पुस्तक बिक्रीको अभाव र सित्थैमा वितरण गर्नुपर्ने बाध्यता
नेपाली साहित्यमा अब पुस्तक विक्री र वितरणको घोर अभाव रहेको छ । केही आख्यान भने फाट्टफुट्ट बिक्री भइरहेका छन् । यद्यपि समालोचना, निबन्ध नाटक,क कवितासंग्रह आदिका पुस्तकको ठ्याम्मै बिक्री हुँदैन । पहिले पनि नेपाली पुस्तक प्रकाशित हुँदा कमसेकम एक हजार प्रति छापिन्थ्यो । सुरोबुरो बिक्री हुन्थ्यो । त्यसपछि पाँच सय प्रति छापिन थाल्यो ।
त्यति पनि बिक्री नभएर तीन सय प्रति दुई सय प्रति पनि घरमा धेर हुनथालेका छन् । अब एक सय प्रति किताब छाप्यो, यो दुईचार लाईब्रेरीतिर भिडायो, यताउता बेच्न पठायो, आफ्नो साथीभाइलाई सित्थैमा बाँड्यो । बस्, स्टकमा सकिन्छ । पुस्तकको प्रकाशन गर्नु भनेको अब बालुवामा पानी खन्याएसरह बनेको छ । कसैले किन्ने होइन । यद्यपि यस्तो हुनुमा लेखकीय कमजोरी पनि हो । पाठकलाई पढूँ पढूँ लाग्ने खालका पुस्तक प्रकाशित गर्न सके केही बिक्री हुने गर्छन् । केही नयाँपन, केही रोचकता, केही गहिरो पुस्तक प्रकासित गरे केही बिक्री अवश्य हुन्छ ।
यस्ता केही सिर्जनात्मक कृतिहरू कोसेली पाएका कालिम्पोङका गौरी नेम्बाङलाई अवश्य नै मनमा पोलेको हुनपर्छ । मलाई पुस्तक उपाहर दिन्छन्, केही त लेखिदिनैपर्छ भन्ने चेतनाले घचघचाएर केही लेखिदिन लागेका छन् । आफूलाई सम्झेर पुस्तक कोसेली दिने कवि लेखकहरूका मान र मन राखिदिन अब कथाकार गौरी नेम्बाङको समीक्षकको अवतारका रूपमा देखा परेको छ । उनलाई यी सर्जकहरूका कृतिहरूको अध्ययन मनन गरी समीक्षा गर्न जुर्मुराएका छन् तथा ती उपहार दिने सर्जकहरूका कृतिबारे केही लेखिदिएर गुण तिर्ने हुट्हुटीले अब उनलाई समीक्षक हुन कर लागेको छ ।
यसै पनि नेपाली समालोचनामा कालिम्पोङ क्षेत्र धेरै पछि परेको छ । यहाँबाट प्रकाशित सिर्जनाहरूले यथोचित समीक्षण र मूल्याङ्कनको आलोक देख्न पाएका हुँदैनन् । कालिम्पोङका धेरै कवि लेखकहरूका कृति त्यसै अचर्चित भएका छन् । यहाँ समीक्षकहरूको सङ्ख्या थोरै नै छ । यद्यपि केही नयाँ नयाँ समीक्षक देखा परिरहेका छन् । यसै क्रममा अब गौरी नेम्बाङ पनि यसतर्फ लागेका रहेछन् ।
उनी समालोचक होइनन् तर उनलाई यतापट्टि लाग्न पनि ती पुस्तक दिनेहरूले घचघच्याएर उनीभित्रको दृष्टा लेखकलाई ब्युँझाएका हुन् । उनले कृति पढेर त्यसबारे आफुलाई लागेका कुरालाई उनले समीक्षाका रूपमा उतार्ने जमर्को गरेका छन् । उनको कृति ‘मूल्याङ्कनहरू’ भन्ने पुस्तक लेखेर प्रकाशित गरेका छन् । कृति पढेर उनी सम्भवतः रमाएका छन्, प्रभावित भएका छन् र मनमा उब्जेका कुरालाई लेखकले उतारेका छन् । त्यस कृतिभित्रका वस्तुलाई केलाउने प्रयास गरेका छन् । यसमा समालोचनाको सिद्धान्त, प्रणाली आदिभन्दा लेखकको मनको प्रभाव, भाव पक्षको व्याख्या जस्ता कुरा पाइन्छन् ।
