पाठकहरूको अत्यधिक मागका कारण विश्वप्रसिद्ध लेखक खलील जिब्रानको ‘क्लासिक’ कृति देवदूतलाई पुनः प्रकाशन शुरू गरिएको छ । २६ भागको यो कृति डा. सनतकुमार वस्तीजीले नेपालीमा अनुवाद गर्नुभएको हो । यस कृतिलाई हरेक सोमवार एकेक भागमा प्रस्तुत गरिरहेका छौं ।
सम्पादक, विश्वसाहित्य ।)
~दान~
जब तिमी
आफ्नो भौतिक सम्पदामध्येबाट
केही दान गर्दछौ –
त्यसबेला नगण्य वस्तु दिइरहेका हुन्छौ,
आत्म-दान गर्नु नै वास्तविक दान हो
तिम्रा भौतिक सम्पदाहरू
अरु के नै हुन् र ?
जसलाई तिमी
फगत् यही एउटै डरका कारण
सुरक्षित राख्ने गर्दछौ कि –
तिमीलाई भोलि
यिनको आवश्यकता पर्न सक्दछ,
त्यो पनि कस्तो भोलि ?
भोलिका दिनले
त्यस अति दूरदर्शी कुकुरलाई के दिन सक्दछ –
जो तीर्थस्थलबाट
तीर्थयात्रीहरूका पछि लागेर
मरुभूमिका विनाबाटाका बाटाहरूमा
जताततै हड्डीहरू लुकाउँदै हिंड्ने गर्दछ,
अनि आवश्यकताको डर
के स्वयं एउटा आवश्यकता नै होइन र ?
तिम्रो कुवा पानीले भरिएको छ
तैपनि तिमी
तिर्खादेखि डराउँछौ भने
त्यसो भए के ?
त्यो एउटा कहिल्यै नमेटिने तिर्खा भएन र ?
कति मान्छेहरू यस्ता छन्
जो आफूसँग प्रशस्त हुँदा–हुँदै पनि
त्यसबाट एउटा सानो अंश
दान गरिदिन्छन् –
त्यो पनि यशको कामनाले,
तिनीहरूको यही परोक्ष कामनाले
त्यस दानलाई
अपर्याप्त बनाइदिएको हुन्छ,
कति मानिसहरू यस्ता पनि छन्
जससँग एकदमै थोरै छ
अनि उनीहरू त्यो पनि
साराका सारा दिइहाल्छन्,
यी मानिसहरू ?
जीवनमा अनि
जीवनको सम्पन्नतामा
विश्वास गर्नेहरू हुन्छन्
अनि, यिनीहरूको भण्डार
कहिल्यै पनि खाली हुने गर्दैन,
यस्ता अरु मानिसहरू छन् –
जो प्रसन्न भएर दान गर्छन्
अनि यही प्रसन्नता
तिनको पुरस्कार हो,
अर्काथरि छन्
जो कष्टले दान गर्छन्,
अनि यही कष्ट नै
उनीहरूको ईमान हो,
यस्ता पनि मान्छेहरू छन् –
जो दान गर्छन्
अनि तिनीहरूलाई
दान गर्दा कष्ट पनि हुँदैन,
न उनीहरूलाई
प्रसन्नताको कामना नै हुन्छ
न त पुण्य कमाउने,
यस्तो हो त्यो दान
मानौं कुनै एकान्त उपत्यकामा
मेंहदीले
आफ्नो मगमगाउँदो श्वास
सारा वायुमण्डलमा भरिदिएको होस्,
यस्ता दाताको हातका माध्यमले
परमात्माको सन्देश सुनिने गर्दछ
अनि, तिनका आँखाभित्रबाट
स्वयम् परमात्मा –
पृथ्वीतिर हेरेर मुस्कुराउने गर्दछ,
कसैको याचनामा दान गर्नु
असल काम हो,
तर त्योभन्दा पनि असल काम हो ?
