साहित्यपोस्ट डट कम

प्रोफेसर ताराकान्त : पठन प्रवेश

प्रोफेसर ताराकान्त : पठन प्रवेश

मदनमणि दीक्षित र पारिजात (विष्णु वाइवा) यी दुवै नेपाली साहित्यका गौरव हुन् । तर तानातान चल्यो । एउटा भन्छ …यो हाम्रो प्रगतिशील, अर्को भन्छ यो अमूल्य निधि । पछिल्लाले तान्न सकेन – गुण-गरिमाका दृष्टिले हेर्थ्यो । प्रगतिशीलको वैचारिक शक्ति नवीन पनि थियो र जमघट पनि प्रचुर थियो ।

०००००

प्रोफेसर ताराकान्त पाण्डेय मेरा भाइपुस्ताका सहकर्मी हुन् प्राध्यापन क्षेत्रमा । उनी संयुक्त राज्य अमेरिका आएका वेला भेट गर्ने सुयोग मिल्यो । त्यही नै अन्तिम भेट भएछ ।

‘ताराकान्त’ भन्ने कृति ५ सय ८४ पेजमा विस्तारित छ । जम्मा ६० जनाका लेखहरूको सम्पादन परिचय, कृति, संस्मरण गरेर तीन खण्डमा गरिएको छ । यसको भौतिक स्वरूप अर्थात् कला, कागज, मसी मुद्रण र कटिङ स्वच्छ–सुन्दर छ । समग्रमा पुस्तकले कुशल सम्पादक पाएको बुझिन्छ । भौतिक स्वरूपलाई प्रस्तुत गर्ने ‘सनातन’ प्रेस र इच्छुक सांस्कृतिक प्रतिष्ठानले ताराको स्मृतिमा कृति प्रकाशनमा ल्याएर पाठकलाई ऋणी बनाएका छन् । धन्यवाद भन्नुपर्छ ।

कभर पृष्ठको फोटोले मलाई ताराकान्तसँगै संवाद गर्दैछु, उनी मेरै अगाडि छन् – त्रिचन्द्र कलेजको परिसरको चौरमा उभिएरै हामी संवाद गर्दैछौं भन्ने आभास दिन्छ । यो कृति, यो फोटो सदैव मेरै अगाडि रहिरहोस् भन्ने लाग्छ । यस्तो क्षणमा म वेला वेला अश्रुसिक्तझैँ हुन पुग्छु । म अश्रु तर्पण भन्छु यसलाई ।

इच्छु सांस्कृतिक प्रतिष्ठान

सम्पादकीयले प्रोफेसर पाण्डेयलाई मार्क्सवादी समालोचक र सौन्दर्य चिन्तक भनेर चिनाएको छ । यो स्थूल र वस्तुगत अवलोकन हो । अन्य कुरा भित्र व्यक्त गरिएका छन्, ती पठनीय, मननीय र गम्भीर विमर्शका विषय भएर रहेका छन् ।

आधुनिक नेपाली कविता बुझ्ने र अन्तरङ्ग छाम्ने व्यक्ति ताराकान्त नै हुन् । उनको पठन पृथक, मौलिक र वस्तुगत हुन्छ– पृष्ठभूमि बुझेर । त्यसैले उनको कवितामाथिको मूल्याङ्कन अव्वल हुन्छ । म उनलाई उनको सूक्ष्म दृष्टि र समीक्षाको औचित्यप्रति सम्मान गर्छु । पहिलो ग्रन्थको प्रकाशनसँगै उनको कवितामाथिको प्रखर चेत मुखर भएको हो ।

दोस्रो –

मैले शीला योगीको लेख पढें । शीलाले तारालाई परम्पराभन्दा भिन्न स्थानमा राखेकी छन् । ‘पतिपरमेश्वर’ हैन, अपितु असल, निर्व्याज चरित्रको अत्यन्त सहयोगी मित्रको हैसियतमा तारालाई देखिन् । ताराको सरलता र सद्भावपूर्ण व्यवहारलाई स्वयम् पनि विवेकको दृष्टिले उनी सधैँ अमल र पवित्र ठान्ने राख्ने व्रतमा रहेकी छन् ।

आज जति आँसु बगाइन् त्यो भन्दा बढी त बस ओर्लेर घर जाँदाको पैदल यात्रामा बगाएकी छन् । यात्राको त्यो सानो क्षणमा ताराको अभाव सम्झेर उनले जति पीडा झेलिन् – त्यसको अभिव्यक्ति दिएर हामीलाई पनि उनले आफूसँगै रुवाएकी छन् – धेरैचोटि ।