गौरी नेम्बाङ र उनको कृति मूल्याङ्कन
नेपाली साहित्यको मानचित्रमा गौरी नेम्बाङले आफ्नो छुट्टै स्थान बनाइसकेका छन् । उनी कथाकार, कवि, समीक्षक र निबन्धकारका रूपमा परिचित छन् । उनका प्रकाशित कृतिहरूमा फेरि त्यही अनुहार, नाइतो, जेनिफर लम्पार्ड बार एण्ड रेष्टुरेन्ट, साहित्यिक भ्रमण–एक संस्मरण, कृति मूल्याङ्कन, पर्यटक स्थलमा गोहीको शिकार, यात्रानुभूति, दार्जिलिङदेखि गुवाहाटीसम्म, हामीले उज्यालो पाएको हुनपर्छ र Reminiscence Literary Visit गरी जम्मा दश कृति रहेका छन् । संयोगवश पछिल्ला छ कृति एकै दिन विमोचन भएका हुन् ।
नेम्बाङको ‘मूल्याङ्कनमा’ अट्ठाइसवटा समीक्षात्मक लेख र एउटा निबन्ध रहेका छन् । यी लेखहरूमा कृतिकार र एकेक कृतिका बारेमा आफ्नो अध्ययन र मत विचार पोखेका छन् । ज्ञान सुतारको कथासंग्रह ‘जुलुसमा हिँड्ने मान्छेका’ एकेकवटा कथाहरूको मूल वस्तु केलाइएको छ । जीवन नामदुङको ‘बैशाख’ कवितासंग्रहका तेत्तीसवटा कविताको भावपक्ष केलाएका छन् । यसमा भएका कविताहरूका मूल विषयवस्तु, कविताले भन्न चाहेका कुरा आदि अध्ययन गरिएको छ । यस आधारमा कविलाई लेखकले ठूला कविका रूपमा दहर्याएका छन् । जीवन नामदुङका कविताका केस्राकेस्रा केलाउने प्रयास गरेका छन् । धुप्पी कविताभित्र अन्तर्निहित भावपक्षलाई केलाएका छन् ।
इन्द्र सुन्दासको ‘जुनेली रेखा’ उपन्यासको भाव पक्ष हेरिएको छ । सुन्दासको ‘जुनेली रेखा’ सामाजिक राजनैतिक आर्थिक आदि पृष्ठभूमि केलाइएको छ । उपन्यासभित्रका विभिन्न प्रसङ्गलाई इतिहास र सामाजिक आधारमा केलाइएको छ । यस उपन्यासमा उठान भएका चिया कमानको अन्याय अत्याचार, हट्टाबाहिर प्रसङ्ग, पात्र पात्राहरूले भोग्नुपरेको पीडालाई उतार्ने प्रयास गरिएको छ । यस कवितामा जातीय अस्त्तिवको सङ्कटलाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको कुरा उल्लेख छ । हट्टाबाहिरको पृष्ठभूमिबारे अध्ययन गरिएको छ । उपन्यासभित्र ब्रिटिशकालीन दार्जिलिङको सामाजिक राजनैतिक इतिहासको प्रसङ्गमा यसको व्याख्या गरिएको छ । गम्भीर अग्निहोत्रीको नेपाली बाल उद्यान कवितासंग्रहको भाव पक्ष, बालोपदेश रहेको कुरा उल्लेख गरेका छन् । बालबगैंचामा रहेका कवितामा देशभक्ति प्रकृतिप्रेम, नैतिकता पाठ, अनुशासन आदि रहेको कुरा उल्लेख गरेका छन् । यी बालकविताको भावगत सरलता, शाब्दिक क्रीडाबारे चर्चा गरेका छन् । उनी कविताको भाव पक्षलाई समात्ने समीक्षक हुन् । कविताले के भन्ने खोजेको त्यसलाई खोजी गर्दछन् ।
