‘पसिनाको सङ्गीत र जीवनको गीत’ (संवत् ०६३) र ‘एकलव्यको देब्रे हात’ (संवत् ०७७) जस्ता कविता संग्रहका स्रष्टा गिरि श्रीस नेपाली काव्य जगतमा सशक्त उपस्थिति जनाइसकेका कवि हुन् । संवत् ०७७ को उत्कृष्ट कृतिको सूचीमा (मदन पुरस्कार पुस्तकालय) समेत परेको ‘एकलव्यको देब्रे हात’ कविता संग्रहउपर, यस लेखोटमा संक्षिप्त रूपमा चर्चा गरिएको छ ।
सामूहिक श्रमलाई सहज बनाउन मानिसले शारीरिक चेष्टासहित वाणीको आविष्कार गर्यो । त्यही वाणीमा लय मिसिएपछि आदिम कविताको आविर्भाव भयो । क्रिस्टोफर कड्वेलका अनुसार आदिम समुदायको भौतिक आवश्यकताबाटै कविताको सहज उद्भव भएको हो । कालान्तरमा मन्त्रहरू लयमा उनिए । औषधी विज्ञानका ज्ञानअनुभवहरू लयमै उनिएर श्रुतिपरम्पराबाट पुस्ता दरपुस्ता हस्तान्तरित हुँदै गए ।
स्मृति–भण्डारण गर्ने क्षमता रहेकाले प्राक्कालीन पूर्वजहरूको ज्ञानप्रसारको माध्यम लय बन्यो । त्यसैबाट प्रवाहित विशिष्ट भाषिक अभिव्यक्ति समयान्तरमा सैद्धान्तिक रूपले नै कविताका नामबाट स्थापित भयो । यसरी लेख्यलिपिभन्दा जेठो र भाषिक कलाको उत्कृष्ट रूप कविता निरवच्छिन्न अस्तित्वमा छ । कालक्रममा लयका विविध बान्की र कायिक स्वरूप वरण गर्दै कविताले आफ्नो सत्तालाई अपराजेय बनाएर अगि बढिरहेको छ ।
कवितामा प्रेषण गर्न खोजिएको अन्तर्वस्तु मान्छेको आत्माजस्तै मूल तत्त्व भएर बसेको हुन्छ । आत्माविनाको मानव देह जतिसुकै सुन्दर भए पनि अर्थहीन हुन्छ भने रूपविना वस्तुले मूर्तता प्राप्त गर्दैन । रूपको कला भनेको सौन्दर्य हो र त्यो नै आकर्षणको कारण पनि । तर त्यो उपयोगी भएन भने वस्तुसौन्दर्यको मूल्यवत्ता कायम हुँदैन । पढ्दा वा सुन्दा विशेष कालीगडीले सुन्दर पारिएका र विचारले डोर्याउँदै अतिशय प्रभावित तुल्याउने भएकाले खासखास कविता जुगान्तरपछि पनि लोकप्रिय र कालजयी भएका हुन् । कलात्मक भाषिक सौन्दर्यका साथ भावनाको ज्वारमा सफल कविता विशिष्ट अन्तर्वस्तुयुक्त विश्वदृष्टिकोणलाई बोकेर हिँडिरहेको हुन्छ । अन्तर्वस्तु र रूपको यही एकतालाई दृष्टिगत गर्दै माओत्सेतुङले क्रान्तिकारी अन्तर्वस्तु र अधिक पूर्ण कलात्मक रूपको एकताबाटै मूल्यवान् कृतिको निर्माण हुने यथार्थ उल्लेख गरेका हुन् ।
कवि गिरि श्रीस मगरको बहुचर्चित कवितासंग्रह ‘एकलव्यको देब्रे हात’ नाममै विशेष अर्थपूर्ण छ । काव्यले देब्रे कुरा बोल्छ भन्ने यसै अनुमान गर्न सकिन्छ । देब्रे कुरा भनेको परम्परागत रूढ मान्यता वा चिन्तनसित बाझिने पृथक् मत हो । फ्रान्सेली राज्यक्रान्ति ताका परम्परागत सत्ता र पुरातनताका विरोधीहरू लेजिस्लेटिभ एसेम्बलीमा सभामुखको बायाँतर्फ बस्दथे । यहीँबाट वामपन्थ शब्दको शुरूवात भएको मानिन्छ ।
