२०५८ सालदेखि विभिन्न विधाका सर्जकलाई सम्मान गर्दै आएको ‘पन्त स्मृति प्रतिष्ठाले यस वर्षको ‘रामराज पन्त स्मृति सम्मान’ लोकान्तर डट्कमका आध्यात्मिक स्तम्भकार आचार्य कमल रिजाललाई प्रदान गरेको छ ।
आचार्य रिजाललाई उहाँको कृति ‘शकुन्तला’ उपन्यासका लागि सम्मान प्रदान गरिएको हो । शिखा बुक्सद्वारा प्रकाशित उक्त उपन्यास वेद, पुराण तथा उपनिषद् आधारित विषयवस्तुमा केन्द्रित छ । कृतिले समाजमा धर्मको आडमा वर्षौंदेखि जरा गाड्दै आएका कुरीति, कुप्रथा र कुसंस्कारको विरोध गर्दै महिला सशक्तिकरणको सन्देश दिएको छ ।
उपन्यास, निबन्ध, प्रबन्ध तथा नीतिकथा लगायत विधामा २१ वटा कृति प्रकाशित गरिसक्नुभएकाे रिजाल हाल लोकान्तर टीभीमा महाभारत ज्ञानमाला नामक साप्ताहिक आध्यात्मिक भिडियो स्तम्भसमेत सञ्चालन गर्दै आउनुभएकाे छ ।
त्यसैगरी, प्रतिष्ठानले यस वर्षको समालोचना विधाको ‘टीका–मुकुन्द पन्त स्मृति सम्मान’ पूर्वसचिव तथा पूर्व महालेखा नियन्त्रक एवं साहित्यकार गोपी मैनालीलाई प्रदान गरेको छ । करिब एक दर्जन कृतिका स्रष्टा मैनाली लोकान्तर डट्कमका स्तम्भकार पनि हुनुहुन्छ ।
आध्यात्मिक लेखन, समालोचना र साहित्यिक योगदानको कदरस्वरूप प्रदान गरिएको यी सम्मानहरूले नेपाली साहित्यिक वृत्तलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ ।

