दिनेछ । कति खुलस्त र कस्तो न्यायाधीश हुने सर्जककै जिम्मा । लुकाउनै पर्ने सन्दर्भ पनि हुन सक्छन्, प्राकृतिक मानिसका । एउटा सर्जक पहिला प्राकृतिक मानिस र त्यसपछि मात्र सर्जक हुने भएकाले कति लुकाउने र कति देखाउने त्यो पनि सर्जककै जिम्मा । प्रस्तुत छ, नेपाली साहित्यमा कविता, निर्देशन, नाटक, चलचित्र, अभिनय, अनुवादजस्ता विविध मौजा आर्जन गर्नुभएका विधान आचार्य र राजेद्र शलभका ऊ र म साहित्यपोस्टका सल्लाहकार सम्पादक त्रिभुवनचन्द्र वाग्लेको संयोजनमा ।

===

रश्मि बहिनी हुन्, शलभ ज्वाइँ होइनन् – विधान आचार्य

कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभलाई सर्जकका रूपमा कसरी चिन्नुहुन्छ ?

शलभलाई चिनेकै सर्जककै नाताले हो । पहिले, दुबो नामक एक गोजिका (खल्तीमा अटाउने सानो साइजको पत्रिका) का सम्पादकका रूपमा चिनेको हो । तर, पछि थाहा भयो, उनी त वास्तविक सर्जकै रहेछन् । साहित्य मात्र हैन, नाटकका निर्देशक र कलाकार पनि रहेछन् । पहिले दूरदूरबाट चिनेका भद्रपुरका शलभ र तनहुँको विधान पोखरामा २०३९ सालमा केही नगिच भए । २०४२–४२ सालतिर दुबै काठमाडौँमा आएपछि हामी अझ नगिच भयौँ । त्यसमा जीवन आचार्य पनि थिए । वास्तवमा शलभ र मलाई नगिच बनाउन जीवनको हात थियो । हामी तीनजना मिलेर बागबजारमा ‘डिजाइन राइटर’ खोलेर पनि काम गरियो । गोष्ठी नेपाल भन्ने साहित्यिक फोरम पनि चलाइयो । म लेख्थेँ मात्र, तिनैताका आरोहणले बागबजारको फ्रान्सेली सांस्कृतिक केन्द्रमा आरोहण शनिबारका नाममा नाटक हुन्थ्यो । त्यसमा हामी पनि समावेश थियौँ ।

उहाँलाई कवि र निर्देशक कहाँ बढी सफल पाउनु हुन्छ ?

हुन त उनी दुबैमा अब्बल हुन् । निर्देशकमा भने विजय पराजय, भाउजू र परिभाषा तीनै सिनेमा कहलाएका अरूझैँ उधुम चलेका हैनन् । यसको कारण के भने आफूसित भिजन भए पनि शलभ अरूका सल्लाह र सुझाव हार्न नसक्ने प्राणी हो र आफूले सोचेजस्तो, भनेजस्तो बनाउन पाएनन् भन्ने मलाई लाग्छ । कवितामा त कसैले त्यस्तो गर्दैन, उनका कविता उच्चा छन् । बरु, के वातावरण मिलेन कुन्नी, शलभ नाटकका राम्रा निर्देशक हुन् । सुनील पोखरेल आधुनिकताको प्रयोक्ता हुन् भने, शलभले पारम्परिक शैली समाएर पनि प्रसिद्धि कमाउन सक्थे । सफलताकै कुरा गर्दा शलभको क्षेत्र कविता नै हो ।

उहाँको कुन बानी मन पर्छ ?

इमानदारी । उनी जे भन्छन्, इमानदारीसाथ त्यसको पालना गर्छन् । कि वचन नदिने, दिएपछि सक्दो पूरा गर्ने उनको बानी छ । मलाई मन पर्छ ।

कवि शलभको कुन बानी मन पर्दैन ?

कहिले कहीँ शलभ आफ्ना सिर्जनात्मक कामलाई थाती राखेर के केमा दौडिइराखेका हुन्छन् । अलिकति आफ्नो सिर्जनात्मक पक्षलाई पनि बढाउँदा त्यसले साहित्यिक फाँटमा केही दरिलो योगदान पुग्थ्यो भन्ने मलाई लाग्छ ।

उहाँका कविता कस्ता छन् ?

शलभका कविताले परिवार तथा अन्तरवैयक्तिक सम्बन्धको चिरफार गर्छन् । तिनमा मातापिता, सन्तति, प्रेम, साथीभाइ तथा सामाजिक सम्बन्धका नालीबेली पाइन्छ ।

कुनै कविताले आकर्षित गरेको छ ?

