विषय प्रवेश
समाजका कुनै पनि चिज स्थिर छैनन् । समयक्रमसँगै परिवर्तन हुँदै अगाडि बढ्ने गर्दछन् । परिवर्तन हुनु भनेको यथास्थितिभन्दा भिन्न हुनु हो । जुन कुरा आफैँमा विकास हो, विस्तार हो र नयाँ प्रयोग पनि हो । नेपाली साहित्य तथा विश्व साहित्य पनि यसै सन्दर्भबाट अगाडि बढिरहेको छ र बढिरहने छ । नेपाली साहित्यको प्रारम्भ विन्दुबाट आजसम्मको ऐतिहासिक यात्रालाई नियाल्ने हो भने नेपाली साहित्यको समयकालीन यात्रामा थुप्रै वाद, आन्दोलन, अभियान, पर्व वा काण्डहरूले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । यसै यात्राको एक भिन्न र उल्लेखनीय अभियानका रूपमा ‘सिर्जनशील अराजकता’लाई लिने गरिन्छ । वि.सं. २०५६ तिर नेपाली साहित्यमा काव्य र आख्यानको क्षेत्रमा कलम चलाउँदै गरेका युवा लेखक राजन मुकारुङ, हाङयुग अज्ञात र उपेन्द्र सुब्बाले परम्परागत साहित्य लेखनका मान्यता, शैली र बन्धनहरूलाई भत्काएर नयाँ र स्वतन्त्र रूपमा सिर्जना कार्य गर्नुपर्दछ भन्ने दृष्टिकोणलाई आत्मसात् गर्दै ‘सिर्जनशील अराजकता’ को अभियानलाई प्रवेश गराएको देखिन्छ । यही मान्यतामा अडिग भएर समयक्रमसँगै साहित्यमा आफूलाई स्थापित गर्ने अभिन्यताका एक नायक हाङ्युग अज्ञातको गद्य कविताहरूको सङ्कलित कविता सङ्ग्रह ‘हाङयुग अज्ञातका कविताहरू’ बजारमा आाएको छ । यस सङ्ग्रहभित्र १०१ ओटा लामा (सात पृष्ठसम्म) र छोटा (एक पृष्ठ) कविताहरू सङ्ग्रहित छन् । १०१ अर्थात् करङको हिरासद २०६० कविता आफैँमा एक कृति पनि हो । यसबाट के बुझिन्छ भने यसमा कविका नयाँ र पुराना कविताहरूलाई संकलित गरिएको छ । समग्रमा यस कृतिलाई संख्यात्मक साथै आकारगत (३०८ पृष्ठ) दुवै दृष्टिले बृहत् गद्य कविता कृति मान्न सकिन्छ ।
यस कृतिभन्दा अगाडि कवि हाङ्युग अज्ञातका रङ्गीन आविष्कार, ढुङ्गामुढाको मन, होरकोङ, आधारातको तङ्सिङजस्ता काव्य कृतिहरू प्रकाशित भइसकेका छन् । यिनै कृतिहरूको पृष्ठभूमिबाट खारिएर, माझिएर साथै अझै बढी परिष्कृत हुँदै वयस्क भएको नेपाली काव्य जगतको एक प्रयोगवादी, पहिचानवादी, अराजकतावादी, उत्तरआधुनिकतावादी विचारहरूको एक प्रतिनिधि कृति हो ‘हाङयुग अज्ञातका कविताहरू ।’ कृतिभित्र सयभन्दा बढी कविता भएकाले यस कृतिका सबै कविताहरूलाई छुट्टाछुट्टै व्याख्या विश्लेषण गर्न सकिन्न, यदि त्यसो गर्ने हो भने अर्को छुट्टै कृति बन्न सक्छ, त्यसैले यहाँ समग्र रूपमा कृतिभित्र कविताका विषयवस्तु, भाषाशैली, काव्यात्मक संरचना र कवितात्मक जीवन दर्शनका केही पक्षहरूलाई प्रस्तुत गर्दै स्वयं पाठकलाई कृति पढ्ने जिम्मा लगाइने छ ।
