साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

राराको मोहिनी (नियात्रा/नवपुस्ता)

राराको मोहिनी (नियात्रा/नवपुस्ता)

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस, बाजुरा क्याम्पसमा पढ्न थालेको चार वर्ष सकिन लागेको थियो । म क्याम्पसमा भर्ना भएपछिको पहिलो शैक्षिक भ्रमणको आयोजना हुन लागेको थियो । घुम्ने भन्नेबित्तिकै हुरुक्कै हुने म, त्यसमाथि क्याम्पसका धेरै सहपाठी साथीहरू र शिक्षक सरहरूसँगै जान पाउने भएकाले यसको मज्जा नै बेग्लै थियो । शैक्षिक भ्रमणको चर्चा बढ्दै जाँदा क्याम्पसभरि चहलपहल पनि बढ्न थाल्यो । आवश्यक विमर्शसँगै खर्च संकलन गर्ने काम भयो । हुन त क्याम्पस प्रशासनले नै खर्च बेहोर्ने चर्चा चलेको थियो, तर विद्यार्थी साथीहरूबाट पनि केही रकम उठाउने निर्णय गरियो । प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले हामीले पनि रकम जम्मा गर्‍यौँ । क्याम्पसका करिब एक सयभन्दा बढी साथीहरू भ्रमणमा जान तयार भए ।

मैले सहपाठी साथी तिलकलाई सोधेँ, “भ्रमणमा चाहिँ कहाँ लैजाने रहेछन्?” उसले जवाफ दियो, “रारा ।” ‘रारा’ भन्ने शब्द सुन्नेबित्तिकै मेरो रारा जाने पुरानो चाहना पुनः ताजा भयो । मेरो खुसी झन् बढ्यो । मनमनै ‘रारा जाने रहर पूरा हुने भयो’ भन्दै म मख्ख परेँ ।

रारा प्रस्थान गर्नुभन्दा दुई दिनअघि क्याम्पसमा रारा जाने सम्पूर्ण साथीहरू जम्मा भयौँ । शिक्षकहरू र भ्रमण समितिका साथीहरूले रारा जाने तरिका, बास बस्ने ठाउँहरू, भ्रमणमा बोक्नुपर्ने सामान, विद्यार्थीहरूले पालना गर्नुपर्ने नियमहरू लगायत अन्य आवश्यक कुराहरूको जानकारी दिनुभयो । भ्रमणमा जाने सबै साथीहरूलाई १० समूहमा विभाजन गरियो । प्रत्येक समूहमा १४ जना राखियो । एक जनालाई समूहको संयोजक बनाइयो र प्रत्येक समूहमा एक जना शिक्षक पनि खटाईयो । त्यसपछि सबै साथीहरू आ–आफ्नो तयारीमा जुट्न थाले । मेरो पनि रारा जाने सम्पूर्ण तयारी पूरा भयो ।

वैशाख २५ गतेको बिहान मार्तडीको काखमा अवस्थित बाजुरा क्याम्पसको प्राङ्गणमा एउटा बेग्लै उत्साह सञ्चार भइरहेको थियो । बिहानको झुल्के घामसँगै गुरुवर्गको अभिभावकीय छहारी र साथीहरूको सामीप्यतामा हामी करिब सयभन्दा बढी यात्रीहरू एउटा सामूहिक सपना बोकेर जम्मा भयौँ— नेपालको सबैभन्दा ठूलो ताल रारालाई आफ्नै आँखाले सजाउने सपना लिएर ।

हामीलाई लिन दशवटा जिप तयार भइसकेका थिए । प्रत्येक समूहका लागि एउटा जिप छुट्याइएको थियो । मेरो समूहमा सहपाठी साथी दीपेन्द्र, तिलक, तुलसी र बाँकी बीबीएस् चौथो सेमेस्टरका साथीभाइहरू थिए । बिहानको उषाकालसँगै बडिमालिका मातालाई साक्षी राखी रारा प्रस्थानका लागि यात्रा सुरु भयो । बिहानपख आफ्ना पखेटा फिँजाउँदै गरेको सूर्यका किरणसँगै वरपर देखिने डाँडाहरूको दृश्य निकै मनमोहक थियो । दसवटा गाडी एकपछि अर्को गर्दै आफ्नो गतिमा अघि बढिरहेका थिए ।

