साहित्यपोस्ट डट कम

प्राइड एण्ड प्रिजुडिसः शाश्वत सामाजिक व्यंग्य र प्रेम–दर्शन

प्राइड एण्ड प्रिजुडिसः शाश्वत सामाजिक व्यंग्य र प्रेम–दर्शन

जेन अस्टिन अङ्ग्रेजी साहित्यकी एक शाश्वत र प्रभावशाली उपन्यासकार हुन्। उनले उन्नाइसौं शताब्दीको आरम्भिक ग्रामीण इंग्ल्याण्डको समाजलाई सूक्ष्म व्यंग्य, गहिरो मनोविश्लेषण र जीवन्त संवादमार्फत अमर बनाइन्। सन् १७७५ मा ह्याम्पशायरमा जन्मिएकी अस्टिनले विवाह, वर्ग, नैतिकता र स्त्री–अस्तित्वजस्ता विषयलाई कोमल तर तीक्ष्ण दृष्टिले प्रस्तुत गरिन्। उनका कृतिहरू—जस्तै प्राइड एण्ड प्रिजुडिस र सेन्स एण्ड सेंसिबिलिटी आज पनि विश्वभर अध्ययन र प्रशंसित छन्। सीमित सामाजिक परिवेशभित्रै उनले मानवीय स्वभावको सार्वकालिक सत्य उद्घाटित गरिन्, जसले उनलाई विश्वसाहित्यमा अद्वितीय स्थान दिलाएको छ।

उन्नाइसौं शताब्दीको सुरुवाती समय—नेपोलियन युद्धको पृष्ठभूमि, अंग्रेजी ग्रामीण समाजको संरचना, सम्पत्ति, उत्तराधिकार र विवाह–संस्कृतिले निर्देशित सामाजिक जीवन। यही परिवेशमा जेन अस्टिनले रचेको “प्राइड एण्ड प्रिजुडिस” केवल प्रेमकथा होइन; यो मानव–मनोविज्ञान, वर्गीय संरचना, स्त्री–अस्तित्व, पारिवारिक उत्तरदायित्व र नैतिक आत्मपरिवर्तनको सूक्ष्म अध्ययन हो।

२. कथासार : पूर्वाग्रहबाट आत्मबोध सम्मको यात्रा

कथा हर्टफोर्डशायरको लङ्गबोर्न इस्टेटमा बस्ने बेनेट परिवारबाट सुरु हुन्छ। श्रीमान् बेनेट र श्रीमती बेनेटका पाँच छोरीहरू—जेन, एलिजाबेथ, मेरी, किटी र लिडिया—विवाहयोग्य उमेरमा पुगेका छन्। इस्टेट “एन्टेल” व्यवस्थाअनुसार सम्पत्ति पुरुष उत्तराधिकारीलाई मात्र जाने भएकाले छोरीहरूको सुरक्षित भविष्य असल विवाहमै निर्भर छ। यही सामाजिक यथार्थले उपन्यासको प्रारम्भदेखि नै आर्थिक असुरक्षा र वर्गीय दबाबलाई कथानकको आधार बनाउँछ।

नेदरफिल्डमा धनी युवक चार्ल्स बिङ्ग्ली बस्न आउँदा श्रीमती बेनेटको उत्साह चुलिन्छ। बिङ्ग्ली सौम्य, मिलनसार र हँसिला स्वभावका छन् र उनी जेनसँग सहज रूपमा आकर्षित हुन्छन्। तर उनका घनिष्ठ मित्र फिट्जविलियम डार्सी, जो अत्यन्त धनी र प्रतिष्ठित परिवारका हुन्, आरम्भमा गर्वीला र टाढा देखिन्छन्। एउटा नृत्य समारोहमा उनले एलिजाबेथलाई नट ह्यान्डसम इनेफ टेक टेम्प्ट मी

(मलाई प्रलोभन दिने योग्य देखिँदैन)भनी उपेक्षा गर्दा एलिजाबेथको मनमा तीव्र असन्तोष जन्मिन्छ।