विषयवस्तुगत विविधता: नलेखिएका कथा
यस सङ्ग्रहमा सयभन्दा बढी कविताहरू फरक फरक शीर्षकमा लेखिएका छन् । यसै सन्दर्भबाट पनि सङ्ग्रहमा विषयवस्तुगत विविधता छ भन्ने कुरालाई बुझिन्छ । कवि अज्ञातले कविता लेख्दा आम कविहरूले लेख्दै गरेका विषयवस्तुभन्दा भिन्न विषयवस्तुलाई कविताको विषयवस्तु बनाउने गरेका छन् । यसर्थ, उनलाई भिन्न विषयवस्तु वा अरुले नलेखेका विषयवस्तुको खोजी गरी कविता लेख्ने कविका रूपमा चिन्न सकिन्छ । सङ्ग्रहमा समावेश कविताहरूलाई हेर्दा सामान्यभन्दा सामान्य विषयवस्तु पनि कविताको केन्द्रमा रहेको देखिन्छ भने हरेक मानिसले देखेका, भोगेका वा कल्पना गरेका विशिष्ट विषयवस्तुलाई पनि कविताको विषयवस्तु बनाएका छन् । उनका कविताका शीर्षकहरू हेर्दा हामीलाई लाग्छ, जुन कुरा लेखिएको छैन त्यसलाई कविताको विषयवस्तु बनाउनुपर्छ भन्नेमा उनी स्पष्ट छन् । ‘घाम बुढो’, ‘योनीको रङ’, ‘फिनिक्स चरोको गीत र काँडे भ्याकुर’, ‘भैँसी’, ‘सप्रेको लिम्बू’, ‘जङ्गबहादुरको सेहेँ’, ‘तिमीलाई पनि भिरिङ्गी लागेको छ’ त्यसैगरी ‘करङको हिरासत’ भित्रका कविताहरू आदि विषयवस्तुगत विविधता साथै फरक विषयवस्तुका अब्बल उदाहरणहरू हुन् । देशको राजधानीमा यातायातका साधनहरूको अस्तव्यस्त अवस्था साथै मानिसको दैनिकीमा परेको प्रभावलाई चित्रझैँ छर्लङ्ग पार्दै नयाँ शब्द निर्माणसमेत गरी जाममान्डू शीर्षकको कवितामा कवि यसरी पोखिन्छन् :
कब्जियत भएझैँ
सडकलाई
अड्किएको छ यति बेला
हामी चढेको सफा टेम्पो
रत्नपार्कमा । (जाममान्डू)
कुनै पनि विषयवस्तुलाई फरक कोण वा दृष्टिबाट हेर्ने मान्यतालाई आत्मसात् गर्दै अज्ञातले देश, विश्व, जाति, भाषा, धर्म, संस्कृति, भूगोल, माटो, आमा, सभ्यता, दर्शन, प्रेम, भुँइमान्छेको जीवनशैली, रोजीरोटीका निम्ति परदेशी पर्ने नेपालीहरूको तीतो यथार्थ, इतिहासको पुनर्मूल्याङ्कन, विकृति र विसङ्गतिजस्ता यावत पक्षहरूलाई कवितामा समावेश गरेका छन् । यसरी विविध विषयवस्तुमाथि कविता लेख्न सक्नु कविको काव्यात्मक क्षमता मात्र होइन ज्ञानको गहिरो भण्डार हुनु पनि हो । उनले नलेखेका कमै विषयवस्तु छन् । हामीले बाँच्दै गरेको परिवेशका हर कुराहरूमा विकृति र विसङ्गतिको लहरो फैलिँदै गएको र यसका विरुद्धमा अब कविहरू शब्दमार्फत होइन हतियारमार्फत भिड्नुपर्ने व्यङ्ग्यभाव प्रस्तुत गर्दै ‘सदरमुकाम’ शीर्षकको कवितामा कवि यसरी गर्जिन्छन्:
नैतिकता, इमान र मानवता निलेर
अजिङ्गरजस्तै सुतेको यहाँको सडकका दायाँ बायाँ
भोको जुकाजस्तै काँप्दै उभिएका
