दोहा (कतार) । नेपाली गजल गायनका चर्चित गायक राज सिग्देल कतार आइपुग्नु भएकाे छ । उहाँको आगमनको अवसरमा कतारमा रहेका साहित्यप्रेमीहरूले मुम्तजा पार्कमा चियापान कार्यक्रम आयोजना गरी स्वागत गर्नुभएकाे छ ।
गायक सिग्देलको उपस्थितिमा आगामी १७ तारिख कतारको प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा नवोदित साहित्यिक वाचनालय, कतारको १८औँ अधिवेशन, गायक सिग्देलको एकल गजल गायन साँझ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतारको १७१औँ डबली संयुक्त रूपमा आयोजना गरिने भएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसर पारेर आयोजना हुन लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको नवोदित साहित्यिक वाचनालय, कतारका अध्यक्ष शोभाराम ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गायक सिग्देलको एकल गजल गायन कार्यक्रम सशुल्क हुनेछ । कार्यक्रममा कतारमा रहेका नेपाली साहित्य, सङ्गीत तथा गजलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ ।