इन्द्रबहादुर छेत्रीको ‘अव्यक्त रहस्य’ कथासंग्रहका दशै वटा कथाको भाव पक्ष व्यक्त गरेका छन् । छेत्रीका कथामा स्थानीय सम्यसाय राजनैतिक आर्थिक आदि समस्याहरू देखाइएको कुरा उल्लेख गरेका छन् ।
अर्को समीक्षा छ – अगमसिंह गिरीको कवितामा युगचेतना । यसमा गिरीका कविताहरूको भावपक्ष केलाउने प्रयास गर्दै युगचेतनाबारे प्रकाश पारेका छन् । लेखकका अनुसार कवि गिरी जातिवादी अस्तित्ववादी र चेतनशील कवि हुन् । यसमा गिरीको कवित्वको प्रवृत्ति केलाउँदै केही कविताहरूको पंक्ति उद्घ़त गरेर त्यसको व्याख्या गरेका छन् ।
अर्को लेख इन्द्रप्रसाद गुरागाईँको कथासंग्रह ‘स्वाभिमानको मूल्याङ्कन’मा गुरागाईँको कथाकारिताको मूल्याङ्कन गर्ने प्रयास गरिएको छ । स्वाभिमान कथासंग्रहका एकेकवटा कथाको मूलभावको व्याख्या गरिएको छ । गुरागाईँका कथामा जातीय एकता अखण्डता, असमेली समाजको दिग्दर्शन, मानवतावाद आदि भएको कुराको उल्लेख गरेका छन् ।
खिरोदा खँड्काको बालकवितासंग्रह ‘बाल उद्यान’ कवितासंग्रहको पनि भावपक्षको चर्चा गरिएको छ । यसमा नेपाली साहित्यमा नारी लेखकहरूको योगदान पनि उल्लेखनीय छ भन्दै खिरोदा खँड्काको बालकवितासंग्रहमा रहेका केही कविताहरूको उल्लेख गरेर त्यसको चर्चा गरिएको छ । अर्को समीक्षा छ प्रदीप गुरूङको बैरीमाया कथासंग्रहको चर्चा र मूल्याङ्कन गरिएको छ । यसमा प्रदीप गुरूङको कथाहरूका भावगत रेखाङ्कन गरेका छन् ।
अर्को भने चलचित्र अध्ययनका रूपमा पाइन्छ । छिमेकी चलचित्रमा लिम्बू जनजातीय संस्कृति र संस्कारका बारेमा अध्ययन गरेका छन् । यस चलचित्रले सामाजिक अन्धविश्वास आदिको निर्मूलनका लागि सन्देश दिएको कुरा उल्लेख गरेका छन् । चलचित्रको कथानकको उल्लेख गर्दै त्यसमा रहेका विभिन्न पक्ष केलाउने प्रयास गरेका छन् । यसमा पात्र-पात्राहरूको अभिनयकलाको पनि अध्ययन गरिएको छ ।
अर्को लेख पनि बालकविताको समीक्षामा केन्द्रित छ । रत्न कुमार फुयेलको बालकवितसंग्रहका बारेमा अध्ययन र मूल्याङ्कन गरिएको छ । यसमा रहेका बालकविताहरूको विषयवस्तु र भावलाई केलाएका छन् ।
देव भण्डारीको ‘अज्ञात दिशातिर’ कथासंग्रहको पनि समीक्षा गरिएको छ । प्रत्येक कथाको विश्लेषण गरिएको छ । कथाहरूका आधारमा कथाकारको मूल्याङ्कन गरिएको छ प्रदीप गुरुङकै बिरिमपूल कथासंहग्रहमाथि फेरि अर्को लेख आएको छ । यसमा बिरिमफूल कथासंग्रहका आधार फेरि प्रदीप गुरूङको कथाकारिताको मूल्याङ्कन गरिएको छ । यसमा पनि बिरिमफूल कथासंग्रहका एकेक कथाका बारेमा निकै घोत्लिएको पाइन्छ । गुरूङका कथामा गोरूबथानको साजिक परिप्रेक्ष्यलाई राम्रोसँग अध्ययन गरिएको छ ।