वैशाखको महिना । घरतिरको कामको चटारोले थाकेको र क्लान्त शरीर भएर पनि होला, रारातर्फको यात्राले मन नै चङ्गा भएको थियो । स्वच्छ हावा, सुन्दर र शान्त प्राकृतिक दृश्य, बाटोभरि मुस्कुराइरहेका विभिन्न प्रजातिका फूल, राति बास बसेर बिहानपख आफ्नो यात्रामा निस्कँदै गरेका चराचुरुङ्गीहरूको मधुर धुनले हामीलाई ‘शुभ यात्रा’ भन्दै मुस्कुराएको भान हुन्थ्यो ।

जिपबाट पोरखे लेकका थुम्काहरू नाघ्दै, पाण्डुसैनका रमाइला बस्ती नियाल्दै कोल्टी बजार पार गर्‍यौँ । कोल्टीदेखि पिलुचौरसम्मको उबडखाबड बाटोको थकानलाई आपसी गफगाफ र हाँसोको सुगन्धले उडाउँदै गयौँ । पिलुचौर पुगेपछि कर्णाली प्रदेशको नामले चिनिएकी भए पनि सुदूरपश्चिमको भूभागलाई छोएर बगेकी पवित्र कर्णालीले हामीलाई स्वागत गरिन् । त्यसपछिको हाम्रो यात्रा कर्णालीको तिरैतिर अगाडि बढिरह्यो ।

भौगोलिक विकटताका कारण बाटो निकै जोखिमपूर्ण थियो । तर पनि साहसी र संयमित चालकहरूले गाडी बिस्तारै अगाडि बढाइरहेका थिए । तेज गर्मी भएर होला, मनमनै अविरल बगेकी कर्णालीको कञ्चन र निर्मल पानीमा पौडी खेलेर जाऊँजस्तो लाग्यो । कलकल ध्वनिमा अविच्छिन्न बगिरहेकी कर्णाली कहाँसम्म पुग्छिन्? मेरो मनमा यस्तै प्रश्न उठिरहेको थियो ।

धुलाचौर बजार पुगेपछि हाम्रा गाडीहरू बजारको छेउमा रोकिए । श्रद्धेय गुरुहरूको निर्देशनअनुसार केहीबेर विश्राम गर्‍यौँ । विश्रामका ती क्षणहरूमा पहाडै–पहाडको काखमा लुकेर बसेको धुलाचौर बजारलाई नियाल्निरहेँ । बाजुराको हिमाली गाउँपालिकामा अवस्थित यो बजार छिमेकी जिल्ला मुगु र हुम्लाको समेत प्रमुख व्यापारिक केन्द्र रहेछ । साना–साना पसल, मानिसहरूको चहलपहल र पहाडी जीवनशैलीले बजारलाई आफ्नै किसिमको जीवन्तता दिएको थियो ।

हिमाली गाउँपालिकाको कार्यालयनजिकै रहेको एउटा होटलमा हामीले खाना खायौँ । गुरुहरू र सयौँभन्दा बढी साथीहरूसँग एउटै ठाउँमा बसेर भोजन गरेको त्यो मेरो जीवनकै पहिलो अनुभव थियो । सँगै हाँस्दै, रमाउँदै, एउटै थालको स्वाद बाँड्दै खाना खानु कुनै उत्सवभन्दा कम लागेन । यति धेरै पाहुनालाई कुनै झन्झटको अनुभूति गराउन नदिई आत्मीयतापूर्वक भोजन तयार पारेर खुवाउने होटलका सम्पूर्ण कर्मचारीप्रति मनभित्रैदेखि सम्मान र कृतज्ञता जाग्यो ।

