साहित्यपोस्ट डट कम

प्रकाश भट्टराईको गीतसङ्ग्रह ‘गुनासो’ लोकार्पण

प्रकाश भट्टराईको गीतसङ्ग्रह ‘गुनासो’ लोकार्पण

मोरङ । बेलबारीका स्रष्टा प्रकाश भट्टराईको गीतसङ्ग्रह ‘गुनासो’ को लोकार्पण गरिएको छ। कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारीमा शनिबार आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो।

कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे । कार्यक्रममा साहित्यकार हर्कमान तामाङ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, आम्लाबुङ साहित्य समाजका अध्यक्ष धनजित पराजुली, रङ्गेली साहित्य–कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेलगायत विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा साहित्यसँगै सामाजिक क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो।

प्रमुख अतिथि प्राज्ञ सुवेदीले साहित्यको कोमल विधाका रूपमा चिनिने गीतलाई आफ्नो लेखन क्षेत्र बनाउनुभएकाेमा कृतिकारलाई बधाइ दिँदै गीतले सबैको मन छुने क्षमता राख्ने धारणा व्यक्त गर्नुभयाे । चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्षसमेत रहनुभएकाे सुवेदीले गीतमार्फत संवेदनशील भाव सम्प्रेषण सम्भव हुने बताउनुभयाे ।

साहित्यकार हर्कमान तामाङले कृतिकारको गुरु बन्न पाएकोमा गर्वबोध व्यक्त गर्नुभयाे । सभाध्यक्षको मन्तव्य राख्दै कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले संस्था नयाँ तथा केही फरक कार्यक्रमसहित अघि बढिरहेको जानकारी दिनुभयाे ।

लोकार्पित कृतिमाथि प्रा.डा. भीम खतिवडा र कृष्ण उदाशीले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएकाे थियाे । समीक्षा प्रस्तुत गर्दै युवा कवि तथा गीतकार उदाशीले ‘गुनासो’ मार्फत प्रकाश भट्टराईले गीत विधामा नयाँ मानकको सुरुआत गरेको बताउनुभयाे । नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहनुभएकाे प्रा.डा. खतिवडाले ‘गुनासो’ले विविध पक्षलाई समेटेको उल्लेख गर्दै एउटा कृति प्रकाशित हुन चार दशक लाग्नुले आफैँमा गुनासोको विषय भएको टिप्पणी गर्नुभयाे ।

कार्यक्रममा लोकार्पित कृतिभित्र समेटिएका गीतहरू चण्डी साङपाङ, सुरेश साङपाङ, यमुना पराजुली र चिरञ्जीवी काफ्लेले प्रस्तुत गर्नुभएकाे थियाे ।

संस्थाका उपाध्यक्ष विष्णु भण्डारी आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने सचिव नवराज पोखरेल ‘नवशिला’ले गर्नुभएकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.