साहित्यपोस्ट डट कम

रण काफ्लेको ‘मत्स्यकन्याको मुलुकमा’ को अंग्रेजी अनुवाद सार्वजनिक

रण काफ्लेको ‘मत्स्यकन्याको मुलुकमा’ को अंग्रेजी अनुवाद सार्वजनिक

काठमाडौं । साहित्यकार रण काफ्लेको नियात्रा कृति ‘मत्स्यकन्याको मुलुकमा’ को अंग्रेजी अनुवाद ‘In the Country of the Matsyakanya’ सार्वजनिक गरिएको छ। कृतिको अंग्रेजी संस्करण साहित्यपोस्टले प्रकाशन गरेको हो।

समाजसेवी चिनीमाया माझीलाई मुख्य पात्र बनाएर उहाँको जीवन संघर्षमा आधारित उक्त कृतिको अंग्रेजी अनुवाद प्रदीप रसाइलीले गर्नुभएको हो। कृतिको लोकार्पण समारोहमा साहित्यकार नन्दु उप्रेती, साहित्यपोस्टका प्रधान सम्पादक आश्विनी कोइराला, अनुवादक रसाइली र मुख्य पात्र माझीले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभयो।

कार्यक्रममा बोल्दै साहित्यकार उप्रेतीले कृतिमा पात्रहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएकाले पुस्तक पठनीय बनेको बताउनुभयो। माझी समुदायको जनजीवनमा आधारित कृतिको अंग्रेजी अनुवादले देश–विदेशका पाठकलाई नेपाली समाजको यथार्थसँग परिचित गराउने उहाँको धारणा थियो। उहाँले अनुवाद साहित्य ज्ञान आदान–प्रदानका लागि महत्वपूर्ण माध्यम हुने बताउँदै कृतिबाट धेरै पाठक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

कृतिकी मुख्य पात्र चिनीमाया माझीले लेखक काफ्लेले माझी समुदायलाई केन्द्रमा राखेर कृति तयार गरी समुदायप्रति ठूलो गुन लगाउनुभएको बताउनुभयो। कृतिको मूल्याङ्कन पाठकले गर्ने उल्लेख गर्दै उहाँले प्रकाशनमा सहयोग गरेको साहित्यपोस्टप्रति आभार व्यक्त गर्नुभयो। अंग्रेजी संस्करणले विदेशी पाठकलाई पनि कृतिसँग परिचित गराउने उहाँको विश्वास थियो।

अनुवादक प्रदीप रसाइलीले समाजसेवाको क्षेत्रमा चिनीमाया माझीको योगदान उल्लेखनीय रहेकाले कृतिमा उहाँलाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको बताउनुभयो। नियात्रा शैलीमा लेखिएको कृतिमा माझी समुदायको जीवन, संस्कृति र परिवेशलाई केन्द्रमा राखिएको उल्लेख गर्दै उहाँले यसले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने धारणा राख्नुभयो।

साहित्यपोस्टका प्रधान सम्पादक आश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार, सङ्गीतकार, साहित्यानुरागी, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। २ सय १७ पृष्ठको उक्त कृतिको बिक्री मूल्य पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। कृतिको नेपाली संस्करण भने एक वर्षअघि प्रकाशित भएको थियो।

ट्याग: रण काफ्ले
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.