यही क्षणबाट उपन्यासको शीर्षक मूर्त हुन्छ। डार्सीको “प्राइड” र एलिजाबेथको “प्रिजुडाइस”। कथानक क्रमशः प्रेम र भ्रम, प्रस्ताव र अस्वीकार, आत्मालोचना र पत्रमार्फत सत्योद्घाटनतर्फ अघि बढ्छ। लिडियाको अविवेकी पलायन र त्यसलाई गुप्त रूपमा समाधान गर्न डार्सीले गरेको त्यागले पात्रहरूको नैतिक गहिराइ उजागर गर्छ। अन्ततः आत्मपरिवर्तन र परस्पर सम्मानमा आधारित विवाहले कथा समाधानतर्फ पुग्छ, जसले प्रेमलाई केवल भावनात्मक होइन, नैतिक परिपक्वताको परिणामका रूपमा प्रस्तुत गर्छ।

३. कथानक संरचना

कथाको आरम्भमा बेनेट परिवारको परिचय, हर्टफोर्डशायरको सामाजिक परिवेश र “इन्टेल” व्यवस्थाका कारण उत्पन्न विवाह–केन्द्रित दबाब प्रस्तुत हुन्छ। पाँच छोरीहरूको भविष्य सुरक्षित विवाहमा निर्भर भएकाले सामाजिक प्रतिष्ठा र आर्थिक स्थायित्व कथा–संघर्षको मूल कारण बन्छ।

एलिजाबेथको डार्सीप्रति प्रारम्भिक पूर्वाग्रह विस्तारै गहिरिन्छ, विशेषतः विकह्यामले सुनाएको भ्रमपूर्ण कथाका कारण। उता डार्सीको हस्तक्षेपले बिङ्ग्ली–जेन सम्बन्धमा विघ्न आउँछ, जसले प्रेम र वर्गीय अहंकारबीचको द्वन्द्व तीव्र बनाउँछ। पात्रहरूबीच गलतफहमी, सामाजिक दबाब र आत्मसम्मानको टकराव क्रमशः बढ्दै जान्छ।

डार्सीको पहिलो विवाह–प्रस्ताव नै कथाको चरम बिन्दु हो। उनले आफ्नो प्रेम व्यक्त गरे पनि त्यसमा वर्गीय श्रेष्ठताको झल्को देखिन्छ। एलिजाबेथले तीव्र अस्वीकार गर्दै उनको घमण्ड र जेन–बिङ्ग्ली सम्बन्धमा गरेको हस्तक्षेपको आलोचना गर्छिन्। यही क्षण नै नैतिक टकरावको शिखर हो।

डार्सीको विस्तृत पत्रले सत्य उद्घाटित गर्छ—विकह्यामको वास्तविक चरित्र र आफ्ना कार्यहरूको कारण स्पष्ट हुन्छ। एलिजाबेथ आत्मचिन्तनतर्फ उन्मुख हुन्छिन्। पेम्बर्ली भ्रमणमा उनले डार्सीको विनम्र र जिम्मेवार पक्ष देख्छिन्। लिडियाको पलायन घटनाले पुनः संकट ल्याए पनि डार्सीको गुप्त सहायताले समस्या समाधानतर्फ मोडिन्छ।

डार्सी आत्मसंयम, नम्रता र परिपक्वतासहित दोस्रो प्रस्ताव राख्छन्। यसपटक प्रेम अहंकारमुक्त र परस्पर सम्मानमा आधारित हुन्छ। एलिजाबेथको स्वीकृतिसँगै कथा सन्तुलित र सुखद अन्त्यमा पुग्छ।संरचनात्मक रूपमा क्रमिक तनाव, आत्मबोध र नैतिक रूपान्तरणको प्रक्रियाले उपन्यासलाई गहिरो र तर्कसंगत बनाएको छ।

