साहित्यपोस्ट डट कम

राज लम्साल ‘यात्री’को गजलसङ्ग्रह ‘यात्री’माथि विमर्श

राज लम्साल ‘यात्री’को गजलसङ्ग्रह ‘यात्री’माथि विमर्श

मोरङ । गजलकार राज लम्साल ‘यात्री’को गजलसङ्ग्रह ‘यात्री’माथि विमर्श गरिएको छ ।

कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा सुन्दरहरैँचा–८, सलकपुरस्थित सभाहलमा आयोजित कार्यक्रममा कृतिमाथि विमर्श गरिएको हो । प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज स्रष्टा हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा आख्यानकार छवि वैरागी घिमिरे, स्वर सङ्गम सङ्गीतालय विराटनगरका प्रमुख कुशेश्वर राई, कृतिकारकी आमा जीवकुमारी लम्साल, ब्राइट फ्युचर सेकेन्डरी स्कूलका सञ्चालक कृष्ण ढकाल तथा सहायक प्रिन्सिपल मनोज पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेल, विराट साहित्य समाजका अध्यक्ष विदुर सुवेदी, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, सङ्गीत साधना प्रतिष्ठान इटहरीका सचिव राजु केसी, सगरमाथा साहित्य प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष मिश्रा गुरुङ तथा सप्तक कला केन्द्र सलकपुरका अध्यक्ष देवराज ढकाललगायतको सहभागिता थियो ।

रङ्गेली साहित्य कला समाज मोरङका अध्यक्ष चिरञ्जीवी काफ्लेले कृतिकारको परिचय प्रस्तुत गर्नुभएको थियो । कृतिमाथि विमर्श गर्दै कवि तथा आख्यानकार छवि वैरागी घिमिरेले ‘यात्री’का गजल विविध विषयवस्तुमा आधारित र भावका दृष्टिले प्रभावशाली रहेको बताउनुभयो ।

प्रमुख अतिथि पोखरेलले गजलकार यात्रीका गजल समसामयिक विषयसँग जोडिएका रहेको उल्लेख गर्नुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठान तथा विराटनगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका उहाँले गजलमा बहर मात्र पर्याप्त नहुने भन्दै भाव र शिल्प दुवै पक्ष सुदृढ हुनुपर्ने धारणा राख्नुभयो ।

परिषद्का अध्यक्ष केशु विरहीले स्रष्टा देश–विदेशमा परिचित भए पनि आफ्नै गाउँठाउँमा ओझेलमा पर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै गजलकार यात्रीलाई आफ्नै माटोमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा राज लम्साल ‘यात्री’, भूमा अधिकारी, सुनिल अधिकारी, अस्मित धमला र समीक्षा दाहालले कृतिभित्रका पाँच गजल साङ्गीतिक रूपमा प्रस्तुत गर्नुभएको थियो । मिश्रा गुरुङ, मुना आत्रेय, रमेश निरौला र हरि पराजुलीले कृतिबाट एक–एक गजल वाचन गर्नुभएको थियो ।

सुन्दरहरैँचा–८, सलकपुर निवासी यात्री गीत र गजल विधामा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ । साहित्यपोस्ट, कोसी साहित्य–कला परिषद् नेपाल तथा सगरमाथा साहित्य प्रतिष्ठानलगायत संस्थामा आबद्ध उहाँको यो पहिलो एकल कृति हो । यसअघि उहाँका विभिन्न संयुक्त कृति प्रकाशित भइसकेका छन् । गजलसङ्ग्रह ‘यात्री’ साहित्यपोस्टले प्रकाशन गरेको हो ।

परिषद्की उपाध्यक्ष विष्णु भण्डारी आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन परिषद्का सचिव नवराज पोखरेल ‘नवशिला’ले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.