कविले मिथकीय पात्र एकलव्यलाई गुरुदक्षिणास्वरूप दाहिने हातको बुडिऔँला चढाउन बाध्य पारिएको घटनालाई नवीन आलोकमा स्मरण गरेका छन् । यिनको नूतन कल्पनाशीलताले हाम्रो रूढ विश्वासलाई खल्बल्याइदिएको छ । पढेका सबै शास्त्रमा एकलव्यले आफ्नो दाहिने बुडिऔँला गुरुदक्षिणाका लागि समर्पण गरेपछि हामीले उसको जीवन अर्थहीन भएको र ऊ निरुपाय भएको देख्यौं । सबैको सहानुभूति उसतर्फ ढल्केको पायौं । तर कविले उसमा दया र सहानुभूतिको पात्र होइन, एक शक्तिशाली र विद्रोही पात्र देखेका छन् । उसका लागि देब्रे हातले बाण चलाउन सक्ने विकल्पको खोजी गरेका छन् । दाहिने हातका चार औंलाले धनु समात्न लगाएका छन् । देब्रे हातका औंलामा तीर चढाइदिएका छन् । फरेब सत्तासँग लड्न उक्साएका छन् । परम्परागत सत्तालाई देब्रे कुनाबाट चुनौती दिइरहेका छन् ।
‘दाहिने हातका चार औँलाहरूले
चरप्प समातेर धनु भव्य,
द्रोणाचार्य–दीक्षाको ठीक विपरीत
देब्रे हातले
ताँदोमा तीर तानिरहेछ
किराँतपुत्र एकलव्य !’
इतिहासको एउटा कालखण्डमा आदिवासीका हाङ (राज्य)मा निशाचरजस्तो शासकीय शक्तिले प्रवेश गरेपछि तिनलाई आफ्नै माटोमा शरणार्थी बनाएर गरिएको शोषणप्रति कवितामा मौन विद्रोह छ । गौरवको अतीतमोह खोसिनुमा एकैसाथ मौन पीडाबोध र आक्रोश छ । त्यो मौनतालाई शासकहरूले युगौंदेखि निरुपाय मौनता ठानिरहका छन् । तर त्यो मौनताले विस्फोटको रूप लिने चेताउनी कविताले दिएको छ । आदिवासी स्वशासनको सत्ता बलात् लुटेर पुराणदेखि मनुसम्मका जाली विधानबाट तिनलाई प्रताडित गरी भाडाका सिपाही बनाएर विदेशमा बेचिरहेको विभेदकारी विधानका विरुद्ध कृतिमा कविहुङ्कार प्रकट भएको छ ।
‘जहाँ मेरो बाटो सकिएको ठान्छ शासक
त्यहींबाट–
खुल्छ मेरो अवरुद्ध व्रज !
त्यहींबाट–
सुरु हुन्छ मेरो यात्रा
त्यहींबाट–
सकिन्छ मेरो मौन व्रत !!’
शरीरभन्दा गह्रुँगा भारी बोकेर डाँडाकाँडा छिचोल्ने गरीबका चर्चरी फुटेका पैतालाको अभिलेख न इतिहासमा उल्लेख छ न कसैका घोषणा पत्रमा । यिनैलाई प्रयोग गरेर हुने विद्रोहहरू कथित नेतृत्वलाई सत्तामा पुर्याउने भर्याङ मात्र बनेका छन् । नयाँ जीवनको खोजमा निस्किँदा यिनका घुँडामा व्यवस्थाका घनहरू बज्रेका, जोर्नीहरू फुस्काइएका, भोकका घाउ आन्द्रामा बल्झेका कथा व्यथा कुनै संविधानमा लेखिएन । तर पनि पिँधका मान्छेले नयाँ जीवनको सपना देख्न भने नछाडेको र त्यसले कुनै दिन मूर्त रूप लिने रूपमा विश्वास कवितामा व्यक्त भएको छ ।
‘चीत्कार र विद्रोही बोलीहरूले
गीत र गालीहरूले
बहिर्गमन–बल गर्दा कोतरेका घाउहरू
अझै छन् रुद्रघण्टीमा,
अझै छ गहमा रुन बाँकी आँसु !
