तिलमिलाउँदै शान्तिहरू भागिरहेका छन् ।
मण्डपमा बुद्धको स्वागतार्थ
जङ्गबहादुरको टोप पहिर्याउने ऐलानले।
शालिकहरू सामूहिक आत्महत्याको तयारीमा लाम लागिरहेका छन् ।
आफ्नै रगतले उठाएको धरहराबाट
निस्केको धुवाँको उकुसमुकुस
धर्तीले थेग्न नसकेर ।
कालिदासहरू पुरानै बाटो हिँड्ने घोषणा गरिरहेका छन्
परिवर्तनको भ्रममा
कालिदासलाई फूलमाला बोकेर स्वागत गर्न बसेका
सुकरातहरूको नौनाडी गलेको छ
कालिदासको पुरानै रौव देख्दा ।
महासमरका यात्रीहरू
एकोहोरो सगरमाथाको शिखर हेरिरहेका छन् ।
हेर्दाहेर्दै तिनका दृश्यहरूको दुर्घटना हुन्छ
टुप्पोमा फहराइरहेका
खैरा झन्डाहरू देख्दा ।
सपनाहरू उदास पहाडमा पहिरो गएझैँ भएका छन् ।
लक्ष्यहरू धुमिल आकाशमा रुमल्लिएका छन् ।
रसाउन नसकेका अभागी पहरामा
आँसुहरू पनि
गायब भएका छन् ।


