साहित्यपोस्ट डट कम

पुनः प्रकाशन देवदूत ६ – कर्म

पुनः प्रकाशन देवदूत ६ – कर्म

(पाठकहरूको अत्यधिक मागका कारण विश्वप्रसिद्ध लेखक खलील जिब्रानको ‘क्लासिक’ कृति देवदूतलाई पुनः प्रकाशन शुरू गरिएको छ । २६ भागको यो कृति डा. सनतकुमार वस्तीजीले नेपालीमा अनुवाद गर्नुभएको हो । यस कृतिलाई हरेक सोमवार एकेक भागमा प्रस्तुत गरिरहेका छौं ।

सम्पादक, विश्वसाहित्य ।)

तिमी किन काम गर्दछौ भने

धरती र धरतीका आत्माको

गतिका साथ

चल्न सकियोस्,

अकर्मण्य भएर बस्नु भनेको

मौसमको बहारसित

अपरिचित हुनु हो

अनि, अलग हुनु हो

जीवनको त्यस शोभा-यात्राबाट

जो राजसी ठाटबाटका साथ निक्लिने गर्दछ

अनन्तप्रति शानदार समर्पण गरेर

काम गर्दै गर्दा

तिमी त्यो बाँसुरी बनिदिन्छौ

जसका हृदयमा

समयको श्वास चलिरहेको हुन्छ

अनि संगीतमा बदलिइरहेको हुन्छ,

तिमीमध्ये त्यस्तो को होला

जो लाटो र मौन

खोक्रो बाँसको टुक्रो बनिरहन चाहँदो हो

त्यसबेला –

जब सारा संसार

एउटै बाँसुरीका स्वरहरूमा

सामेल भइरहेको होस्

तिमीलाई हमेशा के भनिएको छ भने-

कर्म एउटा अभिशाप हो

अनि श्रम हो दुर्भाग्य,

तर म तिमीलाई के भन्दछु भने-

जब तिमी कर्म गर्छौ

त्यसबेला तिमी

धरतीका प्राचीनतम स्वप्नको

एउटा अंशलाई पूरा गर्दै हुन्छौ

जसको दायित्व

तिमीलाई त्यतिखेरै सुम्पिइएको थियो

जब त्यो स्वप्न जन्मिएको थियो

तिमी श्रममा डुबिरहनु नै

वास्तविक अर्थमा

जिन्दगीसँग प्रेम गरिरहनु हो,

जिन्दगीलाई श्रमका माध्यमले प्रेम गर्नु नै

उसका अन्तरंग रहस्यहरूलाई

गहिरिएर बुझ्नु हो

तर यदि तिमी आफ्ना कष्टदेखि आत्तिएर

तिम्रो जन्म एक विपत्ति हो

अनि हाड मासुले बनेको शरीरको पोषण गर्नु

तिम्रो थाप्लामा लेखिएको अभिशाप हो

भन्ने गर्छौ भने

मेरो उत्तर यही रहने छ

तिम्रा थाप्लाको पसीनाका अतिरिक्त

अरु केही त्यस्तो वस्तु छैन

जसले तिम्रा थाप्लामाथि लिपिबद्ध

त्यस अभिशापलाई पखाल्न सकोस्

तिमीसँग यसो पनि भनिएको होला

जीवन अन्धकारमय छ

जब तिमी थाकेका र हारेका हुन्छौ

त्यसबेला तिमी

थाकेका र हारेका मानिसहरूकै विचारलाई

प्रतिध्वनित गर्न थाल्दछौ

म पनि भन्छुः

जीवन साँच्चिकै अन्धकारमय छ

यदि आकाङ्क्षा छैन भने,

अनि सारा आकाङ्क्षाहरू पनि अन्धा छन्

यदि ज्ञान छैन भने,

सारा ज्ञान व्यर्थ छ

यदि कर्म छैन भने,

सारा कर्म खोक्रो छ

यदि प्रेम छैन भने,

जब तिमी प्रेमले प्रेरित भएर कर्म गर्दछौ

त्यसबेला तिमी स्वयंलाई स्वयंसँग बाँध्दछौ

अनि, एक-अर्कासँग बाँध्दछौ

अनि, भगवान्सँग बाँध्दछौ

प्रेमले प्रेरित कर्म भनेको के हो ?