गाउँ चुस्न बसेको सदरमुकामको दादागिरी
मन्जुश्रीले चोभार काटेजस्तै काट्नु छ
कविले शब्द होइन, खुकुरी भिर्ने बेला आएको छ । (सदरमुकाम)
कविले व्यक्तिका चरित्रमा आधारित भई कविता लेख्नुका साथै वर्तमान परिवेशसँग ऐतिहासिक चरित्रलाई घुलमिल गराउने प्रयत्नसमेत गरेको पाइन्छ । ‘भानुभक्तसित जम्काभेट’, ‘सेवारो परशुराम’, ‘हात्तीलेदातिर बरालिँदा’, ‘प्राइमिनिस्टर अर्थात मरिचमान’, ‘विष्णु माख्रोन्दे’ जस्तै रहेछ आदि कविताहरू उल्लिखित सन्दर्भका दृष्टान्तहरू हुन् । विषयका विविध पाटाहरूलाई केलाउने हो भने सङ्ग्रहमा समावेश्य सयभन्दा बढी कविताहरू सबै उदाहरणीय लाग्छन्, तर त्यो यहाँ उल्लेख गर्न असम्भव छ । यसरी सङ्ग्रहमा समावेश गरिएका कविताले विषयवस्तुगत विविधताका साथै भिन्न र मौलिक कोणबाट विषयवस्तुको व्यापकतालाई ओगटेको देखिन्छ । सामान्य विषयवस्तु, विशिष्ट विषयवस्तु, भिन्न विषयवस्तु साथै विकेद्रीकृत गरी विषयवस्तुलाई कविताको विषयवस्तु बनाइनु नै सङ्ग्रहभित्रका कविताहरूको भिन्न पक्ष हो ।
वैचारिक दृष्टिकोण: भिन्न र मौलिक जीवन दर्शन
कवि हाङयुग अज्ञात जे देख्छन्, जे भोग्छन् र जे कल्पना गर्छन्, उनका कविताहरू त्यही स्वअनुभव र स्वकल्पना नै उनको लेखनीको आधार हो । तसर्थ उनलाई लेख्न कुनै खास विषयवस्तु नै चाहिन्न, उनी जीवन र जगतका वास्तविक यथार्थलाई लेख्छन् । त्यही यथार्थलाई पाठकसामु पुर्याउनु र पाठकलाई सुसुचित गराउनु उनका कविताका वैचारिक पक्ष हुन् । सङ्ग्रहभित्रका कविताले माटोसँग खेल्ने भुँइमान्छेहरूको जीवनशैलीलाई देखाएका छन् । वर्षौं वर्षदेखि राज्यबाट विभेदमा परेका गरिब साथै पिछडिएको जाति, भाषा, धर्म र वर्गका आवाजहरूलाई उजागर गरेका छन् । जहाँ जहाँ अन्याय र अत्याचार भएको छ, जहाँ विसङ्गत र विकृति फैलिएको छ, त्यहाँ कविका कलम प्रतिरोधका निम्ति तयार भएको पाइन्छ । कतै आधा आकाश ढाक्ने महिलाका कुरा छन् त कतै समाजमा दमित भएर दबिएका दलित र सीमान्तकृत मान्छेहरूका आवाजहरू छन् । सकेसम्म अरुले नलेखेका विषयवस्तुको खोजी गर्ने अज्ञातले कवितामार्फत् पनि इतिहासको पुनर्मुल्याङ्कन, विकेन्द्रीकृत राज्यसत्ता, जातिगत अस्तित्व, सांस्कृतिक विविधता र पहिचान साथै समतामूलक समाजको निर्माण हुनुपर्ने वैचारिक दृष्टिकोण कवितामार्फत प्रस्तुत गरेको पाइन्छ । कवितामा आञ्चलिक परिवेश, मुन्धुमी मिथक, नस्लीय चेत, स्वरकल्पनाको प्रयोग जस्ता पक्षहरूको प्रयोगले अन्य कविताका कृति र कविहरूले लेख्ने जीवन दर्शनभन्दा अज्ञात भिन्न वैचारिक दृष्टि बोक्ने वा जीवन दर्शन प्रस्तुत गर्ने कवि हुन् भन्न कुनै दुई मत रहन्न । फरक जीवनदृष्टि, सिर्जनशील अराजकता, पहिचानको खोजी साथै नस्लीय चेतजस्ता पक्षहरूलाई उजागर गर्ने ‘सप्रेको लिम्बू’ शीर्षकको यो कवितांशलाई पढौँ:
