साहित्यपोस्ट डट कम

पुष्प राज पाण्डेयको कथासङ्ग्रह ‘किनार’ लोकार्पण तथा अन्तर्क्रिया सम्पन्न

पुष्प राज पाण्डेयको कथासङ्ग्रह ‘किनार’ लोकार्पण तथा अन्तर्क्रिया सम्पन्न

काठमाडौं । साहित्यकार पुष्प राज पाण्डेय द्वारा लिखित कथासङ्ग्रह ‘किनार’ एक विशेष समारोहका बीच नेपाल प्रज्ञा–प्रतिष्ठान को पारिजात सभाकक्षमा लोकार्पण गरिएको छ । उक्त कृति शिखा बुक्स द्वारा प्रकाशन गरिएको हो ।

कृतिमाथि धारणा राख्दै सम्पादक, कवि तथा साहित्यकार सुभाषचन्द्र भण्डारी ले ‘किनार’ लाई नेपाली साहित्यिक बजारका लागि ओजिलो उपलब्धि बताउनुभएकाे छ । उहाँले कृतिमा सामाजिक यथार्थ र मिथकीय आञ्चलिकताको सन्तुलित संयोजन रहेको उल्लेख गर्दै उत्तरआधुनिक तथा प्रयोगवादी शिल्पको प्रयोगले यसलाई नवीन आख्यान कृतिका रूपमा स्थापित गर्न सक्ने बताउनुभयाे ।

विशेषतः सुदूरपश्चिमेली जनबोली, थारू र डोटेली भाषाको सम्मिश्रण तथा स्थानीय सांस्कृतिक गहिराइले कथामा मौलिकता थपेको उहाँले बताउनुभयाे ।

समीक्षक अनुपमा रेग्मी ले केही कथाहरूमा “कथाभित्र कथा” संरचना प्रयोग भएको उल्लेख गर्दै कृतिमा कथाकारको परिकल्पनाशील शक्ति स्पष्ट रूपमा अभिव्यक्त भएको धारणा राख्नुभयाे ।

त्यसैगरी पत्रकार तथा समीक्षक राजेन्द्र बानियाँ ले पाण्डेयका कथाहरूले फरक स्वाद र दर्शन प्रस्तुत गरेको बताउनुभयाे । उहाँका अनुसार छायाँमा रहेका पात्रहरू र जीवनका कच्चा यथार्थलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ, जसले पाठकलाई भावनात्मक रूपमा जोड्न सक्छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. लक्ष्मण गौतम ले कृतिमा भूगोल, भाषा र परिवेशको जीवन्त प्रस्तुति रहेको उल्लेख गर्दै प्रत्येक शब्दभित्रको शक्ति अनुभूति गर्न सके पाठकले विशेष आनन्द प्राप्त गर्ने बताउनुभयाे ।

लेखक पुष्प राज पाण्डेय ले यो आफ्नो पहिलो कृति भएकाले केही कमजोरी हुन सक्ने स्वीकार गर्दै आगामी दिनमा पाठक र समीक्षकका सुझावलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले निकट भविष्यमा उपन्यास प्रकाशन गर्ने योजना रहेको जानकारी पनि दिनुभयाे ।

प्रकाशक पुष्पराज पौडेल ले उत्कृष्ट कृतिहरू प्रकाशन गर्न आफ्नो संस्था सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै ‘किनार’ लाई अब्बल कृतिका रूपमा बजारमा ल्याइएको बताउनुभयाे । पुस्तकको मूल्य ५ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ। कार्यक्रमको सञ्चालन पत्रकार यज्ञराज जोशी ले गर्नुभएकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.