साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

पुनः प्रकाशन देवदूत १० : किनबेच

पुनः प्रकाशन देवदूत १० : किनबेच
भाग 10 / 1

(पाठकहरूको अत्यधिक मागका कारण विश्वप्रसिद्ध लेखक खलील जिब्रानको ‘क्लासिक’ कृति देवदूतलाई पुनः प्रकाशन शुरू गरिएको छ । २६ भागको यो कृति डा. सनतकुमार वस्तीजीले नेपालीमा अनुवाद गर्नुभएको हो । यस कृतिलाई हरेक सोमवार एकेक भागमा प्रस्तुत गरिरहेका छौं ।

सम्पादक, विश्वसाहित्य ।)

धरतीले तिमीलाई
आफ्ना अपार सम्पदाबाट
अनन्त सुस्वादु फल समर्पित गर्ने गर्दछ,
यदि तिमीलाई
ती सम्पदाले आफ्नो अँजुली भर्न आउँछ भने
तिम्रो जीवनमा
कहिल्यै कुनै अभाव हुनै सक्दैन

धरतीका उपहारहरूको
विनिमय गर्नाले नै
तिम्रो जीवनमा समृद्धि आउनेछ
अनि तिमी सन्तुष्ट हुन सक्नेछौ

तथापि
यस विनिमयको आधार
प्रेम र न्यायको सहृदयता होइन भने
यसको निश्चित परिणाम
केही व्यक्तिको लोभ लालच र
धेरैको भोकका रूपमा हुनेछ,

ए समुद्रका, खेतका र
अंगूरको बगैंचाका परिश्रमीहरू हो !
जब तिमी हाट-बजारमा
बुनकर, कुमाले र
मसलाका संग्रहकर्ताहरूसँग भेट्छौ
त्यसबेला
धरतीकी ती अधिष्ठात्री देवीलाई
के आह्वान गर भने-

उनी तिमीहरूबीच
उपस्थित होऊन्,
अनि, तिम्रा तराजुहरूमाथि
उनका वरदहस्त होऊन्,
अनि, उनका आँखा
यस कुराका साक्षी रहून्-
उनका सामू
मूल्यहरूलाई मूल्यहरूसँग नै जोखिंदै छ,

अनि, यस विनिमयमा
अनुर्वर अकर्मण्य हातवाला
त्यस्ता व्यापारीहरूलाई सहन नगर –
जो तिमीहरूको श्रमका बदलामा
आफ्ना खोक्रा शब्दहरू
बेच्न चाहन्छन्

त्यस्ता व्यापारीहरूलाई भनिदिनू –
हामीसँग हाम्रा खेतहरूतिर हिँड
अथवा समुद्रतिर जाऊँ, हाम्रा साथीभाइहरूसँग
अनि त्यहाँ गएर
आफ्ना जाल फिँजाऊ,
किनभने
धरती र समुद्रको अक्षय भण्डार
जति हाम्रा लागि खुल्ला छ
त्यति नै तिम्रा लागि पनि

यदि यहाँ गायक, नर्तक र वंशीवादक आए भने
तिनीहरूको उपहार पनि किनिदिनू
किनभने
ती पनि फलफूल र कपडाहरूका संग्रहकर्ता हुन्,
– त्यस बजारमा
उनीहरूले भलै
सपनाले सजाएका पदार्थहरू लिएर
आएका होऊन्
तर तिनै पदार्थ
तिम्रो आत्माका अन्न र वस्त्र हुन्,

त्यस हाट-बजारबाट प्रस्थान गर्नुभन्दा पहिले
ध्यानले हेर्नू –

कोही पनि त्यहाँबाट
खाली हात जान नपाओस्
किनभने
धरतीकी अधिष्ठात्री देवी
तबसम्म चैनसँग सुत्न सक्ने छैनन्,
जबसम्म तिमीहरूका बीच
सबैभन्दा हीनतम व्यक्तिले पनि
सन्तुष्टि पाउने छैन ।
……

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

थप रचनाहरू पढ्नुहोस् →

भाषासेवी तथा साहित्यकार

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.