साहित्यपोस्ट डट कम

‘प्रतीक ढकाल नियात्रा सौरभ’ पुरस्कार मञ्जुललाई प्रदान गरिने

‘प्रतीक ढकाल नियात्रा सौरभ’ पुरस्कार मञ्जुललाई प्रदान गरिने

काठमाडौं । जयन्ता–पवित्रा ढकाल स्मृति कोषले २०८३ सालको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ पुरस्कार नेपाली नियात्रासाहित्यका समर्पित स्रष्टा ‘मञ्जुल’लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार हरेक वर्षझैँ जेठ १३ गते प्रदान गरिनेछ ।

रु. ५१ हजार नगद राशिसहित प्रदान गरिने यस पुरस्कारको आठौँ संस्करणअन्तर्गत मञ्जुललाई सम्मान गर्ने निर्णय गरिएको कोषद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

वि.सं. २०७५ सालमा स्थापना भएको यस कोषले २०७६ देखि निरन्तर रूपमा नियात्रा विधाका विशिष्ट स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ । यसअघि तारानाथ शर्मा, सत्यमोहन जोशी, देवीचन्द्र श्रेष्ठ, भुवनहरि सिग्देल, गीता खत्री, घनश्याम राजकर्णिकार र सलोन कार्थक लगायत स्रष्टाहरू सम्मानित भइसकेका छन् ।

कोषले प्रत्येक वर्ष सम्मानित स्रष्टाको घरमै पुगेर अभिनन्दन गर्ने परम्परा कायम राख्दै आएको छ । हाल पुरस्कार व्यवस्थापन पर्वतीय साहित्य समाज नेपालले गर्दै आएको र कोषको नामसमेत औपचारिक रूपमा “जयन्ता–पवित्रा ढकाल स्मृति कोष”कै नाममा सञ्चालन गर्ने निर्णय गरिएको छ ।

पुरस्कारका लागि चयन गरिएका स्रष्टा ‘मञ्जुल’ले नेपाली नियात्रा साहित्यको विकासमा उल्लेखनीय योगदान पुर्‍याउनुभएकाे छ । उहाँका ‘सम्झनाका पाइलाहरू’, ‘जाने होइन दाइ आलापोट’, ‘यात्रा स्कटल्याण्डको’ र ‘कहिले आकाशमा कहिले धर्तीमा’ जस्ता कृतिहरू चर्चित मानिन्छन् । साथै, उहाँका कृतिमाथि विभिन्न शोधकार्यसमेत सम्पन्न भइसकेका छन् ।

कोषका सदस्य–सचिव भवानी खतिवडा र स्रष्टा छनौट उपसमितिका संयोजक महेश पौड्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त निर्णयबारे जानकारी गराइएको हो ।

ट्याग: मञ्जुल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.