साहित्यपोस्ट डट कम

पुनः प्रकाशन देवदूत ५ – भोक र प्यास

पुनः प्रकाशन देवदूत ५ – भोक र प्यास

पाठकहरूको अत्यधिक मागका कारण विश्वप्रसिद्ध लेखक खलील जिब्रानको ‘क्लासिक’ कृति देवदूतलाई पुनः प्रकाशन शुरू गरिएको छ । २६ भागको यो कृति डा. सनतकुमार वस्तीजीले नेपालीमा अनुवाद गर्नुभएको हो । यस कृतिलाई हरेक सोमवार एकेक भागमा प्रस्तुत गरिरहेका छौं ।

सम्पादक, विश्वसाहित्य ।)

आहा ! कति राम्रो हुन्थ्यो ‑

यदि तिमी

धरतीको गन्धले जीवित रहन सक्दथ्यौ

अनि पवनजीवी बिरुवाहरू झैं

प्रकाशबाटै भोजन ग्रहण गर्न सक्दथ्यौ

तर तिमीलाई भोक मेटाउनका लागि

यदि पशुहरूको वध गर्नु नै छ भने,

अनि प्यास मेटाउनका लागि

नवजात बाच्छाकी आमाको दूध

जबर्जस्ती खोस्नु नै छ भने –

तब, यो काम श्रद्धाभावले सम्पन्न गर

अनि भोजनको थालीलाई त्यस्तो बलिवेदी सम्झ ‑

जहाँ जङ्गल अनि मैदानका

तमाम निष्पाप र निरीह जीवहरूको

बलि चढाइन्छ ‑

मनुष्यका त्यस आत्म‑तत्त्वको पोषणका लागि

जो ती जीवहरूभन्दा पनि बढी

निष्पाप र निरीह छ

जब तिमी कुनै पशुको वध गर्छौ

त्यसबेला आफ्नै दिलभित्र उससँग भन ‑

जुन शक्तिले आज तिम्रो वध गरिरहेछ

त्यसैले कुनै दिन

मेरो पनि वध गर्नेछ

अनि फेरि मलाई पनि खाइनेछ

किनभने जुन नियमले

तिमीलाई मेरा लागि

बलि चढाएको छ –

उसैले कुनै दिन

मभन्दा पनि ठूलो

शक्तिशाली सत्ताका लागि

मेरो बलि चढाउने छ

स्वर्गका वृक्षको सिंचाइ गर्ने एउटा बहानाबाहेक

तिम्रो रक्त र मेरो रक्तको

अरु कुनै प्रयोजन पनि छैन

अनि, जब तिमी

स्याउको स्वादिलो फलमा दाँत गाड्छौ

त्यसबेला आफ्नै दिलभित्र त्यसलाई भन ‑

तिम्रा बीजहरू

मेरो शरीरमा जीवित रहनेछन्,

मेरो हृदयमा

तिम्रा आगामी कोपिलाहरू फुल्नेछन्,

मेरो श्वासमा

तिम्रो सुवास रहनेछ,

अनि, हामी खुशी मनाउँदै

हरेक मौसमको बहार आउँदा

साथमै हुनेछौं

अनि, शरदमा तिमी

जब अङ्गूरका पोटिला झुप्पा बटुलेर

तिनीहरूलाई रस निकाल्ने यन्त्रमा हाल्छौ

त्यसबेला आफ्नै दिलभित्र तिनीहरूसँग भन –

म पनि अङ्गूरको एउटा बगैंचा हूँ

कुनै दिन मेरा फलहरूलाई पनि

यसै गरी बटुलेर तिनीहरूको रस निचोरिनेछ,

अनि, नयाँ मदिरालाई जस्तै

मलाई पनि

अनन्तका पात्रमा

सञ्चित गरेर राखिनेछ

जाडाको मौसममा जब तिमी

त्यो मदिरा पिउन भनेर निस्किन्छौ –

त्यसबेला प्रत्येक प्यालाका लागि

तिम्रा हृदयमा एउटा गीत हुने गरोस्

अनि त्यस गीतमा

शरद्का,

अङ्गूरको बगैंचाका

अनि निचोरिंदै गरेका रसका

मधुर स्मृतिहरू

मगमगाइरहेका होऊन् ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.