रोजगारीको खोजीमा विदेशिने प्रवृत्ति बढिरहेका बेला आफ्नै देशमा पसिना बगाउँदै सम्मानजनक व्यवसाय गरिरहेका ती सचेत नागरिकहरूलाई देख्दा मन गर्वले भरियो । उनीहरू केवल आफ्नो परिवारको जीविकोपार्जन मात्र गरिरहेका थिएनन्, बरु स्वदेशमै सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश अन्य युवालाई पनि दिइरहेका थिए । उनीहरूप्रतिको सम्मान अझ गहिरिँदै गयो ।

उता सबै साथीहरू खाना खाएर गाडीमा बसिसकेका थिए । भ्रमण समितिका अध्यक्ष तथा सदस्यहरू कसैको उपस्थिति छुटेको त छैन भन्ने सुनिश्चित गर्न प्रत्येक जनाको एकिन गर्दै थिए । केहीबेरमै सबै जना सुरक्षित रूपमा गाडीमा बसिसकेको खबर आयो र हाम्रो यात्रा फेरि अघि बढ्यो ।

धुलाचौरबाट केही दूरी पार गरी कर्णाली नदी तरेपछि हामीले आफ्नो गृहजिल्ला बाजुरालाई बिदाइ गर्दै मुगु जिल्लामा प्रवेश गर्‍यौँ । मुगु पुगेको केहीबेरमै रारा तालबाट बगेर आएको खत्याड खोलाले हाम्रो यात्रालाई स्वागत गर्‍यो । त्यसपछि हाम्रो यात्रा खोलाको किनारै–किनार अघि बढिरह्यो । साँघुरा, उकालो–ओरालो र जोखिमपूर्ण कच्ची पहाडी सडकले यात्रालाई चुनौतीपूर्ण बनाइरहेको थियो ।

तर गाडीको झ्यालबाट देखिने साना–साना गाउँबस्ती, खेतबारीमा व्यस्त किसान र दैनिक श्रममा रमाइरहेका मानिसहरूलाई देख्दा मन अनेकौँ विचारले भरिन्थ्यो । लाग्थ्यो— यदि हरेक नेपालीले विदेशिनुभन्दा आफ्नै माटोमा यस्तै पसिना बगाउने हो भने, विकट मानिएको कर्णालीले पनि विकासको नयाँ बाटो अवश्य समात्ने थियो । प्रकृतिको सौन्दर्यसँगै ती दृश्यहरूले जीवन र देशप्रतिको उत्तरदायित्वबारे गहिरो चिन्तन गराइरहेका थिए ।

गाडीभित्र भने छुट्टै संसार सजिएको थियो । साथीहरू देउडा गाउँदै, हाँस्दै, रमाउँदै फोटो र भिडियो खिच्न व्यस्त थिए । म, तिलक, रामप्रसाद, नन्दराजलगायत पाँच जना साथीहरू जिपको पछाडितिर बसेका थियौँ भने पाँच जना केटी साथीहरू अगाडिपट्टि थिए । बेला–बेला हुने ठट्टा, जिस्काइ र हाँसोले लामो यात्रा पनि छोटो लागिरहेको थियो ।

यसरी मुगुको खत्याड गाउँपालिकाका विभिन्न बस्ती, नदीका किनारा र पहाडी गोरेटाहरू पार गर्दै हाम्रो जिप यात्रा अन्ततः मसाने बजारमा पुगेर टुङ्गियो । मसाने पुगेपछि गाडीहरू रोकिए । हामीले आफूले बोकेर ल्याएका खाजाका पोका बोकेर बजारछेउको डाँडामा बसेर खायौँ, चिसो पानीले यात्राको प्यास मेटायौँ ।