काठमाडौंका महेश प्रसाईको ‘कुमुदाग्नि’ लघुकथासंग्रहको पनि गहन अध्ययन पाइन्छ । उनका अनुसार अहिलेको समयमा लामोकथाभन्दा लघुकथा उपयोगी रहेको छ । यसमा कुमुदाग्नि बत्तीसवटा नमुना कथालाई मूल्याङ्कनको आधार बनाएका छन् । लघुकथाभित्र रहेका मूल आशयलाई केलाउने प्रयास गरेका छन् ।
मिजोरामकी लक्ष्मी मिनूको ‘कर्तव्य’ नाटकसंग्रहको पनि समीक्षा गरिएको छ । कर्तव्य भित्रका चारवटा एकाङ्कीको अध्ययन गरी तिनमा रहेका वस्तु विवेचना गरिएको छ । गौरी नेम्बाङले कृतिहरूको मूल्याङ्कन गर्ने हुटहुटी र जोशले यो पुस्तक तयार पारेका हुन् । उनले यसमा कृतिबारे मन्तव्य र मूल्याङ्कन लेखेको भनेका छन् । कृतिलाई केलाइ कुलाई गरी तिनको समीक्षा गर्ने प्रयास गरेका छन् ।
अगमसिंह गिरीको ‘युद्ध र योद्धा’ खण्डकाव्यको मूल्याङ्कन गर्ने क्रममा यसभित्र रहेको जातीय अस्तित्वको बारेमा समीक्षा गरिएको छ । यस खण्डकाव्यको विशेषता नै यसमा रहेको जातीय चेतना हो भन्ने ठहर गरेका छन् । मणिपुरको भवानी अधिकारीको मनका आवेग निबन्धसंग्रहको पनि मूल्याङ्कन गरिएको छ ।
अर्को लेखमा अशोक रोकाको ‘विसर्जन’ कथासंग्रहको समीक्षा गरिएको छ । अशोक रोकाको उक्त कथासंग्रहका वस्तु विवेचना गरेका छन् । कसरी समाजलाई प्रतिविम्बित गरिएको छ भन्ने कुराको इक्षण् गरिएको छ ।
अर्को लेखमा भानुभक्त र रघुनाथको तुलनात्मक अध्ययन गरिएको छ । यसमा दुवै कविका रामायणका केही नमुना पंक्त्तिहरू टिपेर तिनको तुलना गरिएको छ । कुन कुन कुरामा रघुनाथभन्दा भानुभक्त आचार्य अघि छन् भन्ने कुरामा अध्ययन गरिएको छ ।
अर्को लेखक रहेको ग्याल्पो लामाको ‘वियोग वेदनाको सुस्केराहरू’ खण्डकाव्यको मार्मिक पक्ष केलाइएको छ । यसमा काव्यकारले कसरी आफ्नो जीवनमा कमला नामकी पात्रासित आफ्नो जीवन गाँसिएको र उनको मृत्यु वेदनालाई कसरी अभिव्यक्त गरेका त्यसको लेखाजोखा गरेका छन् । आफ्नो किशोरावस्थादेखि प्रेम पात्रका रूपमा रहेकी कमलासित चालिस वर्षको लामो दाम्पत्य जीवनपछि उनको निधन हुँदा परेको पीडालाई अभिव्यक्ति दिएइएको कुरा उल्लेख गरिएको छ ।
सुष्मा मोक्तानको ‘उन्मुक्त्ति चाहनाहरू’ कवितासंग्रहको यहाँ समीक्षा गरिएको छ । सुष्मा मोक्तानको कविताहरूमा पाइने भावगत सरलता, विषयगत विभिन्नता र कवितागत विशेषतालाई केलाएको छ । मोक्तानका कवितामा नारीका अधिकार र समानताको पक्षमा कवितात्मक अभिव्यक्ति रहेको कुराको उल्लेख गरेका छन् । चियाबारीका श्रमिकहरूको आर्थिक, र शारीरिक कठिनाइबारे कवितात्मक आक्रोश पोखिएको कुरा उल्लेख पाइन्छ ।