त्यो आफ्नै हृदयबाट तान्दै

कातिएको धागोबाट कपडा बुन्नु हो

मानौं त्यो लुगा तिम्रै प्रेमिकाले लगाउनेछिन्

त्यो यति प्रेमले भवन निर्माण गर्नु हो

मानौं तिम्री प्रेयसी नै त्यस घरमा बस्नेछिन्

त्यो यति कोमलताले बीऊ रोप्नु

अनि, यति आनन्दित भएर

फलहरू सञ्चय गर्नु हो

मानौं तिम्री प्रेयसीले नै ती फलहरू खानेछिन्

त्यो आफ्ना हातहरूले गरिएका प्रत्येक कर्मलाई

दिव्यताको ऊर्जाले भरिदिनु हो,

अनि त्यस्तो महसूस गर्नु हो

मानौं समस्त निर्जीव सत्ताहरू

तिम्रा वरिपरि उभिएर

तिम्रो कर्मलाई नियालिरहेका होऊन्,

मैले प्रायः तिमीले यसो भन्दै गरेको सुनेको छु-

त्यसबेला तिमी मानौं निद्रामा बोलिरहेका हुन्छौ

त्यो शिल्पी

जो संगमरमरको शिलालाई कपेर

त्यसमा आफ्नै आत्माका स्वरूपको दर्शन गर्दछ

त्यस व्यक्तिभन्दा महान् हो-

जो खेतमा हलो चलाउँछ,

अनि ती चित्रकार

जो इन्द्रधनुषका रङ्गहरू चुनेर

आफ्नो चित्रपटमा

मानवका आकृतिहरू अङ्कित गर्दै छरिदिन्छन्,

ती व्यक्तिहरूभन्दा श्रेष्ठतर हुन्

जो हाम्रा गोडाहरूका लागि

चप्पल जुत्ताहरू बनाउँदछन्

तर म के भन्दछु भने-

निद्रामा होइन

मध्याह्नको अति जाग्रत् अवस्थामा भन्दछु कि

पवनले जुन संवाद

पीपलका वृक्षहरूसँग सम्पन्न गर्दछ,

त्यो त्यसको अपेक्षा

बढी स्वादिलो हुन सक्दैन

जो उसले घासका त्यान्द्राहरूसँग सम्पन्न गर्दछ

केवल त्यही व्यक्ति महान् हो

जो पवनका स्वरहरूलाई

गीतमा बदलिदिन सक्छ

अनि आफ्नो प्रेमले

त्यस गीतको मिठासलाई

अरु गाढा बनाइदिन्छ,

प्रेमलाई

दृष्टिगोचर बनाइदिनु नै कर्म हो

यदि तिमी कर्मसँग प्रेम गर्न सक्दैनौ

अनि त्यसप्रति केवल

आफ्नो अनिच्छामात्र प्रकट गर्दछौ भने

राम्रो हुनेछ –

तिमी कर्म गर्न नै छोडिदेऊ

अनि कुनै मन्दिरको द्वारमा बसेर

तिनीहरूसित भीख माँग

जो खुशी भएर

कर्म गर्ने गर्दछन्

किनभने, यदि तिमीले

उपेक्षाको भावले

रोटी पकायौ भने

तिमीले नमीठो रोटी पकाउनेछौ

जसले मनुष्यको

आधी भोकमात्र शमन गर्न सक्दछ

यदि तिमी

झर्को फर्को गर्दै

अङ्गूरको रस निचोर्दैछौ भने

तिम्रो झर्काइले त्यस अमृतरसमा

विषका थोपाहरू चुहाइदिनेछ

यदि तिमी गन्धर्वले झैं गाउन सक्दछौ

तर त्यस गानसँग प्रेम गर्दैनौ भने

तिमी मनुष्यका कानहरूलाई

यसरी बन्द गरिदिनेछौ

त्यसपछि उसले

न त दिनका स्वरहरूलाई

सुन्न सक्नेछ

न त रातका निनादहरूलाई ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.