आफ्नै बारे
कविता लेख्नु मसँग छैन ऐना
एह ! सेलिब्रेटी कविहरू
मलाई आइडिया देऊ
कसरी देख्ने कविता
म सप्रेको लिम्बूबारे कविता लेख्न चाहन्छु
र सेलिब्रेट गर्न चाहन्छु मान्छे हुनुको खुशी ।
भाषाशैली: नवीन बिम्बप्रतीकको प्रयोग, अर्गानिक शब्द चयन र प्रस्तुति
‘हाङ्युग अज्ञातका कविताहरू’ सङ्ग्रहमा प्रयुक्त सबै कविता गद्य शैलीमा लेखिएका छन् । सामान्यतया कविताको भाषा लेख्य अर्थात् औपचारिक प्रकृतिको हुने गर्दछ र त्यसरी नै लेखिनुपर्दछ भन्ने मान्यतालाई स्वीकारिएको पनि छ । किनभने कविता लेख्य तथा पाठ्य विधा हो, त्यसैले मानक शब्द चयन गर्ने गरिन्छ । तर अज्ञातका कविताहरूमा प्रयुक्त भाषा कथ्य र आञ्चलिकतामा आधारित देखिन्छ । लेखक आफैँ लिम्बू मातृभाषी हुन् । उनले नेपाली भाषा बोल्दा जुन लवज नेपाली भाषामा भेटिन्छ वा प्रयोग गर्ने गर्दछन् कवितामा पनि त्यसरी नै प्रयोग गर्ने गरेका छन् । यो उनका कविताको विशेषता र नवीन शैली पनि हो ।
अज्ञातका कविता र सिर्जनशील अराजकताको मान्यताले परम्परागत लेखनशैलीलाई आत्मसात् गर्दैन, यहाँ त्यही प्रवृत्तिलाई प्रयोग गरिएको पनि हो । यस सङ्ग्रहका कवितामा मिथकीय साथै नवीन बिम्बप्रतीकहरूको व्यापक प्रयोग गरिएको देखिन्छ । जहाँ मुन्धुमी मिथकहरूको प्रयोग निक्कै कलात्मक रहेको छ । त्यसै गरी ग्रामीण, शहरीया, प्रकृतिप्रदत्त बिम्बहरूको प्रयोग पनि कवितामा भरपुर रूपमा प्रयोग गरिएका छन् । भाषामा सरलता भए पनि बिम्बप्रतीकहरूको प्रयोग हेर्दा नेपाली काव्यजगतमा प्रयोगवादी धाराकै पृष्ठभूमिबाट अज्ञातका कविताहरू उभिएका छन् ।
‘सेवारो परशुराम’ शीर्षकको कविता यस्तो कविता हो, जसमा नेपाली, हिन्दी, अंग्रेजी, लिम्बू र संस्कृत भाषाका शब्दलाई यौटै कवितामा प्रयोग गरिएको छ, तथापि कविता जटिल भने छैन । कवितामा नेपाली समाजमा सबै सामु बोल्नलाई नस्वीकारिएका अर्थात् अश्लील (जाँठा) मानिएका शब्दहरूलाई पनि सजिलै प्रयोग गरिएको पाइन्छ । हुन त विविधतायुक्त हाम्रो समाजमा कुन भाषाले कुन शब्दलाई अश्लील मान्छ, त्यो नै भिन्न भएकाले पनि यसलाई सामान्य प्रयोग मान्न सकिन्छ । कतिपय कविताका हरफहरू पढ्दा यस्तो लाग्छ, कुनै सन्दर्भ नभई पनि कल्पना गर्दा कविता हुने रहेछ, कतिपय कविताहरू पढ्यो भने कविता लेख्न साँच्चै कविलाई मुख्य