साहित्यपोस्ट डट कम

प्रिय पीर, सलाम तिमीलाई

प्रिय पीर, सलाम तिमीलाई

त्यो साँझ विचार अलि बढी नै ओहोरदोहोर गर्दै थियो । मस्तिष्कलाई सुटुक्क सोधेँ, किन यस्तो ? मस्तिष्कले केही क्षण विचारकै वेगसँग बत्तिन अह्रायो ।

लामो लामो श्वास तान्दै रहस्य जान्न समाधि कसेँ, ध्यानस्थ योगीले जस्तो । एउटा मनले प्रश्न सोध्ने र अर्को मनले उत्तर दिने क्रम निरन्तर चलेको चाल पाएँ । अलि सहज र स्वाभाविक अवस्थामा फर्किएपछि यो ज्ञात भयो- हाम्रो जागृत अवस्था यसैगरी तर्कको जुवारी खेल्दै बित्दो रहेछ ।

कस्ता कस्ता तर्कना आउँछन् त मनमा ? मनले अर्को मनलाई प्रश्न सोध्यो । अर्को मन बोल्यो – “जस्तो कि भकारीमा मुसो पस्यो, कसरी धान जोगाउने होला ?; छोरीको फी तिर्न पैसा नपुग्ने भो, कसरी बचत बढाउने होला ?; कोलगेट कि लाल दन्तमन्जन, कुनले दाँत सेतो पार्छ होला ?; शरीरको तौल ह्वात्तै बढ्यो, कसरी सन्तुलनमा राख्ने होला ? यस्तै यस्तै ।”

मनभित्रको यस्तो हाजिर जवाफ, मानसिक तर्कना, समस्या उठाउने र समाधान खोज्ने प्रक्रिया आदिले मानस जगत हलचल भइरहेको हुँदो रहेछ । मनको भूगोलमा तर्कनाको पराकम्प चली नै रहने रहेछ । शरीर हेर्दा अटल पहाडझैँ उभिएको देखिए तापनि विचारको लाभा भकभकी उम्लिरहँदो रहेछ मनमा । यस्तै मानसिक ऊहापोहकै कारण छातीमा हलुका जलन उत्पन्न भइरहने अवस्थाको नाम नै पीर रहेछ ।

हाम्रा पुर्खाले ‘चिन्ताले चितामा पुर्‍याउँछ’ भन्ने उखान त बनाए तर ‘पीरले परान लिन्छ’ भन्ने उखान बनाएनन् । यो सोचेर कि- शिर नभएको खोला आजसम्म नभेटिए जस्तै पीर नभएको मानिस पनि फेला पर्नेवाला छैन । संवेग सामान्य रूपमा असन्तुलित भई मन भारी हुने अवस्था आउनेबित्तिकै मनमा पीरले घर गरिसक्तो रहेछ ।

केहीबेरको भावनात्मक उडानपछि मन पूर्णरूपमा वर्तमानमा फर्किएको पाएँ । अब मन पीरको गुरुत्व, प्रभाव र प्रकृतिका बारेमा समाजपरक र वस्तुपरक ढङ्गले चिन्तनमा डुब्न थालेको आभास मिल्यो ।

पीर यस्तो परिवारबोधक शब्द हो, जसभित्र दु:ख, सन्ताप, कष्ट, पीडा जस्ता सदस्यहरू स्वत: समावेश भएर आउँछन् । विगतदेखि वर्तमानसम्म, सगरदेखि सागरसम्म, अमीरदेखि फकिरसम्म, चुल्होदेखि चन्द्रमासम्म पीरले स्पर्श नगरेको कुनै प्राणी वा जगत् नै छैन । पीर मान्छेलाई त छँदैछ, चराचर जगतलाई पनि केही न केही पिरलोले सताउँदै आएको छ ।