४. पात्र–विश्लेषण

एलिजाबेथ बेनेट

एलिजाबेथ बेनेट बौद्धिक, तीक्ष्ण र स्वाभिमानी युवतीका रूपमा चित्रित छिन्। उनी परिस्थितिलाई सूक्ष्म रूपमा अवलोकन गर्छिन् र आफ्नो विचार निडर ढंगले व्यक्त गर्छिन्। तथापि, प्रारम्भिक निर्णयमा कहिलेकाहीँ हतारो गर्छिन्, जसका कारण डार्सीप्रति उनको पूर्वाग्रह गहिरिन्छ। यही कमजोरीले उनलाई मानवीय र यथार्थपरक बनाउँछ। उनी अन्धअनुकरणभन्दा आत्मसम्मान र नैतिक स्वतन्त्रतालाई प्राथमिकता दिन्छिन्, जसले उनलाई स्त्री–स्वतन्त्रताको आरम्भिक स्वरका रूपमा स्थापित गर्छ। उनका चतुर, व्यंग्यपूर्ण र स्पष्ट संवादहरू उपन्यासको नैतिक मेरुदण्ड हुन्, जसले सत्य, आत्मबोध र चरित्र विकासको दिशानिर्देश प्रदान गर्छन्।

फिट्जविलियम डार्सी

फिट्जविलियम डार्सी धनाढ्य, गम्भीर र सुरुमा केही गर्वीला देखिने पात्र हुन्। उच्च सामाजिक हैसियत र शिक्षाले उनलाई आत्मविश्वासी बनाएको छ, तर यही आत्मविश्वास कहिलेकाहीँ अहंकारजस्तो देखिन्छ। तथापि, उनको मूल स्वभाव नैतिक, जिम्मेवार र सत्यनिष्ठ छ। विकह्यामको वास्तविक चरित्र उजागर गर्नु होस् वा लिडियाको समस्यामा गुप्त सहयोग गर्नु, उनले आफ्नो कर्तव्यबोध स्पष्ट देखाउँछन्। एलिजाबेथको अस्वीकारपछि उनले आत्मचिन्तन गरी आफ्ना कमजोरी स्वीकार्छन्। यही आत्मपरिवर्तन उनको सबैभन्दा ठूलो विजय हो, जसले उनलाई सामाजिक अहंकार त्यागी विनम्र र परिपक्व व्यक्तित्वमा रूपान्तरण गर्छ।

जेन बेनेट

जेन बेनेट सरल, कोमल हृदय र सकारात्मक दृष्टिकोण भएकी पात्र हुन्। उनी सधैं अरूको राम्रो पक्ष हेर्न रुचाउँछिन् र कसैप्रति पनि सजिलै नकारात्मक धारणा बनाउँदिनन्। उनको स्वभाव करुणा, सहनशीलता र सौम्यताले भरिएको छ। बिङ्ग्लीसँगको सम्बन्धमा पनि उनले धैर्य र विश्वास कायम राख्छिन्। उनी भावनात्मक रूपमा संवेदनशील भए पनि संयमित रहन्छिन्, जसले उनको आन्तरिक बललाई प्रकट गर्छ। यसरी, उनको चरित्र प्रेम, सरलता र निष्कपट सद्भावनाको प्रतीकका रूपमा उभिन्छ।

श्रीमती बेनेट

श्रीमती बेनेट उपन्यासमा हास्य र विडम्बनाको केन्द्रका रूपमा प्रस्तुत हुन्छिन्। उनी अत्यन्त भावुक, चञ्चल र सामाजिक प्रतिष्ठाप्रति सचेत स्वभावकी हुन्। उनका लागि छोरीहरूको विवाह नै जीवनको प्रमुख उद्देश्य हो, किनकि त्यसैमा परिवारको भविष्य सुरक्षित देख्छिन्। यही चिन्ताले उनलाई कहिलेकाहीँ अति उत्साही र असंयमित बनाउँछ, जसबाट हास्यास्पद परिस्थितिहरू सिर्जना हुन्छन्। तर उनको व्यवहार केवल हाँसोको विषय मात्र होइन; त्यो तत्कालीन समाजको कठोर आर्थिक र सामाजिक दबाबको प्रतिविम्ब पनि हो। यसरी, उनी सामाजिक असुरक्षा र मातृत्वजन्य चिन्ताको मूर्त रूप बनेकी पात्र हुन्।

