साहित्यपोस्ट डट कम

रैथाने सुवास र साधनाको क्षितिज ‘रातसँगै पलाएको सपना’

रैथाने सुवास र साधनाको क्षितिज ‘रातसँगै पलाएको सपना’

एकातिर मुट्ठीभर मानिसहरूले देश लुटेर विलासी जीवन बिताइरहँदा अर्कातिर सोझा र श्रमजीवी सन्तानहरू अरबको तेलखानीमा प्यासले भौँतारिनु परेको वा भारत र ब्रिटेनमा बेचिन विवश हुनुपरेको कारुणिक दृश्यले वर्तमान नेपाली समाजको तीतो र विकराल परिस्थितिलाई छर्लङ्ग पार्छ ।

====

शिक्षण पेसामा आबद्ध भइ हाल शिवशताक्षी, झापालाई आफ्नो कर्मथलो र बसोबास बनाएका कवि हाङओजा थेगिम नेपाली कविता जगतका एक अथक साधक हुन् । वि.सं. २०४६ सालमा पहिलो पटक पत्रिकामा ‘जिन्दगी आफैँमा टोलाइसकेको छ’ शीर्षकको कविता प्रकाशित गरी आफ्नो साहित्यिक यात्रा शुरू गरेका थेगिमले लामो समयसम्म विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू प्रस्तुत गरिरहे । अनेकौँ साहित्यिक व्यक्तित्वहरूसँगको सङ्गत, राजनीतिका अनेकन् उतारचढावहरूको प्रत्यक्ष भोगाइ र आफ्नो रैथाने सांस्कृतिक जीवनको गहिरो अध्ययन पश्चात् मात्र उनको पहिलो कृतिका रूपमा ‘रातसँगै पलाएको सपना’ कविता सङ्ग्रह पाठकमाझ आएको छ । ६० वर्षको उमेर पार गरिसकेपछि बुढ्यौलीको सँघारमा आएको २६ थान कविताहरूको यो सङ्ग्रह कुनै एकै समयको लहड नभएर कविको लामो समयको इच्छाशक्ति, निरन्तरता र साधनाको परिपक्व प्रतिफल हो ।

यो सङ्ग्रह बाहिर ल्याउनु अगाडि उनले भानुभक्तको रामायण, मोतीरामका गजल, लक्ष्मीप्रसाद देवकोटाका स्वच्छन्दतावादी कृति र लेखनाथ पौड्यालका परिष्कृत कविताहरूका साथै नेपाली कविताको विकास क्रममा देखा परेका वीर धारा, शृङ्गारिक धारा, स्वच्छन्दतावाद, छायावाद, तेस्रो आयाम, सृजनशील अराजकतादेखि उत्तर आधुनिकतावादसम्मका विविध साहित्यिक आन्दोलन र वैचारिक शृङ्खलाहरूको गहन अध्ययन गरेका छन् । यहीँ अगाध अध्ययनका कारण निकै खारिएका देखिने कविका कविताहरूमा नयाँ चिन्तन, सशक्त तर्क, युगीन आक्रोश र प्रेमको मधुरताभित्र लुकेको विद्रोह कलात्मक रूपमा बुनिएका छन् ।

कवि थेगिमका कविताहरूमा जीवनका गहिरा चोट, पीडा, आशा, भरोसा र आधुनिक समयको सन्त्रासलाई अनुभूत गर्दै कठिन मार्गहरूमा लड्दै-उठ्दै जगतको नियति बदल्ने चेत पाइन्छ । उनले आफ्ना कवितामा आत्मसम्बोधन र गहिरो आत्मबोधलाई मुखरित गरेका छन् । मानिसले आफूलाई जतिसुकै ठूलो, सानो, विद्वान्, बुद्ध, महान् वा तुच्छ ठाने पनि आखिर ऊ प्रकृतिको एउटा सामान्य अंश मात्र हो भन्ने कटु सत्यलाई उनले बडो सरल ढङ्गले प्रस्तुत गरेका छन्:

‘आखिर तिमी त

एक चिम्टी माटो र एक मुठी हावा न हौ

कुनै एउटा बस्तीबाट

एकदिन बजार निस्केका दर्शक न हौ’

यो अंशले मानिसको अहङ्कार, नश्वरता र क्षणभङ्गुर जीवनको यथार्थलाई एकदमै सरल रूपमा सटिक प्रहार गरेको छ ।