छ,आमा कविता । आमाको निधारको टीकाको सौन्दर्यलाई बिहानको उदाउँदो सूर्यसित विम्बात्मकरूपमा तुलना गरेको कविता बेजोड लाग्छ ।

उहाँसँग झगडा वा मनमुटाव भएको छ ?

सम्झना नै छैन, त्यस्तो अवस्थाको ।

सँगै दारु खानु भएको छ ?

हा हा, न उनी दारुप्रिय हुन् न म । फेरि हामी दुवै घाँसपाते याने कि शाकाहारी ।

शलभले चियाको पैसा झिक्न गाह्रो मान्नु हुन्छ ?

हामी बीचमा त कसले तिर्ने भन्ने पो होडबाजी हुन्छ ।

घर परिवारसँग सम्पर्क छ ?

सम्पूर्णरूपमा छ । दिदीबहिनी, भाइहरू सबैसित छ । उनकी पत्नी रश्मि मलाई दाजु मान्छिन्, छोराछोरी मामा नै भन्छन् । तर, शलभ फेरि ज्वाइँ हैनन्, साथी मात्रै हुन् । साथीभन्दा अरू पारिवारिक नाता लगाए ‘साथी’ कमजोर हुन्छ भन्ने हाम्रो मान्यता छ ।

उहाँको साथी शैली कस्तो लाग्छ ?

शलभको साथीशैलीमा कुनै समस्या छैन । भए उनलाई हेर्ने अरूको शैलीमा छ ।

उहाँको कम्तीमा पनि एउटा बदमासी भनिदिनुहोस् न, भए धेरै नै !

मसित बदमासी लुकाएको हो कि, थाहा छैन हो ! तर, शलभ, निशा–सुनील पोखरेल, रविन नेपाली, केदार शर्मा, सूर्यमाला–सरोज खनाल आदिका समूहमा ह्रस्वदीर्घ लगायत ससाना कुरा पनि मलाई सोध्थे । मलाई शलभले हेडमास्टर, र शैलेश आचार्यले ह्रस्व इकार दीर्घ ईकार उपनाम राखेका थिए । अझै आक्कल झुक्कल यी नाम प्रयोगमा आउँछन् ।

मीठा संस्मरणहरू केही ?

मीठा नमीठा दुबै है त ! आरोहण शनिवार बागबजारमा नाटक गर्दा विजय मल्लको जिउँदो लास पनि छानियो । त्यसमा एक पात्र छन्, प्रोफेसर राधाकृष्ण । भूमिका जम्मा दुई मिनेटको छ, तर अन्य पात्रहरूले शुरुदेखि अन्त्यसम्म उहीँ पात्रको कुरा गर्छन् । त्यसमा मलाई खेल्न उक्साएको शलभले हो । यससमेत गरी अरू पनि केही नाटकमा मैले खेलेको पनि छु ।

नमीठो ! वि.सं २०६० साउन ६ गते बुवा एसएल (सोहनलाल) शर्माको निधन भयो, भद्रपुरमा । बिहानै थाहा पायौँ । शलभ जेठो छोरा । केदार शर्मा, म, शलभ र उनकी श्रीमती रश्मिसहित सिधै एअरपोर्ट गयौँ । हाम्रो अनुरोधलाई स्वीकार गरेर बुबालाई नामले मात्रै चिन्ने केही यात्रुले आफू पछाडिको उडानबाट जाने गरी हामीलाई सिट छोडिदिए । हामी भद्रपुर पुग्यौँ र दाहसंस्कारको कर्म सकेर केदार र म साँझको उडानबाट काठमाडौँ आयौँ ।

विधान हाम्रो संविधान र हेडसर- राजेन्द्र शलभ

कवि विधान आचार्यलाई कविका रूपमा कसरी चिन्नुहुन्छ ?

शायद चार दशक नाघ्यो होला मैले विधानलाई चिनेको । ठ्याक्कै कहिले कसरी त मलाई याद छैन । तर चिनेपछि झन् झन् नजिक हुँदै गयौँ । हाम्रो त पारिवारिक नातासमेत बन्न गएको छ । ऊ मेरा छोराछोरीको मामा हो, तर मेरो चाहिँ मनको साथी । कवि विधान भनेको मनको कवि हो, जसको बलियो पकड संस्कृत, अङ्ग्रेजी, हिन्दीमा पनि छ । भाषाको कुरा आयो भने हाम्रा लागि विधान त संविधान हो, विधानले भनेको अन्तिम हुन्छ, त्यही भएर हामी उनलाई हेडसर भन्छौँ ।

उहाँलाई कलाकार वा प्राध्यापक कसरी चिन्नुहुन्छ ?