अब यात्राको अर्को अध्याय सुरु हुँदै थियो । अगाडिको यात्रा गाडीको हर्नमा होइन, आफ्नै पदचाप र धड्कनको तालमा तय गर्नु थियो । यहीँबाट सुरु भयो चार घण्टाको पैदल यात्रा ।

गाडीबाट ओर्लिएर पाइला अघि बढाउँदा शरीरले लामो समयको धक्का र थकान बिस्तारै बिर्सिँदै गएको अनुभूति भयो । मसानेबाट घना जंगलभित्रको बाटो समात्दै अघि बढ्दा मनमा नयाँ अनुभूतिहरू जन्मिन थाले । आकाश छुने कोणधारी रुखहरू, हरियालीले ढाकिएका पहाडहरू, चरिरहेका भेडाका बथान र राष्ट्रिय निकुञ्जभित्र स्वतन्त्र रूपमा रमाइरहेका डाँफे, चिर, कालिज, तित्रा, न्याउलीलगायतका चराचुरुङ्गीहरूले त्यो यात्रालाई झन् मनमोहक बनाइदिए । प्रकृतिको त्यो अनुपम संसारले प्रत्येक पाइला झन्–झन् रोमाञ्चक बनाइरहेको थियो ।

कुरा गर्दै, हाँस्दै, फोटो र भिडियो खिच्दै तथा थकानलाई साथी बनाउँदै हामी रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु पुग्यौँ । त्यहाँबाट रारासम्बन्धी आवश्यक जानकारी लिएर फेरि पैदल यात्रा अघि बढायौँ ।

साँझ बिस्तारै ओरालो लाग्दै थियो । सुसाउँदै गरेको बतास र सुस्ताउँदै गरेको साँझको शीतलताबीच हिँड्दाहिँड्दै रातले आफ्नो कालो पछ्यौरी ओढाइसकेको थियो । अन्ततः हामी माझघाट पुग्यौँ । चार घण्टाको कठिन पैदल यात्रापछि शरीर थकानले गलिसकेको थियो । माझघाटस्थित ‘मुर्मा टप होटल’ र वरपरका रिसोर्टहरूले हामीलाई आत्मीय न्यानोपन दिए । स्थानीय स्वादले भरिएको रातिको भोजनले शरीरमा नयाँ ऊर्जा भरिदियो । भोलिपल्टको सुनौलो बिहानसँगै पहिलो पटक रारा तालको साक्षात्कार गर्ने कल्पनालाई मनभरि सजाउँदै हामी निद्राको काखमा बिलायौँ ।

वैशाख २६ गते बिहानको ताजा र सुगन्धित हावासँगै नित्यकर्म सकेर उत्सुक आँखाहरू बोकी हामी केही साथीहरू राराको मुख्य गन्तव्यतर्फ लाग्यौँ । जब पहिलो पटक मैले रारालाई देखेँ, मलाई साँच्चिकै स्वर्गमा आइपुगेझैँ महसुस भयो । मेरो मुखबाट अनायासै शब्द फुत्कियो— “आहा, रारा ताल!”

बिहानीको सुनौलो किरण राराको नीलो छातीमा ठोक्किएर झलमल्ल हुँदा लाग्थ्यो, कुनै कुशल चित्रकारले नीलो मसी पोखिदिएको हो । प्रकृतिको त्यो अनुपम नमुनालाई केही बेर मन्त्रमुग्ध भएर नियाल्दै हामी फेरि माझघाट फर्कियौँ ।

बिहानको करिब १० बजेतिर सबै जनाले तृप्त भएर खाना खायौँ र हाम्रो सम्पूर्ण टोली राराको ‘विशाल रूप’ देखिने मुर्माटप डाँडातर्फ अघि बढ्यौँ । करिब दुई घण्टाको ठाडो उकालो पैदल यात्रा— निधारमा पसिना, तर मनमा अथाह उत्साह!

