साहित्यपोस्ट डट कम

राजनीतिक उद्योगः पहिचान, उत्पादन, बजार र ग्राहक

राजनीतिक उद्योगः पहिचान, उत्पादन, बजार र ग्राहक

राजनीति अब उद्योग किन ?

राजनीति आज विचारको आन्दोलन होइन, उत्पादन र बिक्रीको उद्योग बनेको छ । यो एउटा विडम्बना पनि हो, यथार्थ पनि । उद्योगमा जस्तै यहाँ पनि पहिचान, उत्पादन, बजार र ग्राहकका अवधारणाहरू अनिवार्य बनेका छन् । जब राजनीतिक दलहरू कम्पनीझैँ सञ्चालन हुन्छन्, कार्यकर्ताहरू श्रमिकझैँ काम गर्छन्, र जनता ग्राहकझैँ व्यवहार गर्छन् — तब लोकतन्त्र विचारको प्रतिस्पर्धा होइन, व्यापारको प्रतिस्पर्धा बन्न पुग्छ ।

उद्योग भनेको उत्पादन गर्ने थलो हो — जहाँ नाफा प्रमुख उद्देश्य हुन्छ । त्यसको सफलता ब्रान्डको बल, उत्पादनको गुणस्तर, बजारको विस्तार र ग्राहकको सन्तुष्टिमा निर्भर हुन्छ । आजको राजनीतिमा पनि यही सूत्र लागू भएको छ — ब्रान्ड = पार्टीको नाम, उत्पादन = नीति र घोषणापत्र, बजार = जनमत र चुनावी अभियान, र ग्राहक = जनता ।

तर विडम्बना के छ भने, यो उद्योगको ब्रान्ड धुम्मिएको छ, उत्पादनमा नैतिक गुणस्तर घटेको छ, बजार नारा र प्रचारले भरिएको छ, र ग्राहक — अर्थात् जनता — विश्वास गुमाउँदै गएका छन् ।

एक समय थियो, जब राजनीति दर्शनको अभिव्यक्ति थियो । त्यहाँ त्याग, आदर्श र जनसेवाको ऊर्जा प्रवाहित हुन्थ्यो । नेताहरू विचारका प्रतिनिधि थिए, न कि बजारका व्यापारी । तर समय बद्लियो — आज राजनीति विचारको भन्दा पनि सत्ताको वितरण केन्द्र बनेको छ । जहाँ सत्ता उत्पादन क्षमता हो, नारा विज्ञापन सामग्री हो र जनता केवल उपभोक्ता हुन् — जसले प्रत्येक चुनावमा नयाँ ‘ब्रान्ड’ परीक्षण गर्छन् र पुरानोलाई फिर्ता गर्छन् ।

लोकतन्त्रको बजारमा जब विश्वास घट्छ, मूल्य पनि घट्छ । जनता मौन रहन्छन्, आक्रोश अन्तर्मुख हुन्छ र राजनीति अन्धो व्यापारमा रूपान्तरित हुन्छ — जहाँ न त उत्पादन सुधार हुन्छ, न ग्राहक सन्तुष्ट ।

पहिचान (Brand)

वस्तु वा संस्थाको मूल्य, भरोसा र जीवनशक्ति यही पहिचानमै टेकेको हुन्छ । बजारमा उत्पादन प्रशस्त छन् — तर पहिचानबिना ती सबै भीडका हिस्सा मात्र हुन् । आलु, पिँडालु वा प्याज किन सधैं “मूल्यहीन” रहन्छन् ? किनकि तिनीहरूको ब्रान्ड छैन — कुनै “पहिचान” छैन । तर एउटै आलु, यदि “अर्गानिक,” “हिमाली,” वा “स्थानीय किसानको उत्पादन” भनेर चिनिन्छ भने, त्यो बजारमा मूल्यवान बन्छ । ब्रान्डले मूल्य दिन्छ, भरोसा जगाउँछ र उपभोक्ताको निर्णय सजिलो बनाउँछ ।

राजनीतिक बजारमा पनि यस्तै सिद्धान्त लागू हुन्छ । दलहरूको आत्मा नै पहिचान हो — तर अहिले यो आत्मा नै दिशाहीन र भ्रमित छ । पहिले राजनीतिक दलहरूको पहिचान विचार, सिद्धान्त र दर्शनमा आधारित हुन्थ्यो । कोही समाजवादको पक्षमा उभिन्थे, कोही प्रजातान्त्रिक मूल्यहरूका वाहक बन्थे, र कोही राष्ट्रवाद र स्वाभिमानको जरोमा उभिएका थिए । दलको नाम सुन्दा नै दर्शन झल्किन्थ्यो, नेताको अनुहार देख्दा नै नीति सम्झिइन्थ्यो ।