सानुमति राईको जीवनी र कृतित्वबारे अर्को लेख रहेको छ । यसमा कालबुङकी सानुमति राईको मूल्याङ्कन गर्ने प्रयास गरिएको छ । यसमा कालेबुङका केही साहित्यिक प्रतिभाहरूको सूची दिएर सानुमती राईको साहित्यिक र वैयक्तिक पक्षहरूको अध्यनन गरिएको छ । यहाँ एक प्रकारले कालिम्पोङको नेपाली साहित्येतिहासको रेखाङ्कन पनि गरिएको छ ।
हरीश मोक्तान ‘अल्लारेको कथा बाँच्दै जाँदा’ कथासंग्रहको पनि समीक्षा गरिएको छ । मोक्तानको कथा बाँच्दै जाँदा कथासङ्र्गहका बाह्रवटा कथाको मूल वस्तु र कथानकीय रेखालाई चिनाएका छन् । यसमा कथाको प्रवृत्तिपरक अध्ययन गरिएको छ । मोक्तानका कथामा पाइने रोचकता, कथानकीय मौलिकता आदि समीक्षण गरिएको छ ।
हाइमनदास राईको विजय कथा ‘विजय’को पनि समीक्षा गरिएको छ । सानो पुस्तिकाको रूपमा रहेको विजय भित्र विजय र मुनाल गरी दुईवटा कथाहरू समावेश गरिएको छ । विजय कथाको किराती पौराणिक प्रसङ्गको उल्लेख गरिएको छ । अर्को लेख छ तर्कको तराजुमा कवि भानुभक्त आचार्य । भानुभक्तलाई आदिकविको उपाधि दिएको कुरालाई न्यायोचित ठहर्याएका छन् ।
प्रकाश कोविदको ‘नोयो’ उपन्यासको समीक्षा गरिएको अर्को लेख छ । यस उपन्यास कसरी तिब्बतबाट नोयो र उनको प्यारो श्रीमान सोनाम छुट्टिएर भाग्नुपरेको र नोयोले जीवनभर सोनामको खोजी गरेको कथावस्तुको विश्लेषण गरिएको छ । नोयो उपन्यासको कथावस्तु र त्यसको मार्मिक पक्षबारे चर्चा गरेका छन् ।
अर्को लेखमा कल्पनाबारे महाकवि लक्ष्मीप्रसाद देवकोटाको विचार छ । देवकोटाका निबन्धहरूमा उनले कल्पना तत्त्व केलाउँदै कल्पना नामको निबन्धको विश्लेषण गरिएको छ । रीता ठकुरीको उपन्यास ‘काकाकुलको तिर्खा’मा विरह र व्यथाको समीक्षा गरिएको छ । अन्तिम लेख भने ‘माओवाद एक बाह्य दृष्टिकोण’ मा भने राजनैतिक रूपमा नेपाल र भारतमा माओवादको औचित्य र अनौचित्यबारे चर्चा गरी अब यसको पनि अवसान भैसकेको, असफल भएको, यसको सिद्धान्तभन्दा भिन्न यही वादका पक्षधरहरू पनि दमनकारी, लुटाहा, फटाहा भएक विचार व्यक्त गरेका छन् ।
नेम्बाङको समीक्षात्मक प्रवृत्ति–
यस पुस्तकको मूल विशेषता हो कृति र कृतिकारको मूल्याङ्कन हो । भलै यसभित्र समालोचनाका मानदण्ड राम्रोसँग अपनाएका छैनन्, विश्लेषण पद्धति राम्रोसँग अपनाएका छैनन्, कृतिभित्रको शैलीपक्षलाई उति छोएका छैनन्, कतिपय लेखहरू सिकारू खालका छन् । यद्यपि कृति पढेर त्यसभित्रका जे जे कुरा मनमा सुझे तिनलाई यहाँ प्रकट गरेका छन् । केही लेखकहरूले उनलाई आफ्नो कृतिको कोसेली दिन्छन्, ती लेखकप्रति उनी कृतज्ञ भएर तिनलाई जतिसक्दो समीक्षण र मूल्याङ्कन गर्ने कर्तव्यचेतले लेखेका हुन् । यसकारण उनको उद्देश्य पवित्र छ । पुस्तकहरू कोसेली पाएपछि त्यसको सही अदाय गरिदिनु, जे जस्तो भए पनि कृतिको समीक्षण र मूल्याङ्कन गरिदिनु उनको इमानदारिता र विश्वसनीयता हो ।