जर्ज विकह्याम

जर्ज विकह्याम बाहिरी रूपमा आकर्षक, मिलनसार र प्रभावशाली देखिने पात्र हुन्, तर उनको व्यक्तित्वभित्र नैतिक दिवालियापन लुकेको छ। उनले मीठा शब्द र बनावटी पीडाको कथा सुनाएर अरूको सहानुभूति जित्ने प्रयास गर्छन्। एलिजाबेथसमक्ष डार्सीबारे भ्रमपूर्ण कथा प्रस्तुत गर्नु वा लिडियासँग गैरजिम्मेवार व्यवहार गर्नु उनका स्वार्थी र अस्थिर चरित्रका उदाहरण हुन्। उनी समाजमा बाह्य छवि र वास्तविक चरित्रबीचको द्वन्द्वका प्रतीक बन्छन्।

५. प्रमुख विषयवस्तु

प्राइड एण्ड प्रिजुडिसका प्रमुख विषयहरू परस्पर गुन्थिएका र सामाजिक यथार्थमा आधारित छन्। शीर्षकले नै “गर्व र पूर्वाग्रह”लाई मूल केन्द्र बनाउँछ—डार्सीको वर्गीय गर्व र एलिजाबेथको भावनात्मक पूर्वाग्रह दुबैले प्रारम्भमा सत्यलाई ओझेल पार्छन्। उनीहरू दुवैले आ–आफ्ना सीमित धारणाभित्र बसेर एकअर्कालाई मूल्याङ्कन गर्छन्, जसले गलतफहमी र दूरी बढाउँछ। दोस्रो प्रमुख विषय विवाह र अर्थतन्त्र हो। यहाँ विवाह केवल प्रेमको परिणाम होइन; आर्थिक सुरक्षा, उत्तराधिकार र सामाजिक प्रतिष्ठासँग गहिरो रूपमा जोडिएको संस्था हो। विशेषतः शार्लट लुकासको व्यावहारिक विवाहले देखाउँछ कि कतिपयका लागि विवाह भावनाभन्दा जीवनयापनको यथार्थपरक निर्णय हो। तेस्रो विषय वर्गीय संरचना हो, जहाँ उच्च र मध्यम वर्गबीचको दूरी, व्यवहार र मानसिकता सूक्ष्म रूपमा चित्रित छ। सामाजिक प्रतिष्ठा र सम्पत्तिले सम्बन्धको स्वरूप निर्धारण गर्ने प्रवृत्तिको आलोचना गरिएको छ। अन्ततः स्त्री–अस्तित्वको प्रश्न पनि केन्द्रीय छ। एलिजाबेथको निर्णय–स्वतन्त्रता, आत्मसम्मान र प्रेमलाई प्राथमिकता दिने दृष्टिकोण त्यो समयका लागि क्रान्तिकारी थियो। यसरी, उपन्यासले व्यक्तिगत भावनाभन्दा बाहिर गएर सामाजिक, आर्थिक र नैतिक आयामलाई समेट्दै समग्र मानवीय यथार्थ प्रस्तुत गर्छ।