विषयवस्तु नै चाहिने रहेछ र त्यसलाई बुझाउन काव्यात्मक क्षमता उच्च हुनैपर्ने रहेछ भन्ने कुरा पाठकले अनुभूत गर्न पाउँछन् । सङ्ग्रहमा शुरुका ‘आमा’ देखि ‘बग्नदेऊ आफ्नै बाटो’ सम्मका १५ कविताहरू गीति लयमा छन् र ती सबै कविता (गीत)मा संगीत भरिएको छ र गाइएको पनि । यसरी हेर्दा कवि काव्यात्मक लय चेतमा पनि सशक्त देखिन्छन् । गद्य कवितामा पनि उनको आन्तरिक तथा बाह्य दुवै दृष्टिकोणले लय निर्माण सफल देखिन्छ । कविताको भाषाशैली, विम्बप्रतीकको प्रयोग र अभिव्यक्तिगत प्रस्तुतिलाई हेर्दा परम्परागत मूल्यमान्यताभन्दा भिन्न शैलीका कविताहरू यहाँ सङ्ग्रहित छन्:
मुन्धुमी मिथकको प्रयोग:
म
बलिहाङको अभ्युदय
यौटा कायर षड्यन्त्रविरुद्ध
अर्को मुट्ठीभरिको रातविरुद्ध । (म बलिहाङको अभ्युदय)
नयाँ नयाँ विम्बप्रतीकको प्रयोग:
यस बेला
म छाद्छु
भ्यागुत्ताको फूलजस्तो
लामो थिलथिलो त्यान्द्रो
आन्द्राभरिको नागरिकता
र समयको लेउमा चिप्लिएको
हिजोको हाम्रो हत्केला । (ब्लैकआउट)
कथ्य भाषाको अर्गानिक प्रयोग:
हाउ भानु ! किन यो सडक, चोक र बजार हल्लिरहेछ ?
तब भानुले ङिच्च हाँस्दै भन्यो –
हाउ लुङ्गा ! तपाईंले पनि
बिजुली पानी चढाउनु भो कि क्या हो ?
कवितात्मक संरचना: प्रयोग र व्यापकता
सङ्ग्रहमा समावेश्य कविताहरूको संरचनालाई हेर्दा एक शब्ददेखि बाह्र शब्द सम्मका हरफहरू कवितामा पाइन्छ । त्यसैगरी छोटो कविता ‘मेरो म’ होस् वा लामो कविता ‘आत्मदाहको भान्साघरमित्र’ होस् दुवैमा उत्तिकै काव्यात्मक लेपन पाइन्छ । साथै वैचारिक जीवन दृष्टि पनि । शुद्ध चिन्तनको माया (करङको हिरासत) खण्डमा समावेश गरिएका कविताहरू त प्रायः सबै कविता प्रयोग नै प्रयोग मात्र हुन् । जहाँ शब्दहरूलाई चित्रात्मक रूपमा प्रस्तुत गरिएको छ । वाक्यगठन र बनोटको संरचना रेखाजस्ता छन्, त्रिभूजजस्ता छन्, आयातनजस्ता छन् । कतै शब्दलाई उल्ट्याइएको छ, कतै ढल्काइएको छ आदि आदि । प्रयोगवादी कविताहरू कस्ता हुन्छन् भनेर बुझ्नलाई पनि यो संङ्ग्रह पाठकका निम्ति निक्कै रुचिकर देखिन्छ । प्रयोग यस अर्थमा कि कविताको संरचना, भाषाशैली, भावगत कल्पना वा वैचारिक सवाल । लामा कविता हुन् वा छोटा कविता, चित्रात्मक हुन् वा सामान्य कविता जुन कविता पनि कवितात्मक संरचनाका दृष्टिले प्रयोगवादी कविता हुन् भन्न सक्ने प्रशस्त आधारहरू पाइन्छन् । ‘म बलिहाङको अभ्युदय’ शीर्षकको एक अंशलाई हेरौँ, जसले पाठक पक्कै आकर्षित गर्छ:
अन्त्यमा:
कविता सङ्ग्रह ‘हाङयुग अज्ञातका कविताहरू’ एक बृहत् गद्य कविताहरूको सङ्ग्रह हो । यसभित्रका सबै कवितालाई छुट्टा छुट्टै चर्चा गरे पनि थोरै नै हुन्छ । भिन्न विचार, भिन्न शैली र संरचना साथै भिन्न काव्यात्मक प्रस्तुतिले सुसज्जित कविताहरू भएकाले पनि सङ्ग्रहका कविताबारे बोलिरहन मन लाग्छ । लेखिरहन मन लाग्छ । तर यो एक समीक्षामा मात्र सयभन्दा बढी कविताको चर्चा गर्न खोज्नु र यसै आलेखभित्र सबै कुरा खोज्नु पाठकलाई पनि उपयुक्त हुँदैन । कवितामा कविले अत्यधिक मुन्धुमी साथै अंग्रेजी बिम्बहरूको प्रयोग गरेका छन्, जसले उक्त बिम्ब बुझ्नका लागि पाठकलाई निक्कै कठिन हुन्छ । त्यसैगरी कविताको संरचनामा प्रयोग गर्ने हेतुले कविता लेख्दा पाठकलाई भावभन्दा पनि संरचना पक्षमा मात्रै हराउन दिएझैँ लाग्छ । त्यसैगरी आञ्चलिक भाषाको प्रयोग साथै अझै यसो भनौँ स्थान र व्यक्तिहरूको प्रयोग कवितामा भएकाले पाठकलाई उक्त भाषा, व्यक्ति र स्थान नबुझ्ने हो भने कविता अर्थ्याउन कठिन देखिन्छ । केही कविताहरूमा शब्दहरूबारे स्पष्ट पारिएको छ तर पूर्ण भने छैनन् । हुन त उनी कवि नै प्रयोगवादी कवि हुन्, यी सबै कुरा प्रयोग नै हुन् भनेर पाठकले छुट दिए भने पनि मेरो भन्नु केही छैन ।
सिर्जनशील अराजकताको वैचारिक धरातललाई स्पष्ट पार्न, साथै नेपाली समाजका आम विषयमाथि मौलिक काव्यात्मक हस्तक्षेप गर्न यो कृति सफल देखिन्छ । कवि अज्ञात आफैँमा एक खरो वक्ता पनि हुन् । कवि सधैँ राज्यसत्ताभन्दा पर रहेर खबरदारी गरिरहनुपर्छ भन्ने मान्यतामा मात्र होइन कविता लेख्न नसकेको अवस्थामा स्वयम् त्यस्ता क्षेत्रहरूमा उपस्थित भई आफ्नो विचार प्रस्तुत गर्ने निडर व्यक्ति पनि हुन् । पाँचथरमा जन्मिई संसार घुमेर (म त हङ्कङ भएछु) आफ्नै नेपाली माटो र संस्कृतिलाई माया गर्दै इलाममा कवि कुञ्ज निर्माण गरी राजधानीभन्दा बाहिर बसेर पनि नेपाली साहित्यलाई माया गर्न सकिन्छ भन्दै हरेक वर्ष इलाममा साहित्य महोत्सव गर्ने केही सीमित सर्जकहरूमध्येका एक साहित्यिक हस्ती पनि हुन् । उनै अज्ञातका सङ्कलित कविताहरूको यस सङ्ग्रहले नेपाली काव्य जगत्का आम पाठकहरूलाई भिन्न र मौलिक स्वाद चाख्ने सुवर्ण अवसर दिएको छ । नेपाली काव्यको फरक स्वाद चाख्नका लागि अज्ञातका कविताहरू पढ्नै पर्छ, सुन्नै पर्छ । यो सुन्दर मौलिक कृतिका निम्ति कविलाई हार्दिक बधाई दिँदै उनकै यो कवितांश प्रस्तुत गर्दै बिदा हुन्छु:
धमिलो पानीको विरुद्धमा
सहयोगको सङ्लो बाढी आउनुपर्छ
तर जब बाढी आउँछ
तब धेरै कुराहरू भत्किन्छन्
तब धेरैधेरै कुराहरू भत्किन्छन्
इमान र लाजहरू पनि भत्किन्छन्
लाज र इमानहरू पनि भत्किन्छन् । (बाढी)

