काठमाडौं । डा. गोपाल पौड्याल ‘मण्डने’द्वारा लिखित ‘पृथ्वीपथ र श्रीजयसस’ कृति सार्वजनिक गरिएको छ । देशभक्त नागरिक समाजको आयोजनामा आइतबार काठमाडौंको डिल्लीबजारस्थित भोजनगृहको सभाहलमा आयोजित कार्यक्रममा पुस्तकको विमोचनसँगै यसमा प्रस्तुत वैचारिक अवधारणामाथि विमर्श गरिएको हो ।
रञ्जनराज खनालको सभापतित्व तथा भरत बस्न्यातको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा. पेशल निरौला र साहित्यकार खगेन्द्र सिटौलाले कृतिमाथि धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन मनोज सापकोटाले गर्नुभएको थियो ।
कृतिकार डा. पौड्यालले पुस्तकमार्फत आफूले ‘पवित्र समाजवाद’ नामक मौलिक राजनीतिक तथा सामाजिक दर्शन प्रस्तुत गरेको बताउनुभयो । उहाँका अनुसार यो अवधारणा नैतिकता, आध्यात्मिकता, सेवा, सत्य, श्रम, करुणा र सुशासनलाई आधार मानेर समाज र राष्ट्रको रूपान्तरण गर्ने उद्देश्यले विकसित गरिएको हो ।
लेखकले ‘श्रीजयसस’लाई समृद्धि, जनसहभागिता, सुशासन र संस्कारका चार आधारभूत पक्षमा आधारित अवधारणाका रूपमा व्याख्या गर्दै यसलाई नेपालको आफ्नै सभ्यता, संस्कृति र राष्ट्रिय आवश्यकताअनुकूल विकसित वैचारिक प्रस्ताव भएको उल्लेख गर्नुभयो । उहाँले यो कुनै विदेशी विचारधाराको प्रतिलिपि नभई नेपालको माटोमा आधारित मौलिक सोच भएको दाबी गर्नुभयो ।
कार्यक्रममा साहित्यकार खगेन्द्र सिटौलाले लेखकको लामो अध्ययन र अनुसन्धानको प्रशंसा गर्दै कृतिले राष्ट्रवाद, सुशासन र सार्वजनिक नीतिबारे नयाँ बहस सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रा. पेशल निरौलाले ‘पृथ्वीपथ’लाई नेपालको राष्ट्रनिर्माणसँग जोडिएको वैचारिक आधारका रूपमा चर्चा गर्दै ‘श्रीजयसस’ त्यसको विस्तार भएको धारणा राख्नुभयो । उहाँले पुस्तकमा समेटिएको दीर्घकालीन राष्ट्रिय विकाससम्बन्धी अवधारणालाई पनि उल्लेखनीय प्रयासका रूपमा लिनुभयो ।
प्रमुख अतिथि भरत बस्न्यातले विदेशमा रहेर पनि लेखकले नेपाली भाषा, साहित्य र राष्ट्रिय चिन्तनप्रति निरन्तर सक्रियता देखाएको उल्लेख गर्दै कृतिले राष्ट्रवादी विमर्शलाई थप ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति रञ्जनराज खनालले पुस्तकले नयाँ वैचारिक बहसको आधार तयार गरेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीका नागरिकतासम्बन्धी विषयमा पनि राज्यले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले ‘पृथ्वीपथ र श्रीजयसस’ ले राष्ट्रवाद, सुशासन, सामाजिक न्याय, नैतिक राजनीति र आध्यात्मिक चेतनालाई एउटै वैचारिक ढाँचामा प्रस्तुत गर्ने प्रयास गरेको टिप्पणी गर्नुभएकाे थियाे ।
‘पृथ्वीपथ र श्रीजयसस’ सार्वजनिक, ‘पवित्र समाजवाद’को अवधारणा प्रस्तुतउचय