नमागीकनै स्वेच्छाले दिनु,
यस्ता मुक्त दानीलाई
दानका क्रियाले भन्दा पनि
अधिक आनन्द कुन कुराले प्राप्त हुन्छ भने–
आफ्ना दानले उपकृत हुने
कुनै व्यक्ति
आखिर उसले भेट्टाइछाड्यो,
संसारमा यस्तो कुन कुरा छ
जसलाई तिमी
आफ्ना लागि जोगाएर राख्न चाहौला,
तिमीसँग जे–जति छ
त्यो सब कुनै न कुनै बेला
अरु कसै न कसैले पाउनेवाला नै छ –
त्यसो भए तिमी अहिल्यै किन दिंदैनौ ?
जसले गर्दा
दानको मौसम पनि तिम्रो हुनेछ
तिम्रा अंशभागीहरूको होइन,
तिमी प्रायः भन्ने गर्दछौ –
म दान त गरुँला
तर केवल त्यसलाई मात्रै
जो त्यो दान पाउन सुयोग्य होला,
तर तिम्रा बगैँचाका वृक्षहरू त
यसो भन्दैनन् नि !
न वनजङ्गलमा चर्ने पशुवृन्द,
तिनीहरू सबैलाई सधैं दिइरहन्छन्
बाँच्न सकियोस् भनेर,
किनभने नदिनु नै तिनको मृत्यु हो
निश्चय नै
जो दिन र रातहरूलाई पाउने हकदार होला
ऊ तिमीसँग बाँकी सबै वस्तु पाउने
अधिकारी पनि अवश्य होला,
त्यो जो विश्व-प्राणको
जल पिउने अधिकारी हो
ऊ तिम्रा क्षुद्र सरिताबाट
आफ्नो प्याला भर्ने हकदार पनि
अवश्यै हुँदो होला,
कुनै मरुभूमिको विशालताले पनि
तिमीद्वारा कसैको दानलाई स्वीकार गर्ने दृढताको,
साहसको,
…..होइन होइन,
दानशीलताको
बराबरी गर्न सक्ला त ?
तिमी को नै हौ र ?
जसका सामू आवश्यकता–ग्रस्त मानिसहरूले
आफ्नो शरीरलाई चिरफार गरेर
आन्द्राभुँडी देखाऊन्
अनि आफ्नो इज्जतलाई यसरी नङ्ग्याऊन् कि –
तिमी उनीहरूको औकात
नग्नता अनि शानलाई
लाजमर्दो स्थितिमा देख्न सक,
सबैभन्दा पहिले त
तिमी आफैंतिर फर्किएर के हेर भने–
तिमी स्वयं दाता बन्न
या दानको पात्रसम्म बन्न पनि
योग्य छौ के त ?
साँच्चिकै सोध्छौ भने त
जीवनले नै जीवनलाई
दान गरिरहेको हुन्छ,
जब कि तिमी –
जो दाता बन्ने दम्भ गरिरहेका हुन्छौ
केवल
त्यस दान-क्रियाको
साक्षीमात्र बन्दछौ,
अनि,
तिमी– जो आवश्यकता–ग्रस्त छौ
कृतज्ञताको काल्पनिक भार नबोक,
अन्यथा तिमीले स्वयं
आफ्ना दाताका काँधहरूमा
बोझिलो जुवा बोकाइदिनेछौ,
बरु केचाहिँ राम्रो हुनेछ भने –
तिमी आफ्ना दातासँग मिलेर
उनका उपहारहरूलाई
यसरी माथि उठाऊ –
जसरी पक्षीका दुवै पखेटा मिलेर
गहिरो उडान भर्दछन्,
किनभने
ऋणप्रति आवश्यकताभन्दा बढी
आभार जनाइराख्नु
त्यस दाताको उदारतामाथि
अविश्वास प्रकट गर्नु हो
जसकी आमा
यी उदारमना धरती हुन्
अनि बाबा
स्वयं परमपिता परमात्मा ।