६. शैली र भाषा

जेन अस्टिनको भाषा व्यंग्यात्मक, सूक्ष्म र अत्यन्त संयमित छ। उनले सामाजिक संरचना, वर्गीय भिन्नता र मानवीय कमजोरीलाई हास्य र व्यंग्यको माध्यमबाट उजागर गर्छिन्। उनको लेखनमा व्यंग्यको प्रभावशाली प्रयोगले पाठकलाई पात्रको वास्तविक स्थिति र सामाजिक व्यवहार बीचको विरोधाभास बुझ्न सहयोग गर्छ। उदाहरणका लागि, श्रीमती बेनेटको विवाहप्रतिको अति उत्साह र उसकी सोचको सीमितता व्यंग्यात्मक रूपमा चित्रित हुन्छ। अर्को विशेषता फ्री इन्डाइरेक्ट डिस्कोर्स हो, जसमा पात्रको विचार र कथावाचकको आवाजलाई प्राकृतिक रूपमा मिश्रित गरेर आन्तरिक मनोदशा प्रस्तुत गरिन्छ। यसले पाठकलाई पात्रको भावनात्मक स्थिति र मानसिक प्रक्रियामा गहिरो पहुँच दिन्छ, जसले कथालाई अझ जीवित र संवेदनशील बनाउँछ। साथै, अस्टिनको शैलीमा सामाजिक संवादको यथार्थ चित्रण महत्त्वपूर्ण छ। पात्रहरूको दैनिक व्यवहार, संवाद र सामाजिक व्यवहारलाई सूक्ष्म तर सटीक रूपमा चित्रित गरेर उपन्यासले समय, स्थान र सामाजिक परिवेशको वास्तविकता झल्काउँछ। उनको लेखन बाह्य घटनाभन्दा बढी आन्तरिक मनोदशा र चरित्रको विकासमा केन्द्रित छ, जसले पाठकलाई मानवीय अनुभव, आत्मसमीक्षा र सामाजिक अन्तरदृष्टिमा डुबाउँछ। यसरी, जेन अस्टिनको शैली व्यंग्यात्मक, मनोवैज्ञानिक र समाज–समीक्षात्मक गुणले परिपूर्ण छ।

७. प्रतीक र रूपक

जेन अस्टिनले प्रतीकात्मक वातावरण मार्फत पात्रको आन्तरिक जीवन र सामाजिक संरचना प्रस्ट गर्छिन्। पेम्बर्ली इस्टेट डार्सीको आन्तरिक महानता, स्थायित्व र नैतिक चरित्रको प्रतीक हो; यसले उसको गर्व मात्र होइन, जिम्मेवारी र आदर्श व्यक्तित्वलाई पनि झल्काउँछ। नृत्य समारोह सामाजिक सम्बन्ध, शक्ति–सन्तुलन र वर्गीय भिन्नताको रंगमञ्च हो, जहाँ पात्रहरूको प्राथमिकता, आकर्षण र पूर्वाग्रह प्रकट हुन्छन्। यी सामाजिक मेलमिलापले कथामा हास्य, तनाव र अन्तरंग भावनालाई जोड्दछ। त्यस्तै, पत्र माध्यमले सत्यको उद्घाटन र आत्मबोधलाई सम्भव बनाउँछ; डार्सीको पत्र एलिजाबेथलाई उसको पूर्वाग्रह र गलत धारणाबाट मुक्त गराउँछ। यी प्रतीकात्मक तत्वहरूले कथा केवल घटनाको श्रृंखला नभई चरित्र विकास, आन्तरिक मनोभाव र सामाजिक मूल्यको सूक्ष्म चित्रण बनाउँछन्। यसरी अस्टिनले स्थान, घटना र वस्तुहरूलाई नैतिक, सामाजिक र मनोवैज्ञानिक अर्थ दिन्छिन्, जसले उपन्यासलाई बहुआयामिक बनाउँछ।

८. नारीवादी दृष्टिकोण

एलिजाबेथको अस्वीकार व्यक्तिगत निर्णय मात्र होइन; यो स्त्री–स्वतन्त्रताको उद्घोष हो। उनले विवाहलाई प्रेम, सम्मान र समान मूल्यमा आधारित हुनुपर्ने स्पष्ट अडान लिन्छिन्, जसले उसो समयको पितृसत्तात्मक सामाजिक संरचनामा प्रश्न उठाउँछ। उनका निर्णयले केवल व्यक्तिगत आनन्द वा सुरक्षालाई प्राथमिकता दिनु भन्दा बढी, आत्मसम्मान, नैतिकता र सोच–विचारको स्वतन्त्रतालाई महत्त्व दिन्छ। यसरी एलिजाबेथको पात्र सामाजिक अपेक्षा र व्यक्तिगत इच्छा बीचको संघर्षको प्रतीक बनिन्छ, र उनको अस्वीकारले उपन्यासमा स्त्री–अस्तित्व र आत्मनिर्णयको महत्त्व उजागर गर्दछ।

