वरिष्ठ कलाकार प्रा. राधेश्याम मुल्मीलाई आफ्नै जन्मथलो पोखरामा पोखरेली युवा सांस्कृतिक परिवारले २०८१ साल माघ ५ शनिवार ‘ललितकला पुरस्कार’ बाट सम्मानित गर्दा उहाँसँगै उहाँका मजस्तो शुभचिन्तकलाई पनि अपार खुसी लाग्नु स्वाभाविक थियो । गएको चैत्र २८ गते शनिवार पनि उहाँको जीवनमा अर्को खुसीको उत्सव छायो ।
मुल्मीको तेस्रो एकल चित्रकला प्रदर्शनी ‘प्रतिविम्ब’ को शुभारम्भ असीदेखि नब्बे उकालो उमेरका वरिष्ठ कलाकारबाट भएको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल व्यावसायिक कलाकार सङ्घको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको उद्घाटन वरिष्ठ कलाकारहरू क्रोधकला शिरोमणि कालु कुमाले, कृष्णगोपाल रञ्जित, हरिप्रसाद शर्मा, शशिविक्रम शाह, के.के. कर्माचार्य, किरण मानन्धरलगायतले गर्नुभयो ।
सो अवसरमा कलाकार तथा प्रा. मुल्मीका कलासाधना झल्काउने वृत्तचित्रसमेत प्रदर्शनी गरिएको थियो । साहित्यकार एवं पत्रकार जीवनाथ धमलाको निर्माण र शिव पङ्गेनीको छायाङ्कनमा निर्माण गरिएको सो वृत्तचित्रमा कलाकार मुल्मीको बाल्यकाल, अध्ययन, अध्यापन र हालसम्मका कलाकर्म साथै उहाँको कलाबारे विज्ञहरूको धारणासमेत समेटिएको देखाइएको थियो ।
प्रथमतः वरिष्ठ कलाकार मुल्मीका कलामा अनेक अनुभूतिहरूको मिठास सौन्दर्यमय भावहरूसँगै महसुस गर्न सकिन्छ । एउटा चरा, माछा, गणेश, मान्छे आदि छ भने त्यसमै अनेकौँ आकार–प्रकारका तिनै वस्तुलाई समावेश गरी कलात्मक रूपहरू त्यसमा उतार्नुहुन्छ ।
यसरी उहाँका प्रत्येक क्यानभासमा जीवन लयात्मक, गतिशील र तरङ्गित छ भन्ने सन्देश कलाकार मुल्मीका कलाकृतिले प्रेषित गर्दै आएका छन् । उहाँका प्रत्येक चित्रका स्वरूप अत्यन्त सरल र कलात्मक प्रवाहमा प्रकट भएका हुन्छन् ।
कलाकार मुल्मीको जन्म २००६ सालमा पोखराको रामकृष्णटोल (सिंहनादटोल) मा भएको हो । उहाँका बुबाआमा सूर्यमान मुल्मी र विष्णुमाया मुल्मी हुनुहुन्छ ।
आफ्नो कलायात्रा कसरी प्रारम्भ भयो भन्ने सन्दर्भमा उहाँ बताउनुहुन्छ– “सानैदेखि म चुरोटबट्टाको भित्री भागमा फूल, चरा आदि बनाएर अरूलाई बाँड्थँे । २०२५ सालमा एसएलसी उत्तीर्ण गरी ललितकला महाविद्यालयमा भर्ना भएँ । त्यहाँ परीक्षा दिनेमा हामी चार जना (सुधीर कार्की, शारदामान श्रेष्ठ र उज्ज्वलकुन्दन ज्यापू) थियाँै । आज पाँच सयभन्दा बढी विद्यार्थीहरू ललितकला क्याम्पसमा पढ्छन् । यसबाहेक अरू पनि कलेज खुलेका छन् । २०२९ सालमा पाकिस्तानको लाहोरस्थित पन्जाब विश्वविद्यालयमा भर्ना भई २०३५ सालमा एमएफए गरी नेपाल फर्केँ ।”
राधेश्याम मुल्मीको विवाह २०३६ सालमा गोरखाकी राममाया श्रेष्ठसँग भएको हो । राममाया मुल्मीले पनि ललितकला क्याम्पसमा अध्ययन गर्नुभएको थियो ।
