साहित्यपोस्ट डट कम

पुनः प्रकाशन देवदूत १ : प्रेम

पुनः प्रकाशन देवदूत १ : प्रेम

(पाठकहरूको अत्यधिक मागका कारण विश्वप्रसिद्ध लेखक खलील जिब्रानको ‘क्लासिक’ कृति देवदूतलाई पुनः प्रकाशन शुरू गरिएको छ । २६ भागको यो कृति डा. सनतकुमार वस्तीजीले नेपालीमा अनुवाद गर्नुभएको हो । यस कृतिलाई हरेक सोमवार एकेक भागमा प्रस्तुत गरिरहेका छौं ।

सम्पादक, विश्वसाहित्य ।)

खलील जिब्रान र उनको कृति देवदूतः संक्षिप्त परिचय

खलिल जिब्रान

खलील जिब्रान ६ फेब्रुअरी सन् १८८३ मा लेबनान पर्वतको बशरी गाउँमा जन्मिएका थिए । उनकी आमा थिइन्, कलीमी रहीमी, जसले क्याथोलिक ईसाइको धार्मिक परम्पराअनुरूप आफ्नो छोरालाई हुर्काइन् । मानव-प्रेम र करुणाको ईश्वरीय अनुकम्पाले सम्पन्न शिक्षा एवम् संस्कार दिएर ।

खलीलले प्रारम्भिक शिक्षा अमेरिकामा पाए पनि पछि पुनः लेबनान आएर उच्च–शिक्षाको अध्ययन सम्पन्न गरे । अरबी, फ्रान्सेली र अंग्रेजी भाषामा समान अधिकार प्राप्त गरेका खलील अत्यन्त मेधावी र ऊर्जस्वी पुरुष थिए ।

एक्काइस वर्षको उमेरमा उनको प्रथम कृति प्रकाशित भयो, स्पिरिट्स रिबेलियन्स् । अरबी भाषामा रचित यस ग्रन्थले ठूलो लोकप्रियता पायो । धार्मिक पाखण्ड र राजनीतिक अत्याचारको कठोर भत्सर्ना गरिएको यसै ग्रन्थका कारण खलीलको प्राण संकटमा प-यो । उनी फेरि अमेरिका पुगे ।

त्यहाँ उनले चित्रकला एवम् साहित्यको साधनामा आफूलाई समर्पित गरे अनि आफ्नै स्टुडियो खोले । युवावस्थामा सलमा करामी नाम गरेकी युवतीसँग उनको प्रगाढ प्रेम बस्यो तर कुनै विशप (धर्मगुरु) को हस्तक्षेपले ती युवती खलीलकी पत्नी बन्न सकिनन् । अन्ततः खलील आजीवन अविवाहित नै रहे । १० अप्रिल १९३० मा मोटर दुर्घटनामा परेपछि ४८ वर्षकै संक्षिप्त उमेरमा खलीलको जीवन-यात्रा यकायक टुंगियो ।

खलीलले लगभग २५ ग्रन्थको प्रणयन गरे । ती सबै उनका स्वरचित चित्रहरूले सुसज्जित रहेका छन् । ‘जीससः द सन अफ म्यान’ उनको अन्तिम कृति हो । प्रणय, सौन्दर्य, कविता, मानवीयता एवम् प्रकृति-प्रेम आदि विषयमा उनी सृजनशील गद्य एवञ्च काव्यका माध्यमले आफ्ना विचार र भावनाको कलात्मक अभिव्यक्ति दिन्छन् ।

प्रस्तुत रचना ‘द प्रफेट’ उनको सर्वश्रेष्ठ कृति हो । यस कृतिलाई उनका सबै ग्रन्थहरूको सार-संग्रह मानिन्छ । चार वर्षसम्म बारम्बार परिष्कार-संस्कार सम्पन्न गरेपछि बल्ल यो कृति प्रकाशमा ल्याइयो । आधुनिक युगलाई देव-सन्देशले सम्बोधन गर्ने हुँदा यसको शीर्षक रह्यो, देवदूत ।

मानव–मनमा उब्जने अनेक रहस्यमय जिज्ञासाको मर्मस्पर्शी ढंगले समाधान प्रस्तुत गर्ने यो कृति एक उदात्त मानव–मनको गम्भीर भैकन पनि सरल चिन्तन पेश गर्दछ । समग्र मानव–जातिको कल्याण–कामनाले सम्पन्न यो कृति मानवको मन र मस्तिष्कलाई माझेर सफा पार्दै अभिनव जीवनको शुभारम्भ गर्ने अद्भुत एवम् सुखद् प्रेरणा प्रदान गर्ने अनुपम रचना हो ।

…..