पतिपत्नीका सम्बन्ध अन्यतम कोटिको पनि हुन्छ, अझ विशिष्ट दर्जाको हुन्छ । त्यसको निर्वाहमा परस्पर दुवै पक्षले विश्वास, सम्मान र परिस्थितिलाई समेत आत्मसात गर्छन् । युग्मभावले उकेरा लगाउने र परिवेशलाई आफ्नो अनुकूल बनाउने सोचबाट मार्ग प्रशस्त पार्ने पाठ आज पनि शीलाबाटै सिक्नु पर्छ । कुनै दिन कुनै पनि सन्दर्भमा शीलाले प्रश्न, तर्क, व्यवधान वा असहमति भोग्नु परेन न ताराले कुनै दिन कुनै क्षण असहज ठान्नुपर्यो । बरु राधा र कृष्णले छल गरे होला, गुनासो पोखे होला (गोपी गीतमा) तर राधाकृष्णमय यो जोडीले एक अर्काबाट मृदुताकै अनुभव गर्यो– परिवेशले प्रताडन दिए पनि । तारा बारम्बार थुनामा परेकै हुन् । शायद त्यहाँ पनि शीलाका गुनासो रहेन ! उनी ममता र योगमा न्यानो दिँदैरहिन् ।

शीलाको लेखाइ सरल र निश्छल छ । विवाहको प्रसंगमा, पढाइ, परिवार, संगठन र विवाहको सान्दर्भिकतामाथि सूक्ष्म र गहन चिन्तन प्रस्तुत छ । उमेर, परिवेश र संकल्पलाई मनस्तत्वबाट बडो मार्मिक ढंगले अनुशीलन गरिएको छ – छल छैन । तारा छाता मात्र होइन आलोक र दृष्टि पनि बने ।

विद्या पाण्डेको विवाह प्रसंगलाई शीलाका विवाहको प्रसंगले पनि संझाउँछ । विवाहमा संगठनका सदस्यको सम्मति, अनुमति र सहयोगको उल्लेखन बडो उदात्त,व्यवहारिक र युगीन लाग्दछ । विवाह पनि, संगठन पनि, सक्रियता पनि, पढाइ पनि र पछि जागिर पनि । शायद यो बहुमुखी जीवन यात्रा विद्याले गर्नु परेन जति शीलाले गर्नु पर्यो । शीलाको दृढता र लगन अभिनन्दन गर्न लायकको छ ।

बुद्धिमती, कर्मठ गृहस्थ महिलाका लागि संगठनबद्ध जीवनको यात्रामा शीलाको यो लेख मार्गदर्शक, सहयोगी वा पोषक हुनेछ । अनुभवले खारिएको प्रबुद्ध नारीको जीवनयात्राबाट हाम्रो समाजले नयाँ र उपयोगी यात्रा–पथ र चिन्तनका चौतारी निर्माण गर्दै जाने अनन्त सम्भावना देख्ने छ । थप, प्रत्येक नारी शक्तिमती छन् र स्वस्थ चिन्तन छ भने लक्ष्यमा पुग्न सक्छन् किन्तु चिन्तन, स्वच्छता र क्रियाशीलता देखिनु आवश्यक छ र परेवाको जोडीमा विश्वास र प्रेमले निरन्तरता पाए कर्मयात्रामा न बादल आउँछन् न झन्झावात । पौरखको फल हरेकलाई स्वादु लाग्छ । त्यसै पनि आमा वर्गको कर्म क्षेत्र अलिक व्यापक र विविधितापूर्ण नै हुन्छ, फेरि पनि घडी सानै हुन्छ ।

छोरी तितीक्षाका लागि समय तालिकाको प्रसंग बडो मार्मिक छ । कलिलो सन्तानको संरक्षण संवर्ध्दन मा दम्पतिको संलग्नता, संयम र संकल्प धेरैका लागि प्रेरक रहेको हुनुपर्छ । आफ्नो सन्तति अरुका लागि समेत छहारी र चौतारी हुन सकेकोमा छोरी तितीक्षाप्रति अहिले हामी गौरव गर्ने गर्दछौं– असल बगैँचाको बिरुवा !

