ललितपुर । विश्व नेपाली साहित्य महासङ्घ ललितपुर जिल्ला शाखाको आयोजनामा प्रणय सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ। महासङ्घ ललितपुर जिल्ला शाखाकी सभापति नीता श्रेष्ठ ‘नित्यनूर’को अध्यक्षता तथा प्रमुख अतिथि प्रा. रामकुमार पाँडेयको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा किशोर पहाडी, महासङ्घकी केन्द्रीय महासचिव देवीका मङ्ग्रान्ती राई, केन्द्रीय संगठन सचिव कल्पना पौडेल ‘जिज्ञासु’ तथा महासङ्घ नेपाल शाखाका अध्यक्ष मणिराज सिंहको उपस्थिति रहेको थियो।
उक्त अवसरमा महासङ्घकी विश्व केन्द्रीय समितिकी महासचिव तथा दार्जिलिङ–खर्स्याङकी देवीका मङ्ग्रान्ती राईले महासङ्घले हाल २४ भन्दा बढी देशमा ५४ भन्दा बढी शाखामार्फत नेपाली साहित्यको सेवा गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व केन्द्रीय समितिले नियमित रूपमा प्रत्येक महिनाको पहिलो साता “बिम्ब र विमर्श” तथा प्रत्येक महिनाको १५ तारिखतिर विभिन्न शाखासँग सहकार्य गरी “सृजना वाचन” कार्यक्रम आयोजना गर्दै आएको छ।
कार्यक्रममा तोयानाथ सुवेदी, डा. देवी पन्थी, कल्पना मरासिनी, ऋषिराम सापकोटा, सुधा बास्कोटा ढकाल, श्याम श्रेष्ठ तथा द्वारिका कुइकेललगायत स्रष्टाहरूले प्रणय विषयमा कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभएकाे थियाे ।
महासङ्घकी महासचिव गीत खनालले सञ्चालन गरेको उक्त कार्यक्रम प्रेमभावनामा आधारित सिर्जनात्मक प्रस्तुति र साहित्यिक अन्तरक्रियाका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।

