(पाठकहरूको अत्यधिक मागका कारण विश्वप्रसिद्ध लेखक खलील जिब्रानको ‘क्लासिक’ कृति देवदूतलाई पुनः प्रकाशन शुरू गरिएको छ । २६ भागको यो कृति डा. सनतकुमार वस्तीजीले नेपालीमा अनुवाद गर्नुभएको हो । यस कृतिलाई हरेक सोमवार एकेक भागमा प्रस्तुत गरिरहेका छौं ।
सम्पादक, विश्वसाहित्य ।)
तिम्रो सुख
तिम्रो दुःखकै खुला मुहार हो,
जुन पोखरीबाट आज
तिम्रो हास्य छचल्किइरहेको छ
यो त्यही पोखरी हो
जो प्रायः
तिम्रै आँंशुले टिलपिल भरिने गर्दछ,
यसबाहेक अरु के नै हुन सक्दछ ?
दुःखले जति गहिराइसम्म
तिम्रो मनको खाडल ताछ्दै जान्छ
त्यति नै सुख
त्यसमा अटाउन सक्छ,
तिम्रो मधुरस भर्ने प्याला
के त्यही प्याला होइन ?
जुन कुमालेको भट्टीमा
तपेको थियो,
यो बाँसुरी –
जसले तिम्रो सन्तप्त आत्मालाई शीतल पार्दछ
के त्यही बाँसको सानो टुक्रा होइन ?
जसको छातीमा
तताएको सुइरोले रोपेर
प्वालै प्वाल बनाइएको छ,
प्रसन्नताका पलमा
आÇनो हृदयको गहिराइमा चियाऊ
तिमी पाउनेछौ –
जुन कारणले तिमीलाई दुःख दिएको थियो
त्यसैले तिमीलाई
अहिले सुखी तुल्याएको छ,
शोकका क्षणमा
फेरि एकपल्ट आफ्ना हृदयमा झुकेर हेर
तिमी पाउने छौ-
वास्तवमा तिमी
त्यसै वस्तुका लागि रोइरहेका छौ
जो कुनै बेला
तिम्रो हर्षको कारण हुने गर्दथ्यो,
तिमीमध्ये कोही भन्छन्-
दुःखभन्दा सुख श्रेष्ठ हो,
अनि अरु भन्दछन्-
होइन दुःख नै श्रेष्ठतर हो,
तर म तिमीसँग भन्छु–
यी दुवै अविभाज्य छन्
दुवै एकसाथ आउँछन्,
यीमध्ये एउटा
तिमीसँग जब भोजन गर्न बसेको हुन्छ
त्यसबेला याद राख-
अर्कोचाहिं
पलङमा सुतिराखेको हुनेछ,
साँच्चिकै सोध्दछौ भने
तिमी तराजुको डण्डीजस्तै
आÇना सुख र दुःखका पलडाका बीचमा
उठिरहेका र
झुकिरहेका हुन्छौ,
तिमी खाली त्यसबेला मात्र
स्थिर र सन्तुलित रहन सक्दछौ
जब तिमी
अन्तर्मनबाट खाली हुन्छौ,
जब संसारका
समस्त सम्पदाका स्वामीले
आफ्नो
सुन र चाँदी तौलनका लागि
तिमीलाई उठाउँछन्
त्यसबेला के
सुख र दुःखका पलडामा
उतार चढाव हुनु जरूरी हुन्छ ?

