सर्जक राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ काठमाडौँमा सार्वजनिक गरिएको छ । साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो ।
कार्यक्रमको सुरुवातमा नाट्यकर्मी अशेष मल्लको निर्देशनमा सर्वनाम नाट्यसमूहका कलाकारहरूले कृतिमा आधारित लघु नाटक प्रस्तुत गर्नुभएकाे थियाे । लेखक तथा पूर्वसचिव गोपी मैनालीले कृतिलाई सरकारी सेवाका अनुभवहरूको इमान्दार दस्तावेजीकरण भएको बताउनुभयाे । उहाँले सरल भाषाशैली र जीवनका विविध आयाम समेटिएकाले कृति पठनीय रहेको उल्लेख गर्नुभयाे । वक्ता युवराज मैनालीले कृतिमा सूक्ष्म अनुभूतिहरूलाई रोचक शैलीमा प्रस्तुत गरिएको टिप्पणी गर्नुभयाे ।
समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल र पूर्वराजदूत मधुवन पौडेलले कृतिको सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
लेखक खत्रीले आफ्नो लामो सरकारी सेवाका अनुभवहरू नै कृतिको मुख्य आधार रहेको बताउनुभयाे । सभाध्यक्ष भट्टराईले खत्रीको कार्यकुशलता र जिम्मेवारीबोधको प्रशंसा गर्दै कृतिलाई जीवन्त दस्तावेजका रूपमा मूल्याङ्कन गर्नुभयाे ।
कृति रामगीता वाङ्मय मन्दिरले प्रकाशन गरेको हो । न्युयोर्कमा बसोबास गर्दै आउनुभएकाे खत्री परराष्ट्र सेवाका सेवानिवृत्त कर्मचारी हुनुहुन्छ ।