उपन्यासले ग्रामीण इंग्ल्याण्डको मध्यम वर्गीय जीवनलाई यथार्थपरक ढंगले चित्रित गर्छ। यसले उत्तराधिकार कानून, सम्पत्ति व्यवस्था, र विवाह–सम्बन्धी कानुनी संरचनाहरूलाई सामाजिक र आर्थिक पृष्ठभूमिसँग जोडेर देखाउँछ। कथाले व्यक्तिगत सम्बन्ध मात्र होइन, सामाजिक नियम, वर्गीय सीमा र आर्थिक आवश्यकताहरूको प्रभाव पनि प्रस्ट पार्दछ। यसले पाठकलाई त्यो समयको समाज र परिवारको संरचनागत चुनौतीहरू बुझ्न मद्दत गर्छ।

९. मूल्यांकन

“प्राइड एण्ड प्रिजुडिस” आत्म–बोधको यात्रा र सामाजिक आलोचना हो। उपन्यासमा पात्रहरूको गहिरो विकास, विशेषगरी एलिजाबेथ र डार्सीको आत्मपरिवर्तनले कथालाई समयभन्दा परको बनाएको छ। अस्टिनको व्यंग्यात्मक शैली, सशक्त नारी–दृष्टिकोण र सन्तुलित कथानकले पाठकलाई व्यक्तिगत भावनाबाट सामाजिक संरचनासम्मको यात्रामा लग्छ। यद्यपि कथाको सीमित वर्गीय परिवेश र बाह्य नाटकीय घटनाको न्यूनता कमजोरी जस्तो देखिए पनि, यी नै यसको सौन्दर्य हुन्—सानो संसारभित्र ठूलो सत्य प्रस्तुत गर्न सक्ने क्षमता। एलिजाबेथ र डार्सीको मिलन केवल दुई व्यक्तिको प्रेम होइन; यो गर्व र पूर्वाग्रहको पराजय हो, आत्म–चिन्तन र नैतिक परिपक्वताको प्रतीक हो।

उपन्यासले सिकाउँछ कि पहिलो प्रभाव अन्तिम सत्य हुँदैन, आत्मालोचना नै साँचो महानता हो र प्रेम तब मात्र शुद्ध हुन्छ जब अहंकार गल्छ। जेन अस्टिनले साधारण गाउँको कथा मार्फत विश्व–मानव मनको दर्शन प्रस्तुत गरेकी छन्। त्यसैले “प्राइड एण्ड प्रिजुडिस” आज पनि पढिन्छ, चर्चा गरिन्छ, र पुनःव्याख्या गरिन्छ। कारण मानव हृदयमा गर्व र पूर्वाग्रह अझै जीवित छन् र आत्मपरिवर्तनको आवश्यकता अझै उत्तिकै छ। यसले उपन्यासलाई सदाबहार र शाश्वत कृतिको दर्जामा राख्छ।

साझा गर्नुहोस्:
तोमनाथ उप्रेती

लेखकको बारेमा

तोमनाथ उप्रेती

सयौं फुटकर रचना रच्नु भएका तोमनाथ उप्रेतीका आधा दर्जनभन्दा बढी लघुउपन्यास प्रकाशोन्मुख छन् । उहाँ नेपाल सरकारका उपसचिवसमेत हुनुहुन्छ । उहाँको एक लघुउपन्यास साहित्यपोस्टबाट प्रकाशित हुँदैछ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.