साहित्यपोस्ट डट कम

पुनः प्रकाशन देवदूत ७ – सुख र दुःख

पुनः प्रकाशन देवदूत ७ – सुख र दुःख

(पाठकहरूको अत्यधिक मागका कारण विश्वप्रसिद्ध लेखक खलील जिब्रानको ‘क्लासिक’ कृति देवदूतलाई पुनः प्रकाशन शुरू गरिएको छ । २६ भागको यो कृति डा. सनतकुमार वस्तीजीले नेपालीमा अनुवाद गर्नुभएको हो । यस कृतिलाई हरेक सोमवार एकेक भागमा प्रस्तुत गरिरहेका छौं ।

सम्पादक, विश्वसाहित्य ।)

तिम्रो सुख

तिम्रो दुःखकै खुला मुहार हो,

जुन पोखरीबाट आज

तिम्रो हास्य छचल्किइरहेको छ

यो त्यही पोखरी हो

जो प्रायः

तिम्रै आँंशुले टिलपिल भरिने गर्दछ,

यसबाहेक अरु के नै हुन सक्दछ ?

दुःखले जति गहिराइसम्म

तिम्रो मनको खाडल ताछ्दै जान्छ

त्यति नै सुख

त्यसमा अटाउन सक्छ,

तिम्रो मधुरस भर्ने प्याला

के त्यही प्याला होइन ?

जुन कुमालेको भट्टीमा

तपेको थियो,

यो बाँसुरी –

जसले तिम्रो सन्तप्त आत्मालाई शीतल पार्दछ

के त्यही बाँसको सानो टुक्रा होइन ?

जसको छातीमा

तताएको सुइरोले रोपेर

प्वालै प्वाल बनाइएको छ,

प्रसन्नताका पलमा

आÇनो हृदयको गहिराइमा चियाऊ

तिमी पाउनेछौ –

जुन कारणले तिमीलाई दुःख दिएको थियो

त्यसैले तिमीलाई

अहिले सुखी तुल्याएको छ,

शोकका क्षणमा

फेरि एकपल्ट आफ्ना हृदयमा झुकेर हेर

तिमी पाउने छौ-

वास्तवमा तिमी

त्यसै वस्तुका लागि रोइरहेका छौ

जो कुनै बेला

तिम्रो हर्षको कारण हुने गर्दथ्यो,

तिमीमध्ये कोही भन्छन्-

दुःखभन्दा सुख श्रेष्ठ हो,

अनि अरु भन्दछन्-

होइन दुःख नै श्रेष्ठतर हो,

तर म तिमीसँग भन्छु–

यी दुवै अविभाज्य छन्

दुवै एकसाथ आउँछन्,

यीमध्ये एउटा

तिमीसँग जब भोजन गर्न बसेको हुन्छ

त्यसबेला याद राख-

अर्कोचाहिं

पलङमा सुतिराखेको हुनेछ,

साँच्चिकै सोध्दछौ भने

तिमी तराजुको डण्डीजस्तै

आÇना सुख र दुःखका पलडाका बीचमा

उठिरहेका र

झुकिरहेका हुन्छौ,

तिमी खाली त्यसबेला मात्र

स्थिर र सन्तुलित रहन सक्दछौ

जब तिमी

अन्तर्मनबाट खाली हुन्छौ,

जब संसारका

समस्त सम्पदाका स्वामीले

आफ्नो

सुन र चाँदी तौलनका लागि

तिमीलाई उठाउँछन्

त्यसबेला के

सुख र दुःखका पलडामा

उतार चढाव हुनु जरूरी हुन्छ ?

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.