काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानले काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा बेलायतबाट आएका साहित्यकार डा. रुपक श्रेष्ठका मुक्तकसंग्रह ‘पोख्तक’ र ‘चौशूल’ माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ।
प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रममा डा. भरतकुमार भट्टराईले कृतिको समीक्षात्मक विश्लेषण प्रस्तुत गर्दै मुक्तकमा गहन अभिव्यक्ति, प्रतीक–बिम्बको सुन्दर संयोजन तथा अर्थगाम्भीर्यले कृतिलाई वजनदार बनाएको बताउनुभयाे । उहाँले मुक्तक विधाको विकासमा डा. रुपक श्रेष्ठजस्ता अध्येताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयाे ।
समालोचक डा. कमल देवकोटाले ‘पोख्तक’ मा पोखराको बहुआयामिक पक्ष समेटिएको उल्लेख गर्दै यसको अंग्रेजी अनुवादले नेपाली साहित्यलाई विश्वसाहित्यसँग जोड्ने सेतु निर्माण गरेको बताउनुभयाे ।
कार्यक्रममा अध्यक्ष रामकाजी कोनेले मुक्तक विधाको उन्नयनमा श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको बताउनुभयाे भने कृतिकार डा. रुपक श्रेष्ठले मुक्तक लेखनलाई आत्मअनुशासन र चेतनाको अभ्यासका रूपमा व्याख्या गर्दै यो शब्दको खेल मात्र नभई चेतनाको अनुशासन भएको धारणा व्यक्त गर्नुभयाे ।
सो अवसरमा प्रतिष्ठानका सल्लाहकार तथा समालोचक प्राडा. लक्ष्मणप्रसाद गौतम, मुक्तककार उषा शेरचन, वियोगी बुढाथोकी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समालोचक केशव सिग्देल, पूर्व महासचिव रमेश पौडेल, नियात्राकार पवन आलोक तथा मुक्तककारहरू प्रमिला गजुरेल, निशा केसी, दुर्गाकिरण तिवारी, श्रीराम राई, शितल कादम्बिनी लगायतले पाठकीय अभिमत प्रस्तुत गर्नुभएकाे थियाे ।
चार दशकदेखि साहित्य सिर्जनामा सक्रिय डा. रुपक श्रेष्ठ नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका संस्थापक हुनुहुन्छ । उहाँलाई गत माघ १८ गते प्रतिष्ठानद्वारा २०८२ सालको ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ प्रदान गरिएको थियो। सोही दिन उनका कृति ‘पोख्तक’ र ‘चौशूल’ को लोकार्पण गरिएको थियो।
कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव यादव भट्टराईले गर्नुभएकाे थियाे ।