मध्याह्नको १२ बजेतिर जब हामी मुर्माकोट (मुर्माटप) पुग्यौँ, त्यहाँबाट देखिएको राराको दृश्यले हाम्रो सातो नै लियो । चारैतिर सल्ला र धुपीका जङ्गल, बीचमा विशाल नीलो हीराजस्तै टल्किरहेकी रारा! हामी प्रकृतिको त्यो जादुमयी माहोलमा पूर्ण रूपमा हरायौँ । फोटो खिच्ने, भिडियो बनाउने र ती अविस्मरणीय क्षणहरूलाई क्यामेरामा मात्र होइन, मनको कुनाकाप्चामा सधैँका लागि कैद गर्ने होडबाजी नै चल्यो । हाम्रो बाजुरा क्याम्पसको भ्रमण टोली मुर्माटपको डाँडाबाट एकटक रारा ताललाई नियालिरह्यो । अग्लो डाँडाबाट देखिने राराको सौन्दर्य जति हेरे पनि धित नै नमर्ने!

दिउँसोको करिब ३ बजेतिर मुर्माकोटको डाँडोलाई बिदाइ गर्दै हामी फेरि ओरालो बाटो हुँदै राराको किनारतर्फ झर्‍यौँ । करिब एक घण्टाको हिँडाइपछि अपराह्न ४ बजेतिर हामी रारा तालको काखमा रहेको नेपाली सेनाको क्याम्प नजिक पुग्यौँ । साँझ ६ बजेसम्म रारा किनारमा बिताएका ती दुई घण्टा यस्तो लाग्यो, मानौँ समय यहीँ रोकियोस् । सिरसिरे हावाले पानीमा उठाएका साना तरङ्गहरू, चराहरूको चिरबिर आवाज र राराको अलौकिक शान्तताले मनलाई पूर्ण रूपमा ध्यानमग्न बनाइदियो ।

समुद्री सतहबाट २,९९२ मिटर उचाइमा अवस्थित यो ताल १६७ मिटर गहिरो, ५ किलोमिटर लामो र ३ किलोमिटर जति चौडा रहेको जानकारी तालनजिकै राखिएका सूचना–पाटीहरूले दिइरहेका थिए । २०२० साल फागुन २० गते तत्कालीन राजा महेन्द्रको भ्रमणपछि रारा ताललाई ‘महेन्द्र ताल’ पनि भनिन थालेको रहेछ । त्यहीै सूचना–पाटीमा राजा महेन्द्रको कवितांश पनि लेखिएको थियो— “सुन्दरताको भण्डार सारा, के खनायो यसै रारामा? राराकी अप्सरा ।”

साँझ परेपछि हामी फेरि आफ्नो आश्रयस्थल मुर्माटप होटलमा फर्कियौँ । त्यस रात शिक्षक र साथीहरू मिलेर खसी काटियो । पेटभरि मासु–भात खाइयो । आगोको धुनी बालियो । त्यसपछि सुदूरपश्चिमको प्राण मानिने देउडा खेलको जग बस्यो । देउडा गीतको लयसँगै खुट्टाका पाइलाहरू ताल मिलाउँदै अघि बढे, र वरिपरि देउडाको भाका गुञ्जिरह्यो । रात जति छिप्पिँदै गयो, रमाइलोपन त्यति नै गाढा बन्दै गयो । दिनभरिको शारीरिक थकानलाई देउडाको भाकाले क्षणभरमै बिर्साइदियो । त्यस रात साथीहरूसँग देउडा खेल्दै, गीत गाउँदै र हाँसो साट्दै बिताएका पलहरूले यात्रालाई अझ आत्मीय, जीवन्त र स्मरणीय बनाइदिए । मेरो जीवनका सबैभन्दा अविस्मरणीय र उज्याला रातहरूमध्ये त्यो रात सधैँका लागि स्मृतिमा अङ्कित भएर बस्यो ।

