साहित्यपोस्ट-नपढी सुखै छैन...

आर.बी. निश्चलको सातौँ काव्यकृति ‘ब्रह्माण्डको अन्त्य’ प्रकाशन हुँदै

आर.बी. निश्चलको सातौँ काव्यकृति ‘ब्रह्माण्डको अन्त्य’ प्रकाशन हुँदै

काठमाडौँ । कवि आर.बी. निश्चलको सातौँ काव्यकृति ‘ब्रह्माण्डको अन्त्य’ प्रकाशन हुने भएको छ । प्रकाशोन्मुख कृतिमा तीन खण्डमा विभाजित ७२ वटा कविता समेटिएको कविले जानकारी दिनुभएको छ ।

अस्तित्व, ब्रह्माण्ड, जीवन, समय र समाजप्रतिको दार्शनिक चिन्तनलाई केन्द्रमा राखेर लेखिएका कविताहरू समेटिएको यस कृतिलाई इम्प्रिन्टले प्रकाशन गर्न लागेको हो । प्रकाशकका अनुसार सङ्ग्रहमा कविको कल्पनाशीलता, अस्तित्वबोध र ब्रह्माण्डसम्बन्धी प्रश्नहरूको काव्यात्मक अन्वेषण प्रस्तुत गरिएको छ ।

प्रकाशक रमेश घोरासैनीका अनुसार कृतिले ‘ब्रह्माण्डको अन्त्य हुन्छ कि हुँदैन?’, ‘अन्त्यको अर्थ के हो ?’ र ‘अस्तित्वसँग त्यसको सम्बन्ध कस्तो छ ?’ जस्ता प्रश्नमाथि पाठकलाई विचार गर्न प्रेरित गर्छ ।

कृतिको ब्लर्बमा साहित्यकार राजकुमार बानियाँले ‘ब्रह्माण्डको अन्त्य’लाई समकालीन नेपाली कवितामा एउटा महत्त्वपूर्ण काव्यिक हस्तक्षेपका रूपमा टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार सङ्ग्रहका कविताले अन्त्यको घोषणा नगरी बरु अन्त्यको बोध, अस्तित्व र अर्थबीचको सम्बन्ध तथा मानवीय आत्मअन्वेषणलाई केन्द्रमा राख्दै पाठकभित्र नयाँ प्रश्नहरू जन्माउने प्रयत्न गरेका छन् ।

यसअघि निश्चलका ‘मौन हिमाल’, ‘सपनाफूल’, ‘आँसु खस्दै गर्छ’, ‘पैताला पुकार’, ‘किस्ताकिस्तामा जिन्दगी’ र ‘उल्टो धार’ काव्यकृति प्रकाशित भइसकेका छन् ।

प्रकाशकका अनुसार ‘ब्रह्माण्डको अन्त्य’ आगामी दशैँअघि बजारमा आउने तयारीमा रहेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.