घामलाई बादलले निल्ने हो कि भन्ने पीर छ । बादललाई हुरीले लछारपछार लगाउला कि भन्ने पीर छ । खहरेलाई नदीसामु अस्तित्व समर्पण गरेर स्वत्व गुमाउनु पर्ला भन्ने पीर छ । नदीलाई समुद्रमा समाहित भएर पहिचान गुमाउनु पर्ने पीर छ । सूर्य र चन्द्रमालाई ग्रहणको कालो धब्बाले कुनै दिन कान्तिक्षय गर्ला कि भन्ने पीर छ । संसारै पीरमा छ, फेरि पीरमै संसार पनि छ ।

पानीको फोका झैँ उठ्दै फुट्दै गर्ने मध्यम खालको दु:ख हो पीर । एयरपोर्टमा समयमै नपुगे हवाइजहाज छुट्न सक्छ । रातो बत्तीमा नरोकिए ट्राफिकले चिट काट्न सक्छ । यी र यस्तै सोचाइमा मन भुटभुटिँदा उत्पन्न हुने छ्टपटी, बेचैनी र घबडाहट नै मनोवैज्ञानिक भाषामा पीर हो । पीर सामान्यतया कुनै कुराको अभाव, नोक्सानी, कसैको अड्मिल्दो व्यवहार आदिका कारण उत्पन्न हुन्छ ।

नेपाली बृहत् शब्दकोषले कुनै नोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा उत्पन्न हुने मानसिक तापको अर्थमा पीरलाई अर्थ्याएको छ । नोक्सानी बेहोर्नु वा असहज परिस्थिति झेल्नु मानव जीवनका दैनन्दिन गतिविधि हुन् । नोक्सानी र त्यसपछि पनि निरन्तर नोक्सानी, असहजता र त्यसपछि पनि सधैँ असहजताको अवस्था उत्पन्न भयो भने चाहिँ पीर बढेर तनाव, तनाव छिप्पिएर चिन्ता र चिन्ता गहिरिएर डिप्रेसन (अवसाद) हुँदै अभिघात (ट्रमा) को अवस्थामा पुग्ने सम्भावना रहन सक्छ ।

अपवाद बाहेक सृष्टिकर्ताको विधान त्यति निर्दयी र निकम्मा देखिँदैन । रातपछि दिन, दु:खपछि सुख, शिशिरपछि वसन्त, धुम्मिएको आकाशपछि खुलेको आकाश….. । विधाताको विधान यस्तै यस्तै दफा-उपदफा मिलाएर सन्तुलित तुल्याइएको हुन्छ शायद ! त्यसैले रात-दिन, सुख-दु:ख, घाम-छाया आदिको निरन्तर स्थायी सत्ता विद्यमान हुँदैन । यिनीहरू आलोपालो अस्तित्व अनस्तित्वमा आइरहन्छन्, गइरहन्छन् ।

मानव जीवनलाई पनि पीरले पछ्याइरहन्छ, खेदिरहन्छ । जीवनमा पिरै पीर मात्र सधैं एकनाशले त आउँदैन । बीच बिचमा उमङ्गका तरङ्गहरूले मनमा प्रसन्नता पनि थपिरहेकै हुन्छन् । तापनि एउटा परिपक्व, व्यवहारिक, जिम्मेवार र कर्तव्यनिष्ठ मान्छेलाई अक्सर पीरको काँडाले पाइतालामा घोच्न छोडेको पनि हुँदैन ।

पीर र चेतना बीच गहिरो सम्बन्ध छ । जति बढी चेतना उति बढी पीर । जति बढी सजगता, त्यति बढी पीर, जति बढी आदर्श त्यति बढी पीर । मानिस सचेत प्राणी भएकाले उसलाई सबैभन्दा बढी पीर छ । चेतना पीरको जननी भएको र मान्छे सबैभन्दा चेतनशील प्राणी भएकोले मान्छेलाई सापेक्षिक रूपमा बढ्ता नै पीर छ । मान्छेमा आदर्श प्राप्ति, मर्यादाको रक्षा समेतको ख्याल रहने भएकाले उसलाई अधिकतर पीर छ ।

