(पाठकहरूको अत्यधिक मागका कारण विश्वप्रसिद्ध लेखक खलील जिब्रानको ‘क्लासिक’ कृति देवदूतलाई पुनः प्रकाशन शुरू गरिएको छ । २६ भागको यो कृति डा. सनतकुमार वस्तीजीले नेपालीमा अनुवाद गर्नुभएको हो । यस कृतिलाई हरेक सोमवार एकेक भागमा प्रस्तुत गरिरहेका छौं ।
सम्पादक, विश्वसाहित्य ।)
तिम्रा सन्तान –
तिम्रा सन्तान होइनन्,
ती त विश्वात्माका
स्वयं आफैं प्रति जागृत हुने –
आसक्तिका छोरा–छोरी हुन्,
तिम्रा सन्तान –
तिम्रा माध्यमले उत्पन्न त हुन्छन्
तर तिमीबाट होइन,
यी तिमीसँग भलै होऊन्
तर तिम्रा आफ्ना वस्तु होइनन्,
तिमी उनीहरूलाई
आफ्नो माया त दिन सक्छौ
तर विचार होइन
किनभने– उनीहरूले आफ्नै विचार राख्दछन्,
तिमी आफ्ना घरमा
तिनको शरीरलाई त राख्न सक्छौ
तर आत्मालाई होइन,
किनभने– तिनका आत्माहरू
भविष्यका भवनमा निवास गर्दछन्
जहाँ तिम्रो गमन सम्भव छैन š
स्वप्नमा पनि,
तिमी उनका समान बन्ने
चेष्टा त गर्न सक्छौ
तर तिनीहरूलाई
आफ्नो सामान बनाउने लालसा नराख,
किनभने –
जीवन पछाडितिर धकेलिंदैन
न छुटेका कामका निम्ति नै रोकिन्छ,
तिमी त्यो धनुष हौ
जसबाट तिम्रा सन्तान जीवित बाणका रूपमा छोडिन्छन्,
धनुर्धारी प्रभु
अनन्तको दिशातिर निशाना साधेर
आफ्नो शक्तिले
तिमीलाई झुकाइदिन्छन्
जसले गर्दा
उनका बाणहरू तीव्र गतिमा
दूर–दूरसम्म पुग्न सकून्,
प्रभुका हातबाट
आफू झुक्नुको अनुभवलाई
आफ्नो आनन्दको कारण बन्न देऊ,
किनभने –
उनी आफ्ना हानिएका बाणसँग
जति प्रेम गर्दछन्
आफ्ना धैर्यवान् धनुषसँग पनि
त्यत्तिकै प्रेम गर्दछन् ।