अझै छन् सपनाको खरानीमा छोपिएका भुङ्ग्रा !!
लेखिएको छैन यो कुरा कुनै दस्तावेजमा
न लेखिने छ कुनै कम्युनिष्ट मेनिफेस्टोमा ।’
संसारभरि बहुराष्ट्रिय निगमका साम्राज्य फैलँदो छ । निजीकरण र खुल्ला बजारको नियन्त्रणमा रहेका व्यापारमा हरितन्नम नागरिकका भोकशमन गर्ने सपनाहरू होर्डिङ बोर्डका छायामा हराएका छन् । जतिजति होर्डिङ बोर्डहरू अकासिएका छन् निम्नवर्गको जीवन झन्झन् धसिँदै गएको छ । भूमण्डलीकरणका नाममा पसेको बजारले गरीब राष्ट्रका उत्पादनलाई कौडीको भाउमा लुटिरहेको छ । अनावश्यक वस्तुका अम्मली बनाएर तिनको रैथाने बजारलाई विस्थापित गर्दै आयातमुखी बजारमा आश्रित बनाउँदै गएको छ । यस्तो बजारमाथि कवि तीक्ष्ण व्यंग्य र निमुखाहरूका विद्रोहको संकेत गर्दछन् ।
मुलुकले शासन व्यवस्था फेरिएपछि पिँध मान्छेका अनुहारमा मुस्कान फर्किएला, असमानताका रेखाहरू मेटिँदै जालान्, सामाजिक न्यायको संस्कार बस्ला र बारम्बार अस्वीकृत शासकहरूका कुटिल र दम्भी नङ्ग्राहरूले देशको अस्मिता नचिथोरिएला भन्ने विश्वासहरू थिए । विडम्बना ! शासकहरू फेरिए तर तीभित्र आसीन दुष्ट स्वभाव फेरिएन । कवितामा पौराणिक मिथ अगि सारेर युधिष्ठिरको जुवाडेपन नसकिएको, भीमको अभिमान नघटेको र अर्जुनको दोधारे चरित्र नफेरिएका कारण शकुनि र कौरवहरूको अट्टहासमा पाञ्चालीको चीरहरण भइरहेको गणतान्त्रिक मुलुकको तस्वीर उतारिएको छ ।
साधारण मानिस भाडाको सिपाही भएर अर्काको साँधसिमानाका लागि मरिरहेछन् । मुग्लानमा रचनात्मक ऊर्जा सडाइरहेछन् । मालिकका सम्पत्तिको रखबारी गर्दागर्दै झन्झन् गरीबीले हरितन्नम भइरहेछन् । यो शृङ्खला शताब्दियौँदेखि अनवरत चलिरहेको छ तर श्रमिकहरूको जीवनले सुखस्पर्शको छेकछन्द भेटेको छैन । धितो राखेर निकालिएका ऋणले तिनका जायजेथा नै हडपेको छ । हावाजहाजले दिनहुँ लासका बाकस ओरालिरहेको छ । फर्की आएको दुखियाका झोलामा निराशाको अन्धकार मात्रै भेटिन्छ । यसैगरी तकदिरको खेल भनेर सडिरहने वा तकदिर बदल्न स्वदेशमै फर्केर तकदिर लेखिदिनेहरूका विरुद्ध लड्ने, विकल्प अगि सारेर कविताले दुखिया परदेशीसँग प्रश्न तेर्स्याएको छ ।