तर आज त्यो स्पष्ट र विचारपूर्ण ब्रान्ड हराइसकेको छ । सबै दलहरू एउटै रंगका, एउटै बोलीका, एउटै व्यवहारका प्रतीत हुन्छन् । कोही बायाँ भनिन्छन् तर दायाँको नीति बोकेका छन्, कोही प्रजातन्त्रका मुखिया भनिन्छन् तर व्यवहार अधिनायकवादी छ । दलहरूका घोषणापत्रहरू पनि एउटै मोल्डमा बनेका विज्ञापन पोस्टरझैँ देखिन्छन् — सुन्दर शब्द, अस्पष्ट कार्य ।

मतदाता अब सन्देहको बिन्दुमा पुगेका छन् — “को कुन पार्टी हो ?” सबै नेताहरू एउटै जस्तो, नारा एउटै जस्तो, गल्ती पनि एउटै जस्तो । पहिचान हराउँदा दलहरू केवल लेबल बनेका छन् — जसलाई कहिले “बायाँ” टाँसिन्छ, कहिले “दायाँ” अनुसारमा रंग लगाइन्छ । न त सिद्धान्त बाँकी छ, न त फरकपनको स्वाद ।

राजनीतिक दलहरूको यो पहिचान संकट केवल चुनावी हारको कारण होइन, यो लोकतन्त्रको आत्मसंकट हो । किनकि जब ब्रान्ड नै हराउँछ, ग्राहक — अर्थात् जनता — अन्योलमा पर्छन् । जनता अन्योलमा परेपछि बजार कमजोर हुन्छ र बजार कमजोर भएपछि उत्पादन — अर्थात् नीति र कार्य — निरर्थक हुन्छ ।

आजको राजनीति दिशाहीन यात्रुझैँ भइसकेको छ —जहाँ मार्ग छैन, मानचित्र छैन, केवल सत्ता नामको गन्तव्य छ । त्यो गन्तव्यसम्म पुग्नका लागि दलहरूले पहिचान बेचिसकेका छन्, र जनता, आफ्नो विश्वास हराएर केवल दर्शक बनेका छन् ।

उत्पादन (Product)

उद्योगको हृदय उत्पादन हो । जहाँ उत्पादन ठीक छ, त्यहाँ बजार बाँच्दछ; जहाँ उत्पादन बिग्रन्छ, त्यहाँ ब्रान्ड र पहिचान दुवै हराउँछन् । राजनीतिक दल पनि त्यस्तै उद्योग हुन् — जहाँ नेताहरू, नीति र कार्यकर्ताहरू उत्पादनका रूपमा तयार हुन्छन् ।

तर प्रश्न उठ्छ — आज दलका कारखानाबाट के उत्पादन भइरहेको छ ? विचार ? सिद्धान्त ? कि पदलोलुप व्यक्तिहरू ? पहिले कार्यकर्ता त्याग, आदर्श र प्रतिबद्धताको प्रतीक हुन्थे । जनताको दुःखमा सहभागी, आन्दोलनको आत्मा, र परिवर्तनको बाटो खोल्ने संघर्षशील हात । तर अहिलेका कार्यकर्ता “विचारका सिपाही” होइनन् — “अवसरका उपभोक्ता” बनेका छन् । अब उनीहरू पद र प्रभावका खोजीमा उत्पादित वस्तुहरूजस्ता छन्, जसको मूल्य निष्ठाले होइन, पहुँच र सम्बन्धले तोकिन्छ ।

राजनीतिक उत्पादन प्रक्रियामा दोष गहिरा छन् । पहिलो — नीतिगत शिक्षा कमजोर छ; दोस्रो — नैतिकता परीक्षण हराएको छ; तेस्रो — विचार निर्माण ठप्प छ । आजको राजनीतिक प्रशिक्षण केन्द्रहरू विद्यालय होइन, सत्ता–संस्कृतिका कार्यशाला हुन्, जहाँ “सेवा” होइन “सुविधा” सिकाइन्छ ।

राजनीतिक कारखानामा अब चरित्र होइन, चापलुसी उत्पादन हुन्छ । जो बढी चाकरी गर्छ, उसको चाँडो बढुवा हुन्छ; जो प्रश्न गर्छ, ऊ प्रणालीबाट निकालिन्छ । नेताहरूले विश्वास गर्ने कार्यकर्ता होइन, “हजुरवाद” बोल्ने उत्पादनहरू मन पराउँछन् । फलस्वरूप, संगठनका गलियारा अब मद्धिम स्वरका चापलुसी र कृत्रिम आदरले गुञ्जिएका छन् — जहाँ विचारको आवाज हराइसकेको छ ।

