तनहुँ । नेपालका मौलिक भाषा, लिपि र संस्कृतिहरू लोप हुने जोखिम बढिरहेका बेला तनहुँमा पुस्तान्तरणमार्फत तमु (गुरुङ) भाषा र संस्कृतिको संरक्षणका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।
व्यास नगरपालिका–१, विज्ञानचौर, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले आफ्नै आन्तरिक स्रोत–साधन परिचालन गरी सातदिने ‘तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण तालिम’ सञ्चालनमा ल्याएको हो ।
आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बर्द्धन एवं विकास समितिको आयोजनामा सुरु गरिएको तालिममा सहभागी प्रशिक्षार्थीहरूले प्रशिक्षणपछि आ–आफ्ना पालिका तथा समुदायमा पुगेर तमु भाषा र लिपि प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएका छन् ।
समितिका संयोजक ठाकुरबहादुर दरैले नयाँ पुस्तामा मौलिक पहिचान हस्तान्तरण गर्न र तमु भाषालाई जीवन्त राख्न यो तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । शनिबारदेखि क्याम्पसको तालिम कक्षमा सुरु भएको कार्यक्रमलाई भाषा र संस्कृतिको संरक्षणका लागि स्थानीय तहबाट थालिएको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
उहाँले नयाँ पुस्तामा मातृभाषा बोल्ने र लिपि लेख्ने संस्कार कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भाषा हराए समुदायको पहिचानसमेत संकटमा पर्ने बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्नु सामुदायिक क्याम्पसको सामाजिक दायित्व भएको उल्लेख गर्नुभयो । गत वर्ष मगर भाषा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको क्याम्पसले यस वर्ष गुरुङ भाषा तथा संस्कृतिको प्रवर्द्धनलाई प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सञ्चालक समितिका निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष श्रीराम कार्कीलगायत वक्ताहरूले भाषा संरक्षण अभियानमा समुदायको साझा सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएकाे थियाे ।

