काठमाडौँ । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि.सं. २०८२ सालको ‘लोकप्रिया पुरस्कार’ साहित्यकार प्रतिसरा सायमिलाई प्रदान गर्ने निर्णय गरेको छ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। पुरस्कारका लागि समालोचक प्रमोद प्रधानको संयोजकत्वमा गठित सिफारिस समितिले साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको समितिमार्फत सायमिको नाम सिफारिस गरेको थियो।
साहित्यकार प्रतिसरा सायमिका ‘जि छकू नालिस भोँ’ (नेपालभाषा कवितासंग्रह), ‘तिकिनंगु मि’, ‘प्रेशरकूकरया चिल्लाय्’ (नेपालभाषा कवितासंग्रह), ‘सिमाह: व मेमेगु बाखं’ (अङ्ग्रेजीबाट नेपालभाषामा अनूदित कथासंग्रह), ‘पाइलाहरुमै सडक’ (नेपालभाषाबाट नेपाली भाषामा अनुवाद), ‘लिफ:’ (नेपालभाषा प्रवन्धसंग्रह), ‘रंग दुने प्रतिसरा’ (नेपालभाषाका कवितामा आधारित चित्रहरूको संगालो), ‘नेवा: खँग्व:या पिला’ (सहलेखन), ‘गुरुवर कवि पूर्ण वैद्यज्यूको साहित्यिक भीमरथारोहणको सम्झना संगालो’ (सहलेखन), ‘लुमन्तिया खुसिबालय् बाबा विभूषण’ (नेपालभाषाका कथाहरूको नेपाली अनुवाद), ‘Towards the Horizon’ (नेपालभाषाका कविताहरूको अङ्ग्रेजी अनुवाद संग्रह) लगायत कृतिहरू प्रकाशित छन्। साथै ‘लुमन्ति’ (सम्पादन), ‘पूर्ण वैद्यया साहित्यिक रचना’ (सहसम्पादन) तथा ‘उनैको यादमा’, ‘तिकि–नुग:या लसय्’, ‘तिकि तिकि’ र ‘स्वतिकि’ जस्ता गीति एल्बमहरू पनि प्रकाशित छन्।
वि.सं. २०४४ सालमा साहित्यकार शशी रिमालले महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी साहित्यकार लोकप्रियाको नाममा उक्त पुरस्कार स्थापना गर्नुभएको हो। ‘लोकप्रिया पुरस्कार’बाट यसअघि गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास, मोतीलक्ष्मी उपासिका, डा. वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनीता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी, पीताम्बरा शर्मा ‘पीयूष’, लक्ष्मीदेवी राजभण्डारी, डा. गार्गी शर्मा, प्रा.डा. उषा ठाकुर, सुशीला भण्डारी, रन्जुश्री पराजुली, उन्नती बोहरा ‘शीला’, गोमा शर्मा (गुवाहाटी), रुकु कार्की, बेटी बज्राचार्य, जलेश्वरी श्रेष्ठ, पूनम काफ्ले, गङ्गा कसजु, डा. ज्ञानु पाण्डे, सुशीला देउजा, गीता क्षेत्री, वीणा हाङ्खिम, डा. पुष्पा शर्मा, लतिका जोशी र सुर्जना शर्मालगायत स्रष्टाहरू सम्मानित भइसक्नुभएकाे छ।