पीररूपी वृक्षका शास्त्रीय र आधुनिक गरि दुई बडेमानका हाँगा छन् । शास्त्रीय पीर खाना,नाना र छाना एवम् मानवीय मर्यादाको रक्षासम्म सीमित थियो । आधुनिक पीर चाहिँ धेरै फणा भएको नाग जस्तो डरलाग्दो देखिन थालेको छ । केही आधुनिक पीर त सुन्दै हाँसो उठ्दो र देख्दै उदेकलाग्दो पनि हुन्छन् । आधुनिक पीरहरू पोशाक, शारीरिक बनावट, आडम्बर प्रदर्शन आदितर्फ केन्द्रीकृत भएको देखिन्छ । आज देखिने धेरै आधुनिक पीरहरू प्रविधिको कारखानाबाट जन्मिएका कस्मेटिक उत्पादन झैँ प्रतीत हुन्छन् ।

अघि नै भनिसकियो संसारै पीरमा छ, फेरि पीरमै संसार पनि छ । संसारै पीरमा छ भन्ने कुरा त माथिको उदाहरणहरूले दर्शाएकै छ । तर पीरमै संसार पनि छ ! यो चाहिँ कसरी ? प्रश्न उठ्न सक्छ । पीरको अस्तित्वलाई स्वीकार गरेर, पीरको स्थायी सत्तालाई मनन गरेर एवम् पीरको व्याप्ति र सार्वभौम उपस्थितिलाई स्वाभाविक मानसिक अवस्थाका रूपमा ग्रहण गरेर पीरलाई ऊर्जाको स्रोतमा बदल्न सकिन्छ । पीरबाट मुक्त हुने उपायको खोजीले अन्तर्हृदयमा जीवन ऊर्जाको एउटा अखण्ड दीप बालिरहेको हुन्छ ।

‘पीर’ शब्द झट्ट सुन्दा नकारात्मक भावको द्योतक जस्तो लाग्छ, तर गम्भीरतापूर्वक मनन गर्ने हो भने यो चेतना निर्माण र परिपक्वता विकासको उत्प्रेरक तत्त्व हो । आगाको लप्कामा खारिएर सुन उज्यालिए झैँ पीर र चुनौतीले मानिसलाई सहनशील, विवेकी र आत्मबलयुक्त बनाउँछ । भगवान बुद्धले दु:ख/पीरलाई एउटा यस्तो सत्य मानेका छन्, जसलाई स्वीकार नगरी निर्वाण प्राप्ति सम्भव हुँदैन ।

मनमा कुनै पनि पीर ताप नलिने र ‘उठ् जोगी फट्कार छाला….’ को सिद्धान्तमा विश्वास गर्नेहरूको जीवन यात्रा गन्तव्यहीन पदचाल जस्तो बन्न पुग्छ । उनीहरूको गति ट्रेडमिलमा दौडिएको त्यो मान्छेको जस्तो हुन्छ जहाँ गति धेरै देखिए पनि पुग्ने गन्तव्य हुँदैन । आवश्यक कुरामा, अत्यावश्यक काममा, अति जरुरी संवेदनशील विषयमा पनि सधैं निस्फिक्री रहनेहरूको अवस्था चारैतिर आगलागी भइसक्दा पनि त्यहाँबाट उम्कन कुनै पहल नै नगर्ने ‘लाटोबुङ्गो’को अवस्था तुल्य हुन जान्छ ।

पीर ज्ञान र बोधको मूल आधार हो । थेग्न-धान्न सकिने पीर मात्र शिरमा धारण गर्ने मान्छेले सहजै जीवनबोध, आत्मबोध र तत्त्वबोध गर्न सक्छन् । फलस्वरूप त्यस्ता व्यक्तिहरूले सबैप्रति दया, माया, करुणा, समभाव, सद्भाव जस्ता मानवीय व्यवहार देखाउन सक्छन् । चाहिँदो कुरामा समयमै स्वाभाविक चासो लिन र नचाहिँदो कुरालाई मस्तिष्कको फोल्डरबाट हटाउन सक्नेहरूले सहजै पीर व्यवस्थापन गर्न सक्छन् । कुनै कुरामा पनि गम्भीर नहुने र अलिकलि पनि मनमा पीर नलिने मान्छेलाई उमङ्गको वास्तविक स्वाद र महत्त्व पनि थाहा हुँदैन । गर्मीले बेसरी आँत जलेको बेलामा नै डोबिल्कोमा मुख जोतेर चिसो पानी घटघटी पिउनुको वास्तविक आनन्द थाहा हुन्छ ।