गुणस्तर नभएको उत्पादन बजारमा टिक्दैन —र राजनीति पनि यस नियमबाट मुक्त छैन । जब दलले विचार र मूल्यविहीन कार्यकर्ता उत्पादन गर्छ, त्यो दल दीर्घकालीन रूपमा न त जनता जित्न सक्छ, न आफ्नो अस्तित्व जोगाउन । किनकि “विचार र निष्ठा” बिना जन्मिएको कार्यकर्ता, पहिलो अवसरमै अर्को बजारमा बेचिन्छ ।

आज राजनीतिक उद्योगमा “विचारको उत्पादन र वितरण” ठप्प छ । नीति शब्दमात्र बनेको छ, आदर्श नारामात्र । दलहरूको कारखाना सत्ताको आपूर्तिकेन्द्र बनेको छ — जहाँ वस्तुहरू तयार हुन्छन्, चरित्र होइन ।

र जब उत्पादन बिग्रन्छ, बजारमा भरोसा घट्छ, ग्राहक — अर्थात् जनता — अर्को विकल्प खोज्न थाल्छन् । राजनीतिक उद्योगको संकट यहीँबाट शुरु हुन्छ — जहाँ विचार होइन, व्यक्तित्वको व्यापार चल्छ; जहाँ त्याग होइन, सुविधाको उत्पादन हुन्छ ।

बजार (Market)

बजार लोकतान्त्रिक प्रतिस्पर्धाको प्रतीक हो — जहाँ सिद्धान्तको मूल्य, विचारको गुणस्तर र जनविश्वासको मागले राजनीति चल्नुपर्थ्यो । तर आजको राजनीतिक बजारमा गुणस्तरभन्दा प्रचार, सिद्धान्तभन्दा गठबन्धन, र सेवा भन्दा सत्ता हावी छ । राजनीतिक बजार अब विचारको चौतारी होइन, नारा र नौटंकीको मेला बनेको छ ।

“राजनीतिक बजारमा नीति होइन, नारा र नाटक बिक्छन् ।” यो आजको लोकतन्त्रको नग्न सत्य हो । प्रचार, चुनावी खर्च र भ्रम सिर्जना — यी बजारका ‘भिड बनाउने उपकरण’ बनेका छन् । वास्तविक नीति र योजनाको सट्टा रंगीन पोस्टर, डिजिटल भाषण र नाटकीय घोषणा बिक्रीमा छन् । भिड जुटाउनका लागि मूल्य घटाइन्छ तर सत्य, निष्ठा र जिम्मेवारीको मूल्य सधैं घटाइँदै गएको छ ।

राजनीतिक बजारमा अहिले सत्ता नै सबैभन्दा महँगो ब्रान्ड हो । दलहरूले नीति होइन, सत्ताको हिस्सा बेचिरहेका छन् । गठबन्धनहरू विचारका मिलन होइनन्, बल्कि बजारका सम्झौता–सन्धि हुन् — जहाँ मूल्य नैतिकताले होइन, सिट र स्वार्थले तोकिन्छ ।

बजारको स्वर यति चर्को छ कि जनताको आवाज हराइसकेको छ । पोस्टरको रंगमा पीडाको धुलो ढाकिन्छ, लाउडस्पिकरको गर्जनमा जनताको क्रन्दन हराउँछ । शिक्षा, स्वास्थ्य, रोजगारी, महंगी — यी मुद्दाहरू विज्ञापनको चमकले बिस्तारै ओझेलमा परेका छन् । राजनीति अब संवेदनाको होइन, स्पन्सरको खेल बनेको छ ।

भोट माग्ने शैली बदलिएको छ —पहिले विचार बेचिन्थ्यो, अहिले छवि र भ्रम बेचिन्छ । पहिले नेता जनताको नजिक पुग्थे, अहिले जनता नेतालाई स्क्रिनमा मात्रै देख्छन् । पहिले प्रतिस्पर्धा नीति र निष्ठाको हुन्थ्यो, अहिले प्रतिस्पर्धा भाषण र भिडको आकारमा नापिन्छ ।

यस बजारमा सबैले बेच्न चाहन्छन् — कोही आफ्नो पार्टी, कोही आफ्नो अनुहार, तर किन्न चाहने जनता थकित छन् । लोकतान्त्रिक बजारको अत्यधिक स्वरले जनताको चेतनाले सुनाइ हराउँदै गएको छ ।

यस बजारमा त्यो वस्तु सबैले खोजिरहेका छन्, तर कसैसँग छैन —विश्वास । यो नै लोकतान्त्रिक बजारको हराएको मुद्रा हो । जस बिना कुनै लेनदेन स्थायी हुँदैन र जस बिना राजनीति केवल व्यापारको अर्को नाम मात्र रहन्छ ।

ग्राहक (Customer)

जब ग्राहक बोल्न छोड्छन्, बजार मर्छ; जब जनता बोल्न छोड्छन्, लोकतन्त्र मर्छ । यो, मात्र एउटा रूपक होइन — आजको राजनीतिक यथार्थको निचोड हो ।