साहित्य–पोस्टका प्रिय पाठक बन्धु,

स्वागतम् – सुस्वागतम्ः

आउनुहोस्, अब यसै अमर–कृति देवदूत को पहिलो पाना पल्टाऔं र नूतन काव्यारम्भका साथ– नववर्ष २०८२ को शुभारम्भ गरौंः

प्रस्तुत छ – पहिलो रचना

द प्रफेट (देवदूत)

प्रेम

जब प्रेमले तिमीलाई बोलाउँछ

उसका पछि लाग

हुन त ती मार्गहरू कठिन र दुर्गम छन्,

जब उसका दुवै मुहुनीदार पखेटाले

तिमीलाई आफ्नो छातीमा समेट्न थाल्छ

समर्पित होऊ,

उसले काखीमा लुकाएर भिरेको तरवारले

तिमीलाई घायल नै बनाएछ भने पनि

बनाउँदै गरोस्,

जब उसले तिमीलाई केही भन्छ

त्यसमा विश्वास गर,

हुनसक्छ –

उसका वाणीले तिम्रो मीठो सपनालाई

भताभुङ्ग पारिदेओस्

जसरी उत्तर दिशाबाट बहने हिमाली हावाले

पूरै बगैंचालाई उजाड पारिदिन्छ,

किनभने प्रेमले यदि तिमीलाई

राजमुकुट पहि-याउन सक्दछ भने

शूलीमा चढाउन पनि सक्दछ,

उसले यदि तिमीलाई

फैलाउन सक्दछ भने

काँटछाँट पनि गर्न सक्दछ,

उसले जसरी उचाइमा चढेर

घामतिर मुन्टो उठाउँदै गरेका

तिम्रा कलिला हाँगाबिंगाहरूलाई

प्रेमले सुम्सुम्याउँछ,

त्यसै गरी

उसले तिम्रा जरा–जरासम्म उत्रिएर

तिमीलाई झक्झक्याउँछ पनि

अनि

तिम्रो जमीनभित्रको पकडलाई खुकुल्याउँछ पनि,

उसले तिमीलाई

काटेको बालीको मुठालाई जस्तै थुप्य्राउँछ,

अनि तिमीलाई नङ्ग्याउन

कुट्छ र पिट्छ,

तिमीलाई भुसबाट छुट्याउन

निफन्छ र केलाउँछ,

तिमीलाई सफा र सुकिलो बनाउन

जाँतोमा पिँध्छ,

जबसम्म तिमी लचिलो बन्दैनौ

तबसम्म मुछ्छ र माड्छ,

अनि बल्ल उसले

आफ्नो पवित्र अग्निमा तिमीलाई पकाउँछ

अनि, तिमीलाई प्रभुको नैवेद्यका लागि

चोखो रोटी बनाउँछ,

प्रेमले तिमीलाई कतिसम्म सधाउँछ भने

तिमी आफ्नै हृदयको रहस्य बुझ्न सक्नेछौ,

अनि त्यो ज्ञान पाएर

समष्टि प्राणकै ढुकढुकी बन्न सक्नेछौ,

तर यदि तिमीलाई

यी कुराहरूसँग डर लाग्छ भने,

अनि

–मलाई त केवल प्रेमको शान्ति

अनि आनन्द मात्र

प्राप्त गर्न मन लाग्छ –

भन्छौ भने

म तिमीलाई एउटै सल्लाह दिन्छु–

तिमी आफ्नो नग्नतालाई ढाक र

प्रेमको यस खेतबाट बाहिर निस्क,

अनि जाऊ त्यस जगत्मा–

जहाँ ऋतुहरू हुन्नन्,

जहाँ तिमी हाँस्यौ भने पनि

खित्का छोडेर हाँस्न सक्न्ने छैनौ,

रोयौ भने पनि

डाको छोडेर रुन सक्ने छैनौ,

प्रेम केवल स्वयंलाई नै दिन्छ

र स्वयंबाट नै पाउँछ,

प्रेम कसैमाथि आधिपत्य जमाउँदैन

न कसैको आधिपत्य स्वीकार नै गर्दछ

किनभने

प्रेमका लागि प्रेम नै पर्याप्त छ,

तिमी जब प्रेम गर्छौ, यसो नभन-

मेरा प्राणप्रिय मेरो हृदयमा बस्दछन्,

बरु तिमी यसो भन-

म मेरा प्राणप्रियको हृदयमा बस्दछु,

तिमी कहिल्यै नसोच-

तिमी प्रेमको मार्गदर्शन गर्न सक्छौ,

यदि सत्पात्र छौ भने

प्रेमले स्वयं तिम्रो मार्गदर्शन गर्नेछ,

स्वयं आफैंलाई पाउनुका अतिरिक्त

प्रेमको कुनै अरु इच्छा हुँदैन,

तर यदि तिमी प्रेम गर्दा पनि

इच्छा नगरी रहन सक्दैनौ भने

यही इच्छा गर-

तिमी पग्लिएर झरना झैं यसरी झर्न सक

जसले सुनसान रातमा पनि

मधुर मोहक गीत गुनगुनाउँछ,

तिमी अतिशय संवेदनशील हुनुको पीडा जान,

तिमी प्रेमको आफ्नै धारणाबाट आहत होऊ,

अनि बग्न देऊ,

आफ्नो रक्त

आफ्नै सहमतिले

आफ्नै खुशीले,

तिमी एकाबिहानै ब्यूँझदा

तिम्रो हृदय

आनन्दले ढुक्ढुकिइरहेको होस्,

अनि तिमी

प्रेमको एउटा नयाँ मादक दिन पाएकोमा

कृतज्ञता व्यक्त गर्न लाग,

मध्याह्नमा विश्राम गर्दा

तिम्रो हृदयले

प्रेमको चरम आनन्दलाई

मनन गरिरहोस्,

अनि अन्त्यमा,

राति जब तिमी विश्रामका लागि

आफ्नो बिछ्यौनामा पल्टन्छौ

तिम्रो हृदयमा

प्राणप्रियको कल्याणका लागि

प्रेमपूर्ण प्रार्थना होस्,

अनि ओठहरूमा

उसकै प्रशंसाको गीत ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.