प्राध्यापकभन्दा पहिले उनी त्रिविको प्रशासनमा थिए । धेरै साहित्यकारहरूको प्रशासनिक काम सहज बनाइदिने । उनी गीत गाउँछन्, बाँसुरी बजाउने, अभिनय गर्ने, फिल्ममा गीत लेख्ने र फिल्मको स्क्रिप्ट पनि लेख्छन् । कविताबाहेक राम्रा लघुकथा पनि लेख्छन् ।

उहाँको कुन बानी मन पर्छ ?

परेको बेला विधान हाजिर हुन्छन् । साहित्य वा कविताको सम्पादन वा भाषा हेर्न भने मलाई मात्र हैन उनले कसैलाई पनि नाईँ भन्दैनन् होला । उनको पढाउने विषय जनसङ्ख्या भए पनि उनी नेपाली साहित्यलाई माय गर्ने स्रष्टा हुन् ।

कुन बानी मन पर्दैन ?

बेला बेला हराउँछन् । वास्ता गर्दैनन् । नयाँ नयाँ लहडमा लाग्छन् । आफ्नो साथी आफ्नै भइरहोस् भन्ने लोभ लाग्दो रहेछ । त्यस्तो नराम्रो बानी भनेको जाँड,रक्सी, चुरोट,खैनी खाँदैनन्, शाकाहारी हुन् ।

उहाँका कविता कस्ता छन् ?

उनका कविता मलाई मन पर्छन् । एक समय थियो, हामी एकअर्काका कविताको फस्ट ड्राफ्ट सुन्थ्यौँ । मन परे तारिफ गर्थ्यौं र मन नपरे सोझै च्याती दे भन्थ्यौँ, अर्काले सुन्नासाथ च्याती पनि दिन्थ्यौँ । उनका कविता सरल हुन्छन् तर त्यसमा गहन अर्थ लुकेको हुन्छ । मानव संवेदना, हाम्रो आफ्नो भोगाइ र जीवनको यथार्थका नजिक छन् उनका कविता । अझ अङ्ग्रेजीमा पनि लेख्ने भएकाले वैश्विक पनि छन् उनका कविता ।

उहाँसँग झगडा वा मनमुटाव भएको छ ?

त्यस्तो सम्झना छैन र भविष्यमा पनि हुँदैन होला । मन नपरेको कुरा हामी स्पष्ट भन्छौँ र अर्काले त्यसलाई बुझेर तुरुन्त कि त कुरो स्पष्ट गर्छौं कि नजानी गल्ती भएको रहेछ भने पनि स्वीकार गर्छौं ।

सँगै दारु खानु भएको छ ?

हा हा हा, अरूले दारू खाएर गरेको चर्तिकला खुब हेरेका छौँ तर हामी दुबै दारू नखानेमा पर्छौं – क्या, बोर है !

कवि विधान चियाको पैसा झिक्न गाह्रो मान्नु हुन्छ ?

पटक्कै मान्दैनौँ, बरू मैले तिर्ने भनेर हतार हुन्छ ।

घर परिवारसँग सम्पर्क छ ?

मैले माथि नै भने नि मेरी श्रीमतीले विधानलाई भाइटीका लगाउँछिन् । छायाँ भाउजूको म विश्वासिलो देवर हुँ भने आश्रम (छोरा) को म प्रिय फुफाजु ।

उहाँसँगको रोचक घटना ?

कति कति । यहाँ लेखेर साध्य हुँदैन । सँगै ‘गोष्ठी नेपाल’ चलाउँदाका कुरा । जीवनसँग मिलेर ‘डिजाइन राइटर’ चलाउँदाका कुरा । पोखरा हुँदाका कुरा । ईश्वर दाइदेखि लिएर विभिन्न मूर्धन्य साहित्यकारसँगका संस्मरण । फिल्म या टेलिफिल्मको सहकार्य गर्दाका कुरा । आरोहण शनिबारको बेलाका कुरा । सम्झीसाध्य छैन ।

कवि विधान र तपाईँको शारीरिक उचाइ मिल्दैन त ?

मन मिलेपछि साथीको शरीर गौण हुन जान्छ । र, विधानको शरीरको हाइटभन्दा सिर्जनाको हाइट धेरै नै अग्लो छ ।

उहाँको कम्तिमा पनि एउटा बदमासी भनिदिनुहोस् न, भए धेरै नै !

हामी डेरामा बस्दा भवानी घिमिरे आउनु भयो । औपचारिकता पूरा गर्न भात खान भन्याैं । उहाँले खानु भयो । मलाई भोकै राख्यो । अरु पनि साहित्यकारसँग यस्ता कुरा छन्, नभनौँ होला ।

मीठा संस्मरणहरू केही ?

धेरै छन्, सँगै बिताएका सबै पलहरू मीठा छन् । अब भविष्यमा बिताउने पलहरू झन् मीठा हुनेछन् भन्ने विश्वास छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.