उनको समीक्षणको फाँट कालिम्पोङ, दार्जिलिङ-खरसाङ, असम, मणिपुर, मिजोराम, डुवर्स, काठमाडौंसम्म पुगेको पाइन्छ । यद्यपि मूल रूपमा कालिम्पोङका सर्जकहरूमाथि केन्द्रित छ । कालिम्पोङका प्रदीप गुरूङ र अगमसिंग गिरी, भानुभक्त आचार्य आदिबारे दुई-दुईवटा लेखहरू रहेका छन् ।
नेम्बाङका समीक्षामा प्रभाववाद, व्य़ाख्या, जीवनीपरक, कृतिकारपरक, मूल्याङ्कनपरक रहेका पाइन्छ । चार सयभन्दा बढी पृष्ठहरू भएको यो मूल्याङ्कनहरू खँदिलो छ ।
कृतिबारे आफूलाई लागेका कुरा व्यक्त गरेका छन् । यद्यपि यसमा कमजोरी पक्ष पनि नपाइने होइन् । उनले समीक्षा गर्दा कृतिगत वस्तुनिष्ठताभन्दा भावनिष्ठतालाई अपनाएका छन् । कृतिको शैलीपक्षबारे आँखा चिम्लेका छन् । धेरै जसो लेखकमा सर्जकसित उनको व्यक्तिगत सम्बन्ध, लेखकप्रति आफ्नो अनुराग आदिबारे खुलाउँदै समीक्षा अघि बढाएका छन् । उनले विश्लेषणभन्दा भावुकतालाई अधिक जोड दिएका छन् । उनी कृतित्वभन्दा कृतिकारपट्टि बढी फर्केका छन् । पाठकले यसभित्रका समीक्षा पढ्दा तत्तत् कृतिहरूको मूल भाव र केही अन्य पक्ष बुझ्न सक्छ । दोषपक्षतिर आँखा चिम्लेर गुणपक्षलाई अघि बढाउनु, एउटै प्रसङ्गको आवृत्ति हुनु, पाठको प्रवृत्ति पक्षमाथि बल गर्नु आदि जस्ता कमजोरी पक्ष रहेका छन् ।
यस पुस्तकमा समालोचनाको नयाँ पद्धति, प्रणाली, सिद्धान्त, प्रयोग, प्रविधि, विशेषता, गहन अध्ययन आदि खोज्नु व्यर्थ छ । यसमा त लेखकले केही सर्जकको चित्त बुझाउनका लागि केही लेखिदिएका हुन् । हाम्रो समाजमा समीक्षकको अभाव छ । कृति लेखेर त्यसको अध्ययन समीक्षण नभएर धेरै कृति र कृतिकार ओझेल परेका हुन्छन् । तिनलाई केही न केही आलोकित पारिदिने, आफ्नो बुताले भ्याएसम्म, बुझेसम्म अध्ययन र मूल्याङ्कन गरिदिने लेखकको ध्येय देखिन्छ । एकप्रकारले भन्नुपर्दा उनलाई एक इमानदार लेखकका रूपमा मान्न सकिन्छ । नेपाली साहित्यको विकासका निम्ति म केही गर्छु, हामीले केही गर्नुपर्छ, केही लेख्ने पर्छ, केही पढ्नुपर्छ भन्ने हुटहुटीले नेम्बाङलाई लेख्न कर लगाएको छ, जाँगरिलो बनाएको छ । कमसेकम पाठकलाई आफुले लेख्दै गरेको कृतिबारे जानकारी र ज्ञान दिएका छन् । यो कृति यस्तो छ, यहाँभित्र मूल कुरा यस्तो छ भन्नेबारे पाठकलाई सूचना दिएका छन् ।
