पोखरा । प्रगतिशील लेखक सङ्घ (प्रलेस) गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरामा गण्डकी प्रदेशस्तरीय प्रगतिशील कविगोष्ठी सम्पन्न भएको छ ।
प्रलेस गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा सम्पन्न कविगोष्ठीमा गण्डकी प्रदेशका आठ जिल्लाका आठ जना कविहरूले आफ्ना प्रगतिशील कविता वाचन गर्नुभएकाे थियाे । कविगोष्ठीमा लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी, बागलुङका लाल ऋतम्भरा, पर्वतका राजकुमार निरञ्जन र कास्कीकी गीता तिवारीले कविता प्रस्तुत गर्नुभएकाे हाे ।
वाचित कवितामाथि समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य सशक्त बन्दै गएको टिप्पणी गर्नुभयो । उहाँले प्रस्तुत कविताहरूले नेपाली समाजको यथार्थ चित्रण गर्नुका साथै वर्तमान परिवर्तनप्रतिको आकाङ्क्षालाई पनि प्रभावकारी रूपमा मुखरित गरेको बताउनुभयो । साथै प्रगतिशील कविताको स्कुलिङलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा प्रलेस गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविता मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रगतिशील कविताले यथास्थितिका विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने उल्लेख गर्दै गण्डकी प्रदेशका नवपुस्ताका कविहरूको स्वर आशालाग्दो रहेको बताउनुभयो ।
प्रलेसका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । लेखन गर्दा ‘के, किन र कसका लागि लेख्दै छु’ भन्ने प्रश्नप्रति सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका प्रगतिशील कविता एकै थलोमा सुन्न पाउँदा खुसी लागेको अनुभव साझा गर्नुभयो । उपाध्यक्ष निर्मल सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गर्नुभएको थियो ।