कलाकार मुल्मी सिर्जना, अध्यापन र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । कलाकार मुल्मी इमानदारितापूर्वक कलाकर्ममा मग्न रहने गर्नुहुन्छ । उहाँ हल्लाखल्लाको पछि लाग्नुहुन्न । काममा समर्पित भएर लाग्नुमै आफूलाई सन्तुष्टि प्राप्त हुने उहाँ बताउनुहुन्छ । कोही पनि मानिस भनाइ र गराइमा प्रतिबद्ध हुनुपर्छ भन्ने उहाँको मान्यता रहिआएको छ ।
२०६४ सालमा नेपाल आर्ट काउन्सिल ग्यालरी, बबरमहलमा भएको पहिलो एकल कलाप्रदर्शनीमार्पmत उहाँले आफ्ना कलाकृतिहरूको सङ्ग्रहलाई सार्वजनिक गर्नुभयो । निकै वर्षको तयारी र लामो समयको पर्खाइपश्चात् उहाँको ‘लयात्मक गति’ शीर्षकको सो प्रदर्शनीले उहाँको कलाकार व्यक्तित्वलाई स्थापित गरिदिएको थियो । त्यसो त एक कलाकारका रूपमा चार दशक अगाडिदेखि नै उहाँले आफ्नो स्पष्ट पहिचान बनाउँदै आउनुभएकोे हो ।
कला प्रकृति र समाजकै प्रतिविम्ब हुन् । यसले हाम्रो मनमा परेका छाप कलामार्फत प्रस्तुत हुने गर्छ । उहाँका कला पनि त्यसकै प्रतिविम्ब हो । प्रकृति, समय र समाजका प्रभावलाई उहाँले कलात्मक स्वरूप दिएर कलारचना गर्दै आउनुभएको छ ।
संवेदनशील, मृदुभाषी र सहृदयी स्वभावका कलाकर्मी राधेश्याम मुल्मीले आफ्नै मौलिक शैली निर्माण गरिसक्नुभएको छ । उहाँका कलामा माया र प्रेमका सद्भावहरू पाइन्छन् । सांस्कृतिक जीवन र जगत्का दर्शन र चिन्तनहरू पनि यथेष्ट पाइन्छन् । त्यस्तै कतै नृत्यमुद्रा, कतै बाद्ययन्त्रका ध्वनि जता र जहाँ पनि गतिशील तरङ्ग प्रवाहित गरिरहेको भेटिन्छ ।
उहाँको विचारमा कलासिर्जना गर्नु मात्रै ठुलो कुरा होइन । त्यसमा कतिको गहिराइ छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । रङ पोखाएर, कुनै अनौठो वस्तु प्रयोग गरेर वा केरेर पनि कलासिर्जना गर्न सकिन्छ तर त्यसमा आफ्नो समर्पण, मौलिकता र सौन्दर्य हुनु जरुरी हुने उहाँ बताउनुहुन्छ । कलामा इमानदारिताको खाँचो पर्ने कुरामा पनि उहाँ जोड दिनुहुन्छ ।
‘ॐ शान्ति’ मा आबद्ध हुनुभएपछि उहाँले बुझ्नुभएको प्रमुख कुरा ‘सबैमा समानता र प्रेमपूर्ण व्यवहार गर्नुपर्छ’ भन्ने मान्यता हो । पवित्रता, सुख, शान्ति, प्रेम र आनन्दको जननी भएको उहाँ बताउनुहुन्छ । आफ्ना कलारचनामा पनि यिनै भाव र विषयमा आफू केन्द्रित रहँदै आएको उहाँ बताउनुहुन्छ ।
मुल्मी कलाबारे आफ्नो धारणा यसरी पोख्नुहुन्छ– “कला भनेको सुन्दर तरिकाबाट भाव प्रकट गर्ने माध्यम हो । मेरो विचारमा कला शृङ्गारिक हुन्छ । कला विज्ञानको अभिन्न अङ्ग हो । वास्तवमा कला प्रकृतिकै प्रतिविम्ब हो भन्ने मलाई लाग्छ । कलाक्षेत्रमा लागेर धेरै कुरा मैले पाएको छु । आफ्ना चित्र धेरै घरका बैठकहरूमा सजिएका छन् । पत्रपत्रिकाका माध्यमबाट चिनारी, सबैको प्रेम आदिका साथै कलाप्रशिक्षण दिँदा प्रशिक्षार्थीको उत्साह–उमङ्ग देख्दा आफूलाई गर्व लाग्छ । कलाक्षेत्रमा लागेर मैले केही गुमाएको छु जस्तो मलाई लाग्दैन ।”