हाम्रो यात्राको तेस्रो दिन बिहानको चिसो सिरेटोसँगै हामी उठ्यौँ । हल्का खाजा खाएर गुरुहरूको कुशल निर्देशन र अनुशासनको पालना गर्दै हामी पुनः राराको सामीप्यमा पुग्यौँ । बिहानको सूर्योदयसँगै राराको रूप फेरि फेरिएको थियो । पानीको रङ पलपलमा बदलिँदै थियो— कहिले नीलो, कहिले बैजनी त कहिले सुनौलो । त्यो दृश्यले लाग्थ्यो, मानौँ रारा नामकी कुनै अप्सराले आफ्नो मोहिनी फेरि एकपटक छरेकी हुन् ।

मैले पनि टक्क उभिएर एकटक रारालाई निःस्वार्थ भावले नियालिरहेँ… नियालिरहेँ…。 मनमा अनौठो चाहना जाग्यो— रारालाई अँगालो हालूँजस्तो । प्रकृतिकी अनुपम सृष्टि रारालाई नेपाल आमाले आफ्नै वक्षस्थलमा प्रेमपूर्वक सुम्सुम्याइरहेकी हुन् कि जस्तो अनुभूति भयो । त्यो दृश्यले मन हर्षले भरियो ।

तालमा रमाइरहेका विभिन्न प्रजातिका माछा, पानीहाँस तथा अन्य जलचरहरूलाई देख्दा मनभित्र मीठो डाहा जाग्यो । रारा नामकी अप्सराका गहना बनेर रमाइरहेका ती जीवहरू कति भाग्यमानी! उनीहरू दिनरात यही अनुपम सौन्दर्यको काखमा खेलिरहेका थिए ।

रारा घुम्न आउने पर्यटकहरूमध्ये कोही घोडा चढेर आइरहेका थिए भने कोही हेलिकप्टरबाट ओर्लिरहेका थिए । हामी पनि करिब एक घण्टासम्म राराको अनुपम सौन्दर्य अवलोकन गर्दै तालको किनारैकिनार हिँड्यौँ । राराको मोहमा हराउँदै अन्ततः तालको पारिपट्टि रहेको डुङ्गा चढ्ने स्थानमा पुग्यौँ । त्यहाँ नेपाली सेनाको एउटा सानो टुकडी पनि तैनाथ रहेछ । हामीले त्यहीँ रहेका नेपाली सेनाका एक अधिकृतसँग बसेर खाजा खायौँ । उहाँसँगको आत्मीय संवादबाट रारा ताल र यहाँ सञ्चालन हुने डुङ्गा सेवाका बारेमा धेरै रोचक जानकारी प्राप्त भयो । उहाँका अनुसार हिउँदमा राराको आसपासका डाँडाकाँडाहरू हिउँले ढाकिन्छन् भने जेठको मध्यदेखि साउन महिनासम्म वरपरका वन–जङ्गल र पाखापखेराहरू रङ्गीचङ्गी फूलहरूले ढाकिएर झन् मनमोहक बन्छन् ।

त्यसै दिन अर्थात् वैशाख २७ गते सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथन चलिरहेको थियो । म्याराथनमा सहभागीहरू दौडिरहेका दृश्य हेर्ने अवसर प्राप्त भएकोमा हामी सबै खुसी थियौँ । प्रतियोगीहरूले थकानका बाबजुद पनि उत्साह र साहस बटुलेर दौडिरहेको दृश्यले मनभित्र ‘हार मान्नु हुँदैन’ भन्ने प्रेरणा जगाएको थियो ।

