(पाठकहरूको अत्यधिक मागका कारण विश्वप्रसिद्ध लेखक खलील जिब्रानको ‘क्लासिक’ कृति देवदूतलाई पुनः प्रकाशन शुरू गरिएको छ । २६ भागको यो कृति डा. सनतकुमार वस्तीजीले नेपालीमा अनुवाद गर्नुभएको हो । यस कृतिलाई हरेक सोमवार एकेक भागमा प्रस्तुत गरिरहेका छौं ।
सम्पादक, विश्वसाहित्य ।)
वस्त्र
तिम्रो वस्त्रले
तिम्रो सुन्दरताको अधिकांश ढाकिदिन्छ
तर कुरूपता चाहिं
ढाक्न सक्दैन
लुगामा बेरिएर तिमी
यद्यपि पर्दाभित्र लुक्ने
स्वतन्त्रता पाउन चाहन्छौ
तर तिमी त्यसबाट कुनै न कुनै
लगामले कसिनेछौ
वा साङ्लाले बाँधिनेछौ
कति राम्रो हुन्थ्यो
यदि तिमीले घाम र हावासँग
आफ्नो त्वचाको अधिक र
लुगाको कम हिस्साका साथ भेट्न सके —
किनभने घामका किरणहरू
जिन्दगीका श्वास-प्रश्वास हुन्
अनि पवनका लहरहरू जिन्दगीका हात
तिमीहरूमध्ये कोही भन्दछन्-
उत्तरी हावाले नै त बुनेका हुन् नि यी लुगा
जसलाई हामीले लगाइरहेका छौं
अनि म पनि भन्छु-
हो, उत्तरी हावाले नै त हो नि
तर यिनलाई बुन्ने बेला
उसका हातमा थियो
अपमानको तान
अनि पौरुषहीन पाखुराहरूको ताना-बाना,
जब उसको काम पूरा भएको थियो
अनि त्यस वनान्तमा
ऊ खित्का छोडेर हाँसेको थियो
के कुरा नबिर्स भने
शील त
संस्कारहीन मानिसहरूका
अश्लील दृष्टिबाट बच्नका लागि
एउटा ढालमात्र हो
जब संस्कारहीन मानिसहरू
समाप्त भइसकेका हुनेछन्
त्यसबेला त्यही शील
के चेतनाको हतकडी
अनि त्यसको सडे–गलेको अवशेषभन्दा
भिन्न होला र ?
अनि, फेरि केचाहिं नबिर्स भने-
धरती
तिम्रा नाङ्गा गोडाको
स्पर्श पाएर
धन्य हुन्छिन्
अनि, पवन –
तिम्रा खुला केशसँग
खेल्नका लागि
आतुर रहने गर्दछ ।

.jpg)