दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले यस वर्ष पनि स्रष्टा सम्मान, पुरस्कार वितरण, १८औँ साधारण सभा तथा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ । परिषद्ले चैत २१ गते शनिबार पत्रकार महासङ्घ दाङको सभाहलमा कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
परिषद्का अनुसार २०८२ सालका लागि विभिन्न विधाका स्रष्टालाई पुरस्कार प्रदान गरिनेछ । यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा. टीकाराम उदासी, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट हरि पोख्रेल, नेत्रमोहनादेवी साहित्य पुरस्कारबाट डिल्लीराज श्रीधर तथा वेदप्रसाद–जयश्वरी रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारीलाई पुरस्कृत गरिने भएको छ ।
त्यसैगरी साहित्यकार गुरुप्रसाद शर्मा रेग्मीलाई विशेष सम्मान प्रदान गरिनेछ भने पुरस्कार संस्थापकको तर्फबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसीलाई समेत सम्मान गरिने परिषद्ले जनाएको छ ।
पुरस्कार छनोटका लागि गठन गरिएको समितिको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ रहनुभएकाे छ । सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसी रहनुभएकाे छ ।
परिषद्का अध्यक्ष यम रेग्मीका अनुसार सोही दिन विविध साहित्यिक कार्यक्रमसमेत आयोजना गरिनेछ ।

