साहित्यपोस्ट डट कम

६६ वर्षमा ‘रचना’ : २०० औँ पूर्णाङ्क प्रकाशित

६६ वर्षमा ‘रचना’ : २०० औँ पूर्णाङ्क प्रकाशित

काठमाडौं । दुई महिने साहित्यिक पत्रिका ‘रचना’ले दुई सयौँ पूर्णाङ्क प्रकाशित गरेको छ । वैशाख–जेठ २०८३ अंकसँगै पत्रिकाले आफ्नो २०० औँ पूर्णाङ्क पूरा गरेको हो ।

वर्ष ६६, अंक १ तथा पूर्णाङ्क २०० का रूपमा प्रकाशित यस संस्करणका प्रधान सम्पादक तथा प्रकाशक रोचक घिमिरे रहनुभएको छ । पत्रिकाको प्रबन्धकमा सुधिर घिमिरे, सम्पादकमा प्रतीक घिमिरे तथा सह–सम्पादकमा कार्तिकेय घिमिरे रहनुभएको छ । रचनामा आवरण तथा लेआउट डिजाइनमा शंकर पौडेलको रहेको छ ।

पूर्णाङ्क २०० मा प्रह्लाद पोख्रेलका कविता तथा विष्णुप्रसाद शर्मा पराजुली, डा. अभि सुवेदी, प्रा. गोविन्दराज भट्टराई, कृष्ण प्रधान, रोचक घिमिरे र गोविन्द गिरी प्रेरणाका लेख–रचना समावेश गरिएका छन् । साथै पत्रिकाका पूर्व प्रकाशित अङ्कबाट चयन गरिएका महत्त्वपूर्ण २७ सिर्जना पनि समेटिएका छन् ।

पूर्णाङ्क २०० को लोकार्पण तथा भेटघाट कार्यक्रममा प्रधान सम्पादक रोचक घिमिरे, डा. तुलसी भट्टराई, डा. गोविन्दराज भट्टराई, भाषाविद् डा. शरच्चन्द्र वस्ती, शरद् प्रधानलगायत साहित्यकारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै रोचक घिमिरेले ‘रचना’ २०१८ सालदेखि प्रकाशन हुँदै आएको स्मरण गराउँदै ६६ वर्षको यात्रामा पत्रिकाले विशेषतः मोफसलका साहित्यकारलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले राष्ट्रियस्तरका पत्रपत्रिकामा स्थापित लेखकका रचना मात्र प्रकाशित हुने प्रवृत्ति रहेको समयमा ‘रचना’ले मोफसलका स्रष्टालाई अवसर दिने उद्देश्यसहित प्रकाशन शुरू गरेको उल्लेख गर्नुभयो ।

घिमिरेले प्रारम्भिक चरणमा ‘रचना’मा सिर्जना प्रकाशित गरी स्थापित भएका साहित्यकारहरूको योगदान स्मरण गर्दै पत्रिकाको दीर्घ यात्राका विभिन्न उतारचढावबारे पनि चर्चा गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.