यस पटकको मुख्य आकर्षण थियो— राराको छातीमा डुङ्गा सयर (Boating) । गुरुवर्ग र साथीहरू पालैपालो डुङ्गामा सवार भयौँ । जब डुङ्गा तालको बीच भागमा पुग्यो, चारैतिर फैलाएको हरियो वन र नीलो आकाश पानीको ऐनामा स्पष्ट प्रतिबिम्बित देखिन्थ्यो । लाग्थ्यो, हामी पानीमा होइन, बादलमाथि तैरिरहेका छौँ । पानीलाई हातले स्पर्श गर्दा अनुभूत हुने त्यो शीतलता साँच्चिकै अद्भुत थियो । साथीहरूसँग कुराकानी गर्दै, डुङ्गा खियाउँदै, फोटाहरू खिच्दै र रमाउँदै झन्डै ४५ मिनेटपछि हामी तालको वारिपट्टि आइपुग्यौँ । हामी वारिपट्टि आइपुग्दा बिहानको १०:०० बजिसकेको थियो । ‘पृथ्वीको स्वर्ग’ भनेर चिनिएको र धेरै समयदेखि आउन चाहेको रारातालको नयनाभिराम सुन्दरतालाई केही समय टुलुटुलु नियाल्यौँ । केही छिन घोडामा चढेर रारातालको किनार वरपरको वातावरण पनि अवलोकन गर्‍यौँ ।

केही बेरको अद्भुत रमाइलोपछि रारालाई अन्तिम पटक आँखाभरि नियाल्दै, ‘फेरि आउनेछु’ भन्ने मूक वाचा गर्दै हामीले मन नलागी–नलागी पाइला फर्कायौँ । करिब २० मिनेटको पैदल यात्रापछि पुनः होटलतर्फ फर्कियौँ । खाना खाएर फिर्ती यात्राको तयारी गर्‍यौँ ।

बिहानको ११ बजे माझघाटबाट हिँडेको हाम्रो टोली राराबाटै निकास पाएर बग्ने कञ्चन खत्याड खोलाको किनारैकिनार अघि बढ्यो । सुसाउँदै बग्ने खोलाको सङ्गीत सुन्दै दिउँसो २ बजेतिर हामी जिप पार्क गरिएको ठाउँ मसाने पुग्यौँ, जहाँ हाम्रा सारथी जिपहरू तयारी अवस्थामा थिए । सुन्दर राराताललाई छोडेर आउनुपर्दा मेरो मन भने निकै खिन्न भएको थियो ।

मसाने पुगेर खाजा खायौँ र केही छिन विश्राम गर्‍यौँ । फेरि गुरुहरूको निर्देशनअनुसार बाटो लाग्यौँ । मुगुका मनमोहक गाउँबस्तीहरूलाई जिपको झ्यालबाट नियाल्दै हामी मुगु र बाजुराको सिमाना धुलाचौर पुग्यौँ । धुलाचौरबाट मार्तडीका लागि अघि बढ्दै कोल्टी पुग्दा नपुग्दै रातले आकाश ढाकिसकेको थियो । बाटो लामो र कठिन थियो । जब हामी पोरखे लेक पुग्यौँ, रात गहिरिइसकेको थियो । चिसो सिरेटो र रातको गहिराइलाई मध्यनजर गर्दै हामीले त्यहीँ बस्ने निर्णय गर्‍यौँ । पोरखेको एउटा स्थानीय होटलमा न्यानो भोजन गर्‍यौँ । सुत्नुअघि दिनभरिको थकान बिर्सन फेरि एकछिन देउडा गीत, नाच र हाँसोको फोहरा छुट्यो । साथीहरूले देउडा गीतको लयमा दोहोरी पनि खेले । केही छिनको रमाइलोपछि अन्ततः हामी म्याट्रेसमा पल्टियौँ ।

वैशाख २८ गते, अर्थात् हाम्रो यात्राको अन्तिम दिन । पोरखेको लेकाली चिसो मौसम र होटलको व्यवस्थापनको केही कमजोरीका कारण रातभरि राम्रोसँग निदाउन पाइएको थिएन । कतिबेला भाले बासिसकेछ, पत्तै भएन । बिहान उठ्दा मौसम पनि केही धुम्म थियो । हल्का पानी परिरहेको थियो । प्रकृतिले पनि हाम्रो बिदाइमा आँसु खसालेझैँ महसुस हुन्थ्यो । हामी पोरखेबाट यात्रा सुरु गरेको करिब दुई घण्टापछि मार्तडी पुग्यौँ ।

