भक्तपुर । गीतकार राजेन्द्र चित्रकारको गीतसंग्रह ‘एक सय एक गीत’ एक समारोहका बीच भक्तपुरमा सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाजको आयोजनामा सम्पन्न कार्यक्रममा कलाकार मदन चित्रकार,संगीतकार बुलु मुकारुङ्ग, फ्रान्सेली प्राध्यापक प्याट्रिस लेकक, साहित्यकार ध्रुव मधिकर्मी र स्रष्टा स्वयं राजेन्द्र चित्रकारले संयुक्त रूपमा कृति विमोचन गर्नुभयो ।
विमोचनपछि कृतिमाथि बोल्दै साहित्यकार ध्रुव मधिकर्मीले गीत सुन्ने माध्यम मात्र नभई शब्दमार्फत पढेर पनि अनुभूत गर्न सकिने विधा भएको उल्लेख गर्नुभयो। उहाँले संग्रहमा देशप्रेम, विश्वशान्ति, वातावरणीय चेतना, मायाप्रेम र जीवनबोधजस्ता विषय सरल रूपमा प्रस्तुत भएकाले पाठकमा सहज रूपमा सम्प्रेषण हुने धारणा व्यक्त गर्नुभयो ।
संगीतकार बुलु मुकारुङ्गले गीतमा स्रष्टाको स्वतन्त्रता रहने बताउँदै मानव जीवनका विविध अनुभूति—खुसी, दुःख, करुणा, हाँसो तथा सामाजिक र प्राकृतिक परिवेशलाई समेट्न सक्नु नै गीतकारको सफलता भएको बताउनुभयो ।
त्यस्तै कलाकार मदन चित्रकारले गीतमार्फत मानवीय संवेदना अभिव्यक्त गर्न सकिने भएकाले यस संग्रहका गीतहरू सबैले रुचाउने विश्वास व्यक्त गर्नुभयो ।
स्रष्टा राजेन्द्र चित्रकारले आफ्नो सिर्जनात्मक यात्रा गायन र सङ्गीत संयोजनबाट सुरु भए पनि हाल लेखनमै केन्द्रित रहेको बताउँदै गीत विधा आफूलाई अभिव्यक्त गर्न सहज माध्यम भएको उल्लेख गर्नुभयो ।
फ्रान्सेली प्राध्यापक प्याट्रिस लेककले आफू नेपालसँग निरन्तर जोडिँदै आएको उल्लेख गर्दै चित्रकारसँगको चार दशक लामो मित्रताको अनुभव साझा गर्नुभयो ।
सिर्जना अभियान समाजबाट प्रकाशित उक्त संग्रहमा राष्ट्रियता, प्रकृतिप्रेम, वातावरणीय चेतना, शान्तिको कामना, जीवनबोध र मायाप्रेमजस्ता विविध विषय समेटिएका एक सय एक गीत समावेश छन् ।