जनता लोकतन्त्रका ग्राहक हुन् । उनीहरूले आफ्नो मतको माध्यमबाट नीति, सेवा र नेतृत्व “किन्छन्” —विश्वासको मुद्रा प्रयोग गरेर । तर पटक–पटक उनीहरूले धोका पाएका छन् — विज्ञापनमा असल वस्तु देखाएर तर डेलिभरीमा नक्कली उत्पादन थमाएर । हरेक चुनावपछि जनता महसुस गर्छन् — “मत दिएँ, तर सपनाको बिल मात्र आयो ।”

यो निराशा केवल चुनावी हार होइन, विश्वासको क्षय पनि हो — जो लोकतन्त्रको मेरुदण्ड नै हो । जनता अब पनि बजार जान्छन् तर केही किन्ने मन हुँदैन । किनभने सबै स्टल (दल) का उत्पादन एउटै स्वादका छन् — र सबैको प्याकेटमा एउटै झूटको सुगन्ध छ ।

एक समय थियो, जनता उत्साहित हुन्थे — घोषणापत्र पढ्थे, भाषण सुन्थे, नीति तुलना गर्थे । तर अहिले तिनका कान थकाइले बन्द छन्, आँखा प्रचारको धुलोले धमिलिएका छन् । जनताको चेतना मौन छैन तर त्यो मौनता थकित चेतना हो — जसले विश्वास गुमाएको छ र पुनः आशा पाउन डराएको छ ।

राजनीतिक बजारको यो संकट वस्तु वा मूल्यको होइन, विश्वासको संकट हो । विश्वासबिना बजार केवल भ्रम हुन्छ र लोकतन्त्रबिना जनता केवल दर्शक । आज जनता बोल्दैनन् तर मौनतामा प्रश्नहरू गडगडाउँछन् — “के राजनीति फेरि विचार बन्न सक्छ ?” “के सेवा फेरि सत्ताभन्दा माथि उठ्न सक्छ ?”

जब ग्राहक बोल्न छोड्छन् — बजार बन्द हुन्छ तर जब जनता बोल्न छोड्छन् — सिर्फ बजार होइन, लोकतन्त्रको आत्मा नै बन्द हुन्छ । त्यसैले, राजनीतिक उद्योगले अब विज्ञापन होइन, विश्वास उत्पादन गर्नुपर्छ । ब्रान्ड होइन, विचार पुनः निर्माण गर्नुपर्छ । त्यागको भाषा, सेवाको दर्शन र जनताको विश्वास — यिनै तत्त्वले मात्र यो उद्योगलाई पुनर्जीवन दिन सक्छन् ।

लोकतन्त्रको बजार तब मात्र पुनः जीवित हुनेछ जब जनता ग्राहक होइन, सह–निर्माता बन्नेछन् —विश्वासका साथ, विचारका साथ, र विवेकका साथ ।

सुधार

राजनीतिक उद्योग पनि अन्य उद्योगजस्तै हो — तर यसको उत्पादन, बजार र ग्राहक सबै चेतनासँग सम्बन्धित छन् । यहाँ नाफा पैसामा होइन, विश्वासमा गनिन्छ । जब विश्वास घट्छ, उद्योग मर्छ; जब विश्वास पुनर्जागृत हुन्छ, राजनीतिले फेरि जीवन पाउँछ ।

सुधारको बाटो चार सूत्रबाट शुरु हुन्छ— पहिचानमा निष्ठा, उत्पादनमा गुणस्तर, बजारमा पारदर्शिता, र ग्राहकप्रति सम्मान । यी चार सूत्र राजनीति पुनर्जीवनका चार दिशा हुन् ।

पहिचानमा निष्ठा भनेको मूल दर्शनप्रति नझुक्किने दृढता हो— जसले विचारलाई बल दिन्छ । उत्पादनमा गुणस्तर भनेको नैतिक र सक्षम कार्यकर्ता निर्माण हो— जसले कार्यलाई मूल्य दिन्छ । बजारमा पारदर्शिता भनेको प्रचार होइन, प्रमाण देखाउने इमानदारी हो । र ग्राहकमा सम्मान भनेको जनताको आवाजलाई सुन्ने संस्कार हो— जसले लोकतन्त्रलाई प्राण दिन्छ ।

जब यी चार सूत्र एकसाथ प्रज्वलित हुन्छन्, तब राजनीति उद्योग होइन, संस्कार बन्छ । त्यो समय राजनीतिले लाभ होइन, विश्वास बेच्न थाल्छ; सत्ता होइन, सेवा वितरण गर्छ ।

अन्ततः सत्यमा उभिएको राजनीति नै स्थायी उद्योग हो । यसको नाफा विश्वास हो र यसको पूँजी जनताको भरोसा ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.