मार्तडी पुगेपछि चार दिनदेखि एउटै परिवारझैँ बनेर हिँडेका हामी सबै जना आ–आफ्नो बाटो लाग्नुपर्ने भयो । एकआपसबाट छुटिँदा मन अलि भारी भयो ।

यो यात्राले साथीहरूबीचको सामीप्यता, निःस्वार्थ मित्रता र आपसी सम्बन्धलाई हिमालझैँ प्रगाढ बनायो । हाम्रा आदरणीय गुरुहरूको अभिभावकीय व्यवहार, स्नेह र कुशल मार्गदर्शनले उहाँहरूप्रतिको हाम्रो सम्मान र सद्भावलाई अझ गहिरो र सगरमाथाजत्तिकै उच्च बनाइदिएको छ ।

हामीलाई यो अवसर प्रदान गरी जीवनभर सम्झिरहने एउटा अमूल्य सम्झना बनाइदिनुभएकोमा बाजुरा क्याम्पस तथा विशेष गरी क्याम्पस प्रमुख आदरणीय रूप रौले, भीम विष्ट, सुरेशप्रसाद पण्डित, नवराज बुढा, विष्णु रोकाया, लोकराज भट्ट, सागर रोकाया सर, के.पी. सर लगायत सम्पूर्ण श्रद्धेय गुरुहरूलाई हार्दिक धन्यवादसहित नमन गर्दछु ।

साथै, यस भ्रमणलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्नुहुने बाजुरा क्याम्पस स्ववियुका सम्पूर्ण सदस्य साथीहरूप्रति पनि म हार्दिक आभारी छु ।

अहिले पनि आँखा बन्द गर्दा राराको त्यो नीलो पानी, मुर्माकोटको चिसो बतास र रातभरि गुन्जिएको देउडाको भाका कानमा प्रतिध्वनित भइरहन्छ । राराको त्यो अलौकिक सुवास हाम्रो मानसपटलमा सधैँभरि जीवन्त रहनेछ । किनकि रारा आफैँमा मनोरम छिन् । उनी प्रकृतिको अनुपम छटा र सौन्दर्य बोकेकी छिन् । यदि रमणीयता, आनन्द र अनुपमतालाई स्वर्गकी अप्सराको उपमा दिने हो भने, रारा नै नेपालकी अप्सरा हुन्, जसले आफ्नो निकट आउने जो–कोहीलाई पनि मोहनी लगाउँछिन् ।

जहाँ घनघोर जङ्गल छ, जहाँ विशाल ताल छ, त्यहाँ विविध जीवजन्तुको पनि उत्तिकै सुन्दर संसार छ । रारा नेपालको राष्ट्रिय निकुञ्ज घोषित क्षेत्र हो । यो रामसार क्षेत्रमा सूचीकृत छ । मध्यवर्ती क्षेत्रका रूपमा पनि घोषणा गरिएको छ । कोणधारी वृक्षहरूले भरिएको घना जङ्गलले यसको प्राकृतिक वैभवलाई अझ मनमोहक बनाएको छ । माता प्रकृतिले कति सिँगारेकी छन् रारा नामकी ती अप्सरालाई!

स्वर्ग माथि छ भन्छन्, स्वर्गमा देवताहरू बस्छन् भन्छन् । पृथ्वीकै सबैभन्दा माथि, चराचर जगत्‌भन्दा पर देवताहरूको निवास रहेको भूभागलाई स्वर्ग भनिन्छ । तर मलाई लाग्छ, पृथ्वीमै अवस्थित स्वर्गकी अप्सरा रारा नै हुन्, जहाँबाट स्वर्गीय आनन्दको अनुभूति लिन सकिन्छ ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.