पीरले मान्छेलाई मानिस हुनुको बोध गराई सत्कर्मतिर अग्रसर गराउँछ । पीरको मधुर लयले अत्यासलाग्दो जीवन यात्रामा सङ्गीतमय धून सिर्जना गरिदिन्छ । संघर्ष, श्रम र त्यसबाट उत्पन्न हुने थकाइजन्य पीरले जीवनमा कर्मशील भई अगाडि बढ्ने हुटहुटी जगाउँछ । ठ्याम्मै पीर नलिनेहरू बहिर्मुखी र सतही हुन सक्छन् तर चाहिँदो मात्रामा र आवश्यक कुरामा पीर लिनेहरू तरल, गतिशील, लचिलो र गम्भीर पनि हुन्छन् ।

पीर नयाँ आरम्भको पूर्वशर्त हो । नयाँ आरम्भका लागि प्रश्न चाहिन्छ । पीरले प्रश्न गर्न सिकाउँछ । त्यस्तो प्रश्न आफ्नै आत्मासित वा बाह्य दुनियासँग गर्न सकिन्छ । जुन माध्यमबाट उत्तर प्राप्त भए पनि प्राप्त उत्तरले कार्यमूलक समाधान दिन्छ । त्यसैले पीर यथास्थितिबाट विचार वा व्यवहार परिवर्तनको पल्लो किनारामा पुग्ने साँघुको भूमिकामा रहन्छ ।

कला, साहित्य, सङ्गीतादि सिर्जनाको मुख्य साधक तत्त्व पीर पनि हो । पीरमा भुटभुटिएर रचिएका कृतिहरू जीवन्त, ओजपूर्ण र परहृदयसम्म सहजै प्रवेश गर्ने सामर्थ्यले युक्त हुन्छन् । मनोविज्ञानका व्याख्याता फ्रायडले मानिस दु:खमा जति बल्झन्छ, त्यति नै रचनात्मक बन्न सक्ने बताएका छन् । एरिस्टोटलले दु:खान्त नाटकको चर्चाका क्रममा त्रासदीले मनमा भय र करुणा जन्माउने र कारुणिक भावले भावकको मनलाई हलुका र शुद्ध तुल्याई मानव मनको विरेचन गर्न सक्ने धारणा राखेको पाइन्छ ।

पीर अरु केही नभएर स्वाभाविक चासो लिने र सजगता अपनाउने क्रममा उत्पन्न हुने मानसिक अन्तर्द्वन्द्व र ताप हो । यसका सगोत्रीय दाजुहरू- तनाव, चिन्ता, डिप्रेशन र ट्रमा मानवका लागि ज्यादै घातक हुन्छन् । तर पीरले भने समस्याको निकास निकाल्ने उपाय सुझाउँछ; क्रियाशीलताको राजमार्गमा दौडँदै उन्नतिको चुचुरो आरोहण गर्न बल पुर्‍याउँछ; र डुब्न लागेको डुङ्गालाई कुशलतापूर्वक किनारा लगाउने सीप सिकाउँछ ।

भन्नेहरू त भन्छन् – पीरले शिर गिराउँछ; झिरले झैँ उन्छ; मनोबल मार्छ; तातो उत्साहलाई बरफ बनाइदिन्छ र मान्छेलाई चिसोढुङ्गो झैँ स्थिर र जड बनाइदिन्छ । हो, तनाव चिन्तादिले मानिसलाई जलाउन र गलाउन सक्ला तर पीरले बर्बाद गर्ने होइन, हाम्रो शक्ति र सामर्थ्य जगाई सकारात्मक ऊर्जा मात्र पैदा गर्छ । तसर्थ यसलाई सही ढङ्गले समयमै व्यवस्थापन गर्न जानियो भने अनन्त सिर्जनात्मक लाभ उठाउन सकिन्छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.