ताराको स्मृति दिवसमा निकालेको यो ग्रन्थ सचेत बुध्दिजीवीको ज्ञान–प्रदर्शनी पनि हो । यद्यपि ताराले २००२ मा म उड्ने वेलामा शीलाको इमेलमा संवाद गरौं है भनेका थिए । म इमेल चलाउँदिन । आज पनि अल्छी नै छु । उनी पुस्तक भन्थे । म पुर्याउने यत्न गर्थे । यो बाटाकै कर्म हुन्थ्यो । तर तारा प्रोफेसर भएर अवकाशमा बसेनन् । मैले समुद्र तरें । समय गएको थाहै भएन ।

अहिले यो स्मृतिग्रन्थ पल्टाएपछि उनी पहुँचेका मार्क्सवादी लेखक–मीमांसक भइसकेका रहेछन् । मार्क्सवादी साहित्यकारको संसदमा प्रयुक्त हुने गरेका पारिभाषिक शब्दावलि मेरालागि दुरूह नै भएका छन् । तैपनि फेरिलाई बाँकी राखेर भनौँ– तारालाई शैक्षिक पथबाट उठेर मार्क्सवादी समीक्षण र सौन्दर्य चिन्तक आचार्यको हैसियतमा विज्ञहरूले स्थापित गरेको पाएँ । यो प्रसन्नताको विषय हो ।

विचारक तथा विद्वान् निनु चापागाईं र चैतन्यका विचार पठनीय छन् । उहाँहरूको उपस्थितिले ग्रन्थको गरिमा बढेको अनुभव गर्दैछु । लेखक दोहोरिनु पाठकका लागि राम्रो हो । सम्पादनमा असावधानी देखिन्छ ।

प्रोफेसर ताराकान्त पाण्डेयका विषममा यो ग्रन्थ नै पर्याप्त छैन । अन्यपक्षबाट उनको व्यक्तित्व हेर्न बाँकी छ । त्यसतर्फ ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ले ध्यान पुर्याओस् भन्ने सदिच्छा छ । उचित अवसर ठानेर औचित्य र विवेकका लागि यो सन्दर्भ जोड्नु आवश्यक ठान्छुः

मदनमणि दीक्षित र पारिजात (विष्णु वाइवा) यी दुवै नेपाली साहित्यका गौरव हुन् । तर तानातान चल्यो । एउटा भन्छ …यो हाम्रो प्रगतिशील, अर्को भन्छ यो अमूल्य निधि । पछिल्लाले तान्न सकेन – गुण-गरिमाका दृष्टिले हेर्थ्यो । प्रगतिशीलको वैचारिक शक्ति नवीन पनि थियो र जमघट पनि प्रचुर थियो । दुवै स्रष्टालाई प्रगतिशीलको मोहर लगाएर तानियो । पछि एउटा पक्षले तेरै प्रगतिशील भनेर पन्सियो, पन्सायो । अर्काले केही समय चढायो – बढायो र बिर्सिदियो । किनकि गैरसाहित्यका पण्डितहरूतर्फ दौड्नु आवश्यक ठानियो र यी दुवै साहित्यकारहरू धूमिल–धूमिल हुँदै बिर्सिदै गए । कहिले कहीं कतै कसैले श्राध्द गर्छन् ।

सिर्जनाले महत्व पाउनु पर्छ त्यसबाटै स्रष्टाको सम्मान झल्कनुपर्छ । फेरि सष्टा जहिले पनि प्रगतिशील हुन्छ । उसलाई राजनीतिको तन्तु जोडेर प्रगतिशील बनाइरहनु पर्दैन । स्रष्टा मात्र स्रष्टा हुन्छ,त्योभन्दा बढी ऊ विद्वान् र विचारक हुन्छ | उसलाई विचारको मोहरले चिनाउनु पर्दैन । विचार र युगभन्दा पर र माथि हुन्छन् – स्रष्टाहरू । त्यसैले प्रोफेसर ताराकान्त पाण्डेयको व्यक्तित्वको अधिमूल्यन साहित्यको पीठिकाभित्रै हुनुपर्छ जो खुला संसारमा पुग्न र बुझ्न सकिने बनोस् । मेरो र तेरोको भावले क्षति पुर्याउँछ कि ! भय यति मात्र हो । उनको व्यक्तित्व सबैको र सबैतिरको हुनसकोस् । शुभकामना ।

नोभेम्बर २५, २०२५

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.