काठमाडौं । लेखक राजु रायमाझीको पहिलो उपन्यास ‘रिमा’ लोकार्पण गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा नइ एकेडेमीकी कुलपति तथा त्रिमूर्ति निकेतन एवं बानिरा फाउन्डेशनकी अध्यक्ष साहित्यकार इन्दिरा प्रसाईँ, लेखककी आमा रमा रायमाझी, साहित्यकार वासुदेव अधिकारी, हरिशरण ढुङ्गाना र राजन पुडासैनीलगायतले संयुक्त रूपमा उपन्यास लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाईँले रायमाझीको स्कूले जीवनदेखिको असल व्यवहार उहाँको लेखनमा पनि प्रतिबिम्बित भएको बताउँदै प्रशंसा गर्नुभयो ।
अन्य वक्ताहरूले ‘रिमा’ले समकालीन समाजका संघर्ष, सपना, प्रेम, सफलता र मानवीय संवेदनालाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेको धारणा राख्नुभएकाे थियाे। उनीहरूले नयाँ पुस्ताका स्रष्टा रायमाझीको साहित्यिक यात्राको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएकाे थियाे।
नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकका रूपमा कार्यरत रायमाझी बैंकिङ पेसासँगै साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ । उहाँका फुटकर लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।
शिमल बुक्सद्वारा प्रकाशित ‘रिमा’को सफ्टकभर संस्करणको मूल्य ४ सय ५० रुपैयाँ र हार्डकभर संस्करणको मूल्य ५ सय ५० रुपैयाँ रहेको छ ।