यद्यपि लेखकको उद्देश्य उदात्त छ । कृति पाएर त्यसलाई पढेर त्यसलाई आफुले सकेसम्म समीक्षण र मूल्याङ्कन गर्ने, त्यस कृतिप्रति पाठकलाई आकर्षित गराउने, त्यसभित्रका कुराहरूलाई खोतलेर उधिनेर पाठकसामु देखाइदिने, कृतिको थप रसास्वादन बनाउने, कृतिकारको योगदानको कदर गरिने, पाठकसमाजका अघि लेखकलाई राम्रोसँग चिनाउने, आफुलाई लागेको कुरालाई पाठकसामु राखिदिनु आदि जस्ता महत उद्देश्य रहेको छ । साँच्चै नै यसमा कतिपय कवि लेखकहरूलाई कसैले पनि समीक्षक गरेका छैनन् । राम्रा राम्रा लेखकहरू ओझेल पर्नबाट जोगाउने गौरी नेम्बाङको चलेको पाइन्छ । जस्तै सुष्मा मोक्तान, इन्द्रबहादुर छेत्री, गम्भीर राई अग्निहोत्री, हरीश मोक्तान अल्लरे , रत्न कुमार फुयेंल आदिका बारे यसअघि कसैले समीक्षा गरिएको पाइन्न । ज्ञान सुतार, सानुमति राई, प्रकाश कोविद्, देव भण्डारी आदिका बारेमा पनि जति समीक्षण मूल्याङ्कन हुनपर्ने तर त्यति हुन सकेको छैन । यता भारतका सबैभन्दा बढी उपन्यास लेख्ने प्रकाश कोविद समीक्षकहरूको दृष्टिबाट ओझेल भएका हुन् । अहिले भर्खरै दुई चारजनाले प्रकाश कोविद् माथि केही काम भएर छन् । त्यस्तै ज्ञान सुतार, देव भण्डारी र सानुमति राईमाथि पनि थोरै समीक्षाको कलम चलेको पाइन्छ । यसरी हेर्दा समीक्षक नेम्बाङले जे जति मूल्याङ्न गरेका छन्, त्यो स्तुत्य छ । यो उनको कर्तव्यप्रेम, लेखकप्रेम, कृतिप्रेम, सिर्जनाप्रेम हो । कर्तव्यको उत्प्रेरणाले उनलाई लेख्न लगाएको हो ।
उपसंहार-
कथाकारका रूपमा देखा परेका गौरी नेम्बाङ अब समीक्षामा पनि देखा परेका छन्, यसलाई स्वागत गर्नुपर्दछ । हाले प्रकाशित उनको समीक्षात्मक लेख संकलन कृति मूल्याङ्कन हाम्रो हातमा आएको छ । यसमा सत्ताइस अट्ठाइसजना सर्जकहरू लेखकहरूले आफुलाई चढाएको कोसेलीस्वरूप पाएका पुस्तकहरूको समीक्षा गरिदिएर गुण तिर्ने प्रयास गरेका छन् । कृति पढेर आफुलाई जे जस्तो प्रभाव परेको छ, त्यसैलाई प्रकट गरेका छन् । उनी सिद्धान्तका टेका लाएर आफ्नो मत अघि बढाएका छैनन् बरू आफुले जे बुझे, जे अनुभूत गरे त्यसैलाई प्रस्तुत गरेका छन् । जे होस्, नेपाली साहित्यले अर्को एकजना समीक्षक पाएको छ, केही ओझेलमा परेका लेखकहरूले समीक्षाको आलोक पाए, केही कृतिको रसास्वादन गर्न पाठकले सहयोग पाए । यस पुस्तकका आधारमा उनलाई एक प्रभाववादी समीक्षकका रूपमा मान्न सकिन्छ । यसमा कतै सामान्य पुस्तकीय निरूपण, कतै पाठक प्रतिक्रिया, टिप्पणी, कतै गहन अध्ययन, कतै चिन्तन, कतै वस्तुगत समीक्षा आदि जस्ता कुरा पनि पाइन्छन् । अतः गोरी नेम्बाङको नयाँ कृति अध्ययन पठनीय र संग्रहनीय छ ।