आफ्ना कलारचनाबारे उहाँ भन्नुहुन्छ– “जीवन सँगसँगै चल्ने प्रक्रिया हो कला । हाम्रो मनमा परेको छाप नै कलामार्फत प्रस्तुत हुने गर्छ । मेरो कलायात्रा फूल, चराचुरुङ्गीका चित्रलेखनबाट सुरु भएर देवीदेवता, मुहारचित्र, दृश्यचित्र, दैनिक जीवनका विषय हु“दै आज यसले ‘लयात्मक गति’ को रूप लिएको छ ।”
कलाकारहरूलाई उहाँ भाग्यमानी ठान्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “कलाकृतिलाई आदरका साथ अनन्तकालसम्म घरका बैठककोठा र म्युजियममा सजाएर राख्ने गरिन्छ । पुरानो हुँदै गएपछि अरूको मूल्य घट्दै जान्छ तर यसको भने मूल्य झन् बढ्दै जान्छ । कलाको मूल्यको कुनै सीमा हुँदैन । कृति कहिल्यै मर्दैन ।”
आफ्ना सिर्जनाबारे उहाँ बताउनुहुन्छ– “म समाजमा देखेका र घटेका समसामयिक कुराहरूलाई समेटेर चित्रसिर्जना गर्छु । कलामार्फत समाजलाई जागृत गर्ने प्रयास मेरो रहन्छ । शान्तिको आह्वान र समाजमा विद्यमान सकारात्मक कुरा तथा नकारात्मक कुरालाई पोख्नु मेरो कलासिर्जनाको मुख्य उद्देश्य रहिआएको छ ।”
कलामा मौलिकताका सम्बन्धमा उहाँ भन्नुहुन्छ– “हामीमा प्रायः अरूको नक्कल गर्ने प्रवृत्ति बढी पाइन्छ । कलाकारले आफ्नै शैलीको विकास गर्नुपर्छ । अनि मात्र मौलिक शैलीको जन्म हुन्छ । आफ्नो देशको प्रतिविम्ब कलामा हुनु आफ्नो गौरव हो । त्यही नै आफ्नो परिचय पनि हो । तर आज हामी पश्चिमा कलाकै पछि बढी लागेका छौँ । त्यसले आफ्नो मौलिकता र देशको पहिचान हराउने मेरो ठम्याइ रहेको छ ।”
आफ्नो कलायात्रालाई पछाडि फर्किएर हेर्दा आफूलाई कहाँ पाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ– “कलाप्रतिको मेरो व्यक्तिगत दृष्टिकोणमा पहिले र अहिले आकाश र जमिनको फरक आइसकेको अनुभव हुन्छ । पहिलापहिला म दुरुस्त र वास्तविक प्रतीत हुने चित्ररचना गर्न मन पराउँथेँ । सोझो पाराको अभिव्यक्तिमा नै सन्तुष्ट हुन्थेँ । अहिले कुनै नौलो शैलीमा सिर्जनात्मक प्रस्तुति दिन सकिएको अवस्थामा मात्र सन्तुष्टिको अनुभव हुन्छ ।”
उहाँले पाकिस्तानमा ग्राफिक डिजाइन अध्ययन गर्नुभएको थियो । स्वदेश फर्केपछि ललितकला क्याम्पसमा अध्यापन गर्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ– “त्यो बेला सोचेको थिएँ, ललितकला क्याम्पसमा ग्राफिक डिजाइनको छुट्टै विभाग खोलेर देशको सेवा गर्नेछु । तर त्यसो हुन नसकेकोमा दुःख लाग्छ । बल्ल अहिले आएर हामीकहाँ ‘ग्राफिक कम्युनिकेशन’ विषयको पनि अध्ययनअध्यापन हुन थालेको छ । मेरा लागि यो निकै खुसी र सन्तोषको कुरा हो ।”
२०६३ सालमै कलागुरु राधेश्याम मुल्मी विश्वविद्यालय सेवाबाट निवृत्त भइसक्नुभएको छ । तथापि उहाँले ज्ञान बाँड्ने कार्यलाई छाड्नुभएको छैन । हाल सिर्जना कलेज अफ फाइन आर्टस्मा प्राध्यापकका रूपमा ग्राफिक डिजाइन विषय अध्यापनमा उहाँले आफूलाई व्यस्त राख्नुभएको छ ।