संग्रहका कविताहरूले समाजमा व्याप्त बग्रेल्ती विसंगतिहरूलाई खोतलेका छन् । प्रोफेसर दलीय अड्डा चहारिरहेको भेटिन्छ । पत्रकार तस्करहरूसँग खुसामदी गरिरहेको हुन्छ । अपराधीसँग प्रहरीको गठजोड कसिइरहेको हुन्छ । नागरजीवनको कथित सभ्यतामा मानिसको अस्मिता सपिङ मलको वस्तुका रूपमा बिक्री भइरहेको छ । निम्छरो बनाइएका तथाकथित तल्लो जातिले विभेद र अपमान भोगिरहेकै छन् । कवितामा दमित वर्गको छटपटी छरपस्ट छ । भूमण्डलीकरणले भित्र्याएको विकासे बतासले मुलुकको मौलिक संस्कृतिलाई क्षतविक्षत पारेको दर्दनाक दृश्य छ । विस्तारवादीका पाइलालाई रोक्न कविताले सिमानामा पर्खालको आवश्यकता बोध गरेको छ ।
कवितामा प्रकृतिप्रति गहिरो श्रद्धा भेटिन्छ । प्रकृतिका ताताचिसा अवस्था होउन् वा महाप्रलयका घटना तिनलाई पृथ्वीका नियमका रूपमा स्वीकार गरिएको छ । आमा नहुनुको पीडा एउटा सन्तानमाथि कति हृदयविदारक हुन्छ, त्यसको जीवन्त तस्वीर उतारिएको छ । स्थापित शहरमा मात्रै हुने गरेको विकासको केन्द्रीकरण र मुलुकका अन्य ठाउँमाथिको विभेदप्रति संग्रहमा तीव्र रोष छ । मान्छेलाई माग्ने बनाउने काम भगवान्को जन्मपछि भएको खतरनाक पोल कविताले खोलेको छ । बेरोजगारहरूको डरलाग्दो पीडा हाहाकारका रूपमा आएको छ । केन्द्रमा पुगेपछि नेतृत्व कसरी आफ्ना वाचा र उद्देश्यबाट स्खलित हुन्छ भन्ने यथार्थको खुलासा गरिएको छ ।
संग्रहको मूल स्वर विसंगति निःसृत असन्तोषबाट उत्पन्न विद्रोही आवाज हो । त्यो आवाज सत्तासँग प्रतिद्वन्द्विता गर्दछ । कवि सत्यं शिवं सुन्दरम् खोजिरहेको हुन्छ, यसैले ऊ समाजमा प्रतिपक्षीय औंला ठड्याइरहेको हुन्छ । कवि गिरि सम्पूर्ण अव्यवस्था, असंगति, अनाचार, अविवेवक र अजिम्मेवारीप्रति प्रहार गर्छन् । सुखी, समृद्ध, समतापूर्ण र सुव्यवस्थाको निम्ति पैरवी गर्दछन् । सम्पूर्ण चोटहरूका माझ पनि जीवनको आशावादी स्वरलाई उठाउँदै मानवता अझै जिउँदै रहेको विश्वाससहित यसको जगेर्नाका लागि विनय गर्दछन् ।
संग्रहका कविताहरू नवीन बिम्बविन्यासका कारण सुरुचिपूर्ण रहेका छन् । सरल भाषा भईकन पनि प्रतीकबिम्बले कविताहरू मनोहर र उत्कृष्ट भएका छन् । कला सौन्दर्य र सार शक्ति दुवै दृष्टिले समकालीन नेपाली कवितामा सशक्त हस्तक्षेप गर्न आइपुगेको कवि गिरि श्रीस मगरको दोस्रो कवितासंग्रह ‘एकलव्यको देब्रे हात’ले समग्रमा जनताको अपार शक्तिलाई सत्ताले सधैँभरि कुल्चिरहन नसक्ने र थारो यथास्थितिमा विद्रोहको अन्त्य कहिल्यै नहुने शाश्वत तथ्यलाई पुष्टि गरेको छ ।