त्यस्तै, सडकको पृष्ठभूमिमा बुनिएको कवितामा कविले निर्दोष नानीहरूको क्रियाकलाप र आन्दोलनको विम्बमार्फत उनीहरूको कलिलो मस्तिष्कलाई सही दिशा दिनुपर्ने गम्भीर आवश्यकता औंल्याएका छन् । प्रौढहरूको समाजले सिर्जना गरेको कोलाहलका बीच पनि नानीहरूको भविष्यप्रति चिन्तित हुँदै कवि लेख्छन्:

‘नाची नाची रमाइरहेका थिए

आखिर उनीहरू नानी न हुन्

कलिलो मस्तिष्कमा मुनाहरू रोप्नुपर्छ।’

त्यसरी नै ‘साँध मिच्दै, सङ्घार कुल्चँदै’ कवितामा मातृभूमिलाई ‘आमा’को रूपमा सम्बोधन गर्दै देशको वर्तमान दुरावस्थाप्रति गहिरो चिन्ता र आक्रोश व्यक्त गरिएको छ । देशमा मौलाएको भ्रष्टाचार, तस्करी र मातृभूमिलाई नै बन्धक राखेर स्वदेशको पैसा विदेशी बैङ्कमा थुपार्ने अनैतिक प्रवृत्तिको उजागर गर्दै कवितामा भनिएको छ:

‘आमा !

तर आज घरमा शान्ति छैन ।

अर्कातिर तिम्रा सन्तानहरू

रातारात भ्रष्टाचार र तस्करी गरिरहेका छन्

शोषण र दमनको दलदलमा जर्जर छन्

तिमीलाई समेत बन्धक राखेर

स्वदेशमा नअटाएका पैसाहरू

विदेशी बैङ्कमा जम्मा गरिरहेका छन् ।’

एकातिर मुठ्ठीभर मानिसहरूले देश लुटेर विलासी जीवन बिताइरहँदा अर्कातिर सोझा र श्रमजीवी सन्तानहरू अरबको तेलखानीमा प्यासले भौँतारिनु परेको वा भारत र ब्रिटेनमा बेचिन विवश हुनुपरेको कारुणिक दृश्यले वर्तमान नेपाली समाजको तीतो र विकराल परिस्थितिलाई छर्लङ्ग पार्छ । समग्रमा यो कविताले राष्ट्रियताको रक्षा र सामाजिक न्यायको वकालत गर्दछ ।

यसका साथै, कविले कला र साहित्यको क्षेत्रमा मौलाउँदै गएको बजारवाद तथा पुरस्कारको होडबाजीमाथि ‘कविताको मूल्य’ मार्फत कडा प्रहार गरेका छन् । उत्सवका नाममा सिर्जनाको कृत्रिम मूल्याङ्कन गर्ने निर्णायकमाथि प्रश्न उठाउँदै कविता भन्छ:

‘एउटा कविले अर्का कविलाई सोध्यो,–

‘महोदय, एउटा कविताको मूल्य कति हुन्छ ?’

प्रश्न विभ्रान्तिएर गयो उत्तर खोज्न

बोल बडाबडको ठिक्का थिएन यो

त्यसैले..

प्रश्न निरूत्तर भएर फर्कियो ।’

आधुनिक डिजिटल युगको ‘एल्गोरिदम’ र नयाँ पुस्ता (जेन्जी) को परिवेशमा उभिएर पनि कविले आफ्नो मुटुको स्पन्दनभित्र आमाको नासो, बुबाको भरोसा, पत्नीको प्रेम र छोराछोरीको भविष्य जस्ता विशुद्ध मानवीय संवेदनाहरूलाई बचाएर राखेका छन् । बाह्य संसारमा युद्ध र मिसाइलहरूको होडबाजी चलिरहे तापनि सिसिफसले जस्तै दुःख झेलेर भए पनि मान्छे हुनुको धर्म बचाउनुपर्ने उनको मत छ:

‘सबैभन्दा पहिले त आफू मान्छे भएर बाँच्नुपर्छ

भनौँ, एउटा सिसिफस जस्तै

वनस्पति, जीव अर्थात् भूगोल

क्षितिज फेरिँदै जान्छ

दुरीहरू टाढा छन् टुङ्गिँदैनन्

क्षेप्यास्त्रहरू प्रक्षेपण हुन्छ

मिसाइलहरूको भट्टी छ त्यो रोकिँदैन ।’

त्यस्तै, ‘आवाजको खोजी’ कवितामा कविले चौतर्फी मृत्यु र विनाशको त्रासका बीचमा पनि विचलित नभई सत्य, न्याय र मानवीय संवेदनाको असली आवाज पहिचान गर्नुपर्ने बलियो सन्देश दिएका छन्:

‘यो आवाजै आवाजको घरमा

छानाबाट मिसाइलस्को आवाजले

निरपराध मलाई मृत्युको सङ्केत दिइरहेको छ

तर म निडर छु

कारण मैले एउटा आवाज खोज्नु परेको छ ।’

‘याङनाम लाजे’ कविता सङ्ग्रहकै सबैभन्दा कसिलो र रैथाने सुवास बोकेको रचना हो । संस्कृतको प्रसिद्ध श्लोक ‘जननी जन्मभूमि स्वर्गादपि गरीयसी’लाई आत्मसात् गर्दै कविले आफ्नो सालनाल (पेही) गाडिएको याङनामको माटोप्रति अगाध प्रेम देखाएका छन् । बाल्यकालमा खलडगाटार, लुचोक्थोबा जस्ता ठाउँमा खेलिएका रैथाने खेलहरूको स्मरण गर्दै उनी लेख्छन्:

‘जन्मदिने आमा जन्मेको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ

यही गर्वकासाथ हामी बाँचिरहेका छौँ

त्यस दिन जन्मने बित्तिकै आमाको गर्भबाट

मेरो सालनाल काटेर

यही लाजेमा मेरो पेही गाडेको थियो

यो माटोको माया मुटुमा बोकेर बाँच्ने

म यहाँको लाजेसा ।’

यो कवितामा याङनामको ऐतिहासिक, पौराणिक र लिम्बू मुन्धुमी विरासतलाई मिहिन ढङ्गले केलाइएको छ । ‘मयलडिङ खयलडिङ’, ‘साफाबुङ साहिंला’, ‘मुजिड्ना खाजिड्ना’ जस्ता रैथाने मिथक र पुराना लडाइँका कथाहरूले यसलाई जीवन्त बनाएका छन् । त्यहाँका मानिसहरूले गर्ने परम्परागत पूजाहरू, ‘माङ्गेना’ (शिर उठाउने) संस्कृति, र थलोका रैथाने विम्बहरूले कवितालाई सांस्कृतिक रूपमा निकै ओजिलो बनाएका छन् ।

कवि हाङओजा थेगिमको भाषा कतै अत्यन्तै सरल र संवादात्मक छ भने कतै मुन्धुमी गम्भीरताले भरिएको छ । कवितालाई मौलिक स्वाद दिन उनले लिम्बू भाषाका रैथाने शब्द र विम्बहरू प्रचुर मात्रामा प्रयोग गरेका छन् । तर, यसको एउटा सीमा के देखिन्छ भने, आम नेपाली वा गैर-लिम्बू पाठकहरूलाई ती विशिष्ट सांस्कृतिक शब्दहरूको अर्थ बुझ्न कतिपय ठाउँमा केही कठिनाइ हुन सक्छ । यद्यपि, यसले नेपाली कवितामा स्थानीय रङ र बहुसांस्कृतिक आयामलाई भने थप समृद्ध बनाएको छ ।

कविता पढ्दै जाँदा कतिपय कविताहरू निकै लम्बिएको जस्तो पनि लाग्दछ । अलि बढी नै लेखनको तानाबानामा रुमलिएको जस्तो पनि लाग्दछ । एउटै विषयवस्तुलाई धेरै शब्दहरूले पुष्टि गर्न खोजेर कविताको आयतन अलिक बढेको जस्तो महसुस पनि हुन्छ ।

समग्रमा, ‘रातसँगै पलाएको सपना’ कवितासंग्रह छ दशक पार गरिसकेका प्रौढ कविको भोगाइ, बुझाइप्रतिको स्पष्ट दृष्टिकोण र उनले जीवनभर आर्जन गरेको ज्ञानको उच्चतम सदुपयोग हो । नयाँ पुस्ताका कविता लेखकहरूका निम्ति यो कृति एउटा बलियो प्रेरणाको स्रोत बन्न सक्छ कि- साहित्य लेखनमा हतार होइन, साधना र धैर्यताको आवश्यकता पर्दछ । आफ्नो सांस्कृतिक धरातललाई नबिर्सिई समकालीन विश्व र समाजलाई कवितामा उतार्न सफल कवि हाङओजा थेगिमको यो आगमन सुखद र सार्थक छ । यस कृतिका लागि कविलाई हार्दिक बधाई तथा अगामी काव्यिक यात्